एउटा सचेत गाउँ जसलाई छाउपडीले छुँदैन



उनी हाँस्दै भन्छिन्– ‘आजभोलि त महिनावारी कहिले होला र मीठा खानेकुरा खान पाइएलाजस्तो पो हुन्छ ।’

बीरबहादुर बम, मुगु
दुर्गम भन्दैमा मुलुकका सबै गाउँमा नराम्रै चलन हुन्छ भन्ने छैन । त्यसको उदाहरण हो– मुगुको एउटा गाउँ । छाउपडीमा ११ दिन र अन्य पटकमा ५ दिन छुई भएको बखत घरबाट परसरी छाउगोठमा बस्ने चलनको अन्त्य मुगुको शोभा गाउँबाट भएको छ ।

हाम्रो देशमा परापूर्व कालदेखि नै तथाकथित धर्मका नाममा महिलाहरूले सुत्केरी र महिनावारी हुँदा घरबाहिर असुरक्षित र कष्टकर बसाइँ गर्ने चलन छ । जातजातिका नाममा मान्छेले मान्छेलाई छँुदा पानी नखाने वा अन्य खाद्यान्न नखाने पनि चलन रहेको छ । छुइँ हालेमा सुनपानी छर्किने चलन
पनि छ ।

तर यही समाजमा यस्तो गाउँ पनि छ जहाँ यी कुनै कुरा गरिँदैन । महिलाहरू महिनावारी भए पनि घरभित्र बस्छन् । पूजाआजा गर्छन् । सुत्केरी हुँदा पोषिलो खानेकुरा खान पाउँछन् । घरभित्र बस्छन् । कथित दलित वा तल्लो जातको भनेर कहिल्यै भेदभाव गरिँदैन र सँगै बसेर खाना खाइन्छ ।

मुगु जिल्ला सदरमुकाम गमगढीबाट ८ कोष टाढा रहेको रोवा गाविस वडा नं– ७ मा पर्ने शोभागाउँ जिल्लाकै नमूना गाउँका रूपमा परिचित हुँदै आएको छ । १ सय २६ घरधुरी रहेको तथा हिन्दू धर्मावलम्बी रहेको यो गाउँ सम्भवतः जिल्ला कै बढी घरधुरी भएको वडा पनि हो । यहाँ माथि उल्लेखित कुनै कुचलन तथा रीतिरिवाज मानिँदैन ।

गाउँका ७० वर्षीय धर्मदत्त बुढा जो शोभा गाँउका प्रख्यात देवता गुराका धामी हुन् उनी समाजमा रहेका कुपरम्परा, संस्कृति तथा चलन उन्मूलनका लागि अगुवाइ गरिरहेका छन् । माओवादी द्वन्द्वकालमा दबाबमा माओवादीले महिनावारी र सुत्केरी भएका महिलाहरूलाई घरभित्र बस्न लगाए, खाना पकाउन र खुवाउन लगाए । शान्तिपछि दबाबमा भएका यी कुरा वास्तवमा हाम्रा लागि तथा हाम्री चेलीबेटीका लागि उपयोगी रहे त्यो समयमा देवता रिसाएनन् । त्यसैले आफूहरूलाई त्यो दासत्व प्रथाबाट गाउँलाई माथि उठाउन आफू अग्रसर भएको र अहिले पूरै गाउँमा कुनै यस्ता प्रथा तथा चलन नरहेको उहाँ बताउनुहुन्छ । देवीदेवताले गाउँमा राम्रै गरेका छन् । मलाई त सरसफाइ गरेमा देउता झन् खुसी हँुदारहेछन् जस्तो लाग्छ । अहिले गाउँका चेलीबेटीहरू महिनावारी र सुत्केरी हँुदा सरसफाइमा बढी ध्यान दिन्छन् उहाँ भन्नुहुन्छ ।

