कनिकाको राजस्व तिरेर चामल ल्याइयो



कुमार श्रेष्ठ, बाँके

कनिकाको भन्सार गरेर चामल ल्याउने गरेको पाइएको छ। मंगलबार बिहान बाँकेको चौलिक्कामा युपी २२ सी ९८०४ नम्बरको ट्रक पल्टिएपछि यस्तो खुलासा भएको हो। बीचमा चामल राखेर आएको उक्त ट्रकले नेपालगञ्ज भन्सारमा कनिकाको राजश्व तिरेको थियो।

ट्रकमा कनिका चार सय र चामल चार सय बोरा रहेको थियो। व्यवसायीले भने आठ सय बोरा कनिकाको भन्सार तिरेका थिए। कनिकाको भन्सार गरेर चामल ल्याएको ट्रक पल्टिएपछि सत्यतथ्य बाहिर आएको छ। भन्सार कार्यालयदेखि करिब दुई सय मिटर यता आइसकेको ट्रक पल्टिएपछि सबै रहस्य बाहिर आएको हो। नेपालगञ्जको अंशु ट्रेडिङले कनिकाको नाममा चामल ल्याएको थियो। आठ सय बोरा ‘कनिकामात्रै’ भनेर ६० हजार नौ सय १० रूपैया राजश्व तिरेर चामल ल्याइएको थियो। ट्रक पल्टिएपछि चालक फरार भएका छन् भने मालिक अशोक बानिया सम्पर्कमा आएका छैनन्।

ट्रक पल्टिएपछि चामल छरपस्ट भएको छ। चामलको बोरा बलियो रहेकाले धेरै पोखिएको छैन भने कनिका छरपस्ट भएको छ। ट्रकलाई क्रेन लगेर उठाइएको छ। प्रहरीले मुचुल्का बनाएर भन्सारमा बुझाएपछि मात्रै कसको, कति चामल, कति कनिका, कति भन्सार तिरेको भन्ने खुल्ने भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले बताउनुभयो। ‘मैले कनिकाको भन्सार गरेर चामल लगेको भन्ने सुनेको छु। प्रहरीले मुचुल्का ल्याएपछि सबै थाहा होला, भन्सार प्रमुख आचार्यले भन्नुभयो, यदि यस्तो गरिएको रहेछ भने दोषीलाई कारबाही हुन्छ।’
भन्सार प्रमुख आचार्यका अनुसार, चामलमा ८ प्रतिशत भन्सार लाग्छ। कनिकामा भ्याट लाग्दैन। चामललाई ३१ र कनिकालाई १५ रूपैया मूल्य कायम गरिएको छ। व्यवसायीले थोरै सामानको भन्सार गरेर धेरै ल्याउँछन् भन्ने कार्यक्रमहरूमा आवाज उठ्ने गर्दथ्यो। आठ सय बोराको भन्सार गर्ने र त्यसमा चार सय बोरा अरू नै हुने खेल पनि नौलो नभएको भुक्तभोगीहरू बताउँछन्। ‘कनिका पल्टिएपछि चामल भएछ, भन्सार रमितासँग परिचित एक भुक्तभोगी व्यंग्य गर्छन्, भन्सार भएर आउने सबै गाडी राम्ररी जाँच गर्ने हो भने यस्तो खेलो सबैमा भेटिन्छ।’ एजेन्टले तयार पारेको कागजमा हचुवाका भरमा भन्सार काटेर गाडी पास गर्ने कर्मचारीहरूको पनि यसमा मिलोमतो हुन सक्ने आकलन गरिएको छ। कनिका भनेर पास गर्ने ट्रकलाई एजेन्ट उत्तमकुमार श्रेष्ठ र भन्सार नासु तेजनारायण न्यौपानेले राजश्व काटेका थिए।

सय रूपैयाँ भन्दा बढीको सामानमा भन्सार गराउने नीति अनुरूप कडाई गरेर एक बोरा चामल ल्याउदा भन्सार काट्न लगाउने गरेका भन्सार कर्मचारीले ठूला माछालाई उम्किन दिने गरेको यस घटनाले देखाएको छ। नेपालगञ्जमा ठूला व्यापारीले यसरी भित्र्याउने मात्रै होइन, क्यारियरमार्फत या छोटी नाकाहरूबाट चामल, चिनी, दाल ल्याएर यही उत्पादितजस्तो देखाएर अन्यत्र जिल्लामा पठाउने गरेको पाइन्छ। राजश्व कार्यालय र प्रहरीले पछिल्लो महिनामै ठूल्ठूलो परिमाणमा यस्ता सामान गोदामबाटै बरामद गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्