तीब्बतको सिमा क्षेत्र काँडामा रहेको प्रहरी चौकीमा आगजनी



सिमाबाट चौकी र सरकारी निकायका कार्यालय हटाउने तयारी

(ललित सिहं)/ बझाङ, ५ माघ ।
तीब्बतको सिमा क्षेत्र नजिकै रहेको काँडा गाउँ विकास समितिस्थित सिमा प्रहरी चौकीमा स्थानीयले आगजनीको गरेपछि स्थितीलाई नियन्त्रणमा लिन जिल्लाबाट गएको प्रहरी टोली कांडा गाविसमा प्रवेश गर्न सकिरहेको छैन ।

गाविस प्रवेश गर्ने बाटोमा स्थानीयले गौडा ढुकेर ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरी टोली कांडा  गाविसमा प्रबेश गर्न नसकेको हो ।

‘रातभर आगोबालेर स्थानियहरु गौडा कुरेर बसेका छन’ प्रहरी नायव उपरिक्ष नरेन्द्र चन्दले भने ‘प्रहरी अगाडी बढ्न खोजे माथीबाट ढुङ्गा प्रहार गर्छन । प्रहरी अघि वढन सकेको छैन’ आईतबार सदरमुकामबाट कांडाकालागी हिडेको प्रहरी टोली कांडा र मेलविसौनाको सिमाना जाइलेक भन्ने ठाउँमा बसिरहेको चन्दले बताए । कांडा प्रहरी चौकीमा स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरी निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा २१ जनाको टोली त्यसतर्फ गएको थियो ।

उता कांडाका स्थानियले छुट्टै गाउीपालीको माग गर्दै सिमा प्रहरी चौकी धुलीमा घेराउ गरिरहेका छन । आक्रोसित स्थानियहरुले प्रहरी चौकीमा आगजनीको  गर्नका साथै चौकीको सोलार पनि फुटालीदिएको स्थानियले बताएका छन । बुधबार मात्र स्थानिय र प्रहरी विच झडप हुँदा दुई प्रहरी र एक स्थानिय घाइते भएको खबर प्राप्त भएको छ । घाइते भएका स्थानिय बासिन्दा धौल्या बोहरा रहेको स्थानियले बताए पनि प्रहरीले यसको पुष्टी गरेको छैन ।

कांडाका स्थानियले खाद्यान्न लगायत उपभोग्य सामाग्रीहरुको आपुर्ती समेत बन्द गरे पछि सिमा प्रहरी चौकीमा रहेका ११ जना प्रहरी संकटमा रहेको बताइएको छ । आक्रोसित कांडाबासीहरुले चौकी छोड्न दवाब दिदै ढुङ्गामुडा गर्न थाले पछि उनिहरु खतरामा रहेको बताइएको छ ।

थप प्रहरी बललाई पनि प्रवेश गर्न नदिए पछि कांडामा रहेका प्रहरीहरु सुरक्षा खतरामा रहेको र अन्तिम विकल्पका रुपमा सिमा चौकी नै हटाउने मनस्थितीमा स्थानिय प्रशाशन रहेको बुझिएको छ ।

‘कांडाबासीलाई प्रहरीको सुरक्षा आवश्यक छैन भने हामी चौकी नै हटाइदिन्छौ’ प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने ‘अनावश्यक बल प्रयोग गरेर दुर्घटना निम्त्याउनु भन्दा केही समयका लागी चौकी नै हटाउदा राम्रो हुन्छ की भन्ने निष्र्कषमा हामी पुगेका छौ’

जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर चौकीमा भएको सुरक्षा खतरा बारे गृह मन्त्रालयलाई जानकारी गराई सकेको र चौकीमा भएका मालसामानहरु पोका पारेर प्रहरीहरु फिर्ता हुने तयारीमा रहेको प्रजिअ खनालले जानकारी दिएका छन । चौकीमा रहेको मालसामान ओसार्न पनि स्थानियको सहयोग चाहिने भएकोले कांडामा रहेका प्रहरीहरुले यसको लागी समन्वय गरिरहेको उनले बताए ।

सिमा प्रहरी चौकी हटे पनि आफुहरुको आन्दोलन जारी रहने कांडा गांउपालीका संर्घष समितिका संयोजक मानवहादुर बोहराले बताएका छन । आयोग, प्रधानमन्त्री र मुख्य दलका नेताहरुले छुट्टै गांउपालिका दिने आश्वासन दिएर आफूहरुलाई झुक्याएको कांडाबासीको आरोप छ । उनिहरुको आन्दोलनका कारण गाविसको परिषद समेत हुन सकिरहेको छैन ।

छिमेकी राष्ट चिनको सिमा क्षेत्रमा जोडिएको काडा गाबिस सुरक्षाको हिसाबले एक दमै खतरामा प्दै गएको छ । यसै आन्दोलनको मौका पारी नेपाल बाट बिभिन्न बहुमुल्य जडिबुटी र बाघका छालाहरु समेत निकासी भैरहेको स्थानीय राम बहादुर बोहराले बताए । उनले भने स्थानीय जनता र सरकारी निकाय प्रति गाउपालिकाको बिषयमा आन्दोलन भैरहेको छ । यसैबेला रातारात कसैलाई जानकारी नहुने गरी गैर अबैध सामान निकासी भैरहेको स्थानीय राजेन्द्र धार्मीले स्थानीय जिल्ला प्रशाशनमा गुनासो गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्