गाउँमै रहेको निम्न माध्यमिक तहको विद्यालयका शिक्षक भैरवबहादुर बुढा भन्छन्– ‘महिनावारी र सुत्केरी बार्ने मात्र होइन गाउँमा जातीय विभेद हुँदैन । झै–झगडा हुँदैन । यदि भइहाले पनि मर्दा मलामी र जिउँदामा जन्ती यिनै गाउँले हुने भएकाले अड्डा अदालती प्रक्रियामा नगइ गाउँमै दुवै पक्षलाई मिलाइन्छ।’
थप्छन्– ‘जिल्लाका अन्य गाउँवस्तीमा तल्लो जातका भनेर घरभित्र पस्न नदिने, छोएको नखाने र छोएमा सुनपानी शरीरमा छर्केर मात्र घरभित्र पस्ने कुचलन भए पनि आफ्नो गाउँमा यो कुनै नहुने बरु घरभित्र मित्रजन सम्झेर सँगै बसी खाना खाने गरेका छौं।’

स्थानीय अगुवा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलसिंह सावत आफ्ना ४ छोरी भए पनि घरमा कहिल्यै महिनावारी बार्ने नगरेको बताउँछन् । पहिला–पहिला गाउँमा सजिलै लत्ता कपडा पाइँदैनथे । महिलाहरूलाई सुत्केरी र महिनावारी हँुदा फेर्नेसम्म कपडा नहुँदा लाजले घरबाहिर ७ देखि २१ दिनसम्म बस्थे । फेरि त्योबेला घर पसे वा खाना पकाए देउता रिसाउने अनि अनिष्ठ हुने तथा बोटबिरुवा छोए फल तथा बिरुवा सुक्छ भनेर महिलालाई भनिथ्यो ।

महिलाहरू डरले यी क्रियाकलापहरू गर्दैनथे । बरु दुःखकष्ट सहेर गोठ र ओढारमा बस्थे । तर, अहिले सबैमा चेतना आएको छ । सरसफाइ गरेमा केही हुँदैन भन्ने सबैले बुझेका छन् । गाउँ–घरमा पनि सजिलै कपडा पाइन्छ । चेलीबेटीहरू महिनावारी भएको पत्तो नै हुँदैन । कपडा फेरेर सरसफाइ गर्छन् । गोठ र ओढारमा होइन भान्सा तथा सुरक्षित कोठामा बस्छन्, उनी भन्छन् ।

स्थानीय साउनी बुढा मानिसको शरीरबाट आउने रगत सबै एउटै भए पनि ती महिला सुत्केरी र महिनावारी भएको बेलाबाहेक शरीरको कुनै अंग काटिएमा तथा चोटपटक लागेर रगत आएमा धामीझाँक्री र डाक्टरलाई देखाउँदा छुँदा केही नहुने तर महिनावारी र सुत्केरी हुँदा अछुत हुने यो सबै गाउँका धामीझाँक्री र गाउँलेले बुझेका छन् । त्यसैले आफूहरूले गाउँमा पहिलाजस्तो सुत्केरी र महिनावारी हुँदा बार्नुपरेको छैन । बरु आजभोलि घरमा यो बेला दूध, दही, मासु सागपातजस्ता पोषिला खानेकुरा पाउने गरेको बताउँछिन् । उनी हाँस्दै भन्छिन्– ‘आजभोलि त महिनावारी कहिले होला र मीठा खानेकुरा खान पाइएलाजस्तो पो हुन्छ ।’

सबै घरघरमा शौचालय छन् । बालबालिकाहरू विद्यालय जान्छन् । विद्यालयबाहिर कोही बालबालिका छैनन् । जिल्लाभरिका २४ गाविसहरूमध्ये जनजाति बसोबास रहेका ५ गाविस माग्री, पुलु, किम्री, डोल्फु र मुगुमा छाउपडी प्रथा र छुवाछुत प्रथा नभए पनि बाँकी १९ गाविसमा भने छुवाछुत तथा छाउपपडी प्रथा व्याप्त रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्