ट्रम्पको शपथ ग्रहण बहिष्कारको लहर



वासिङ्टन, (एजेन्सी)
आगामी शुक्रबार सम्पन्न हुने ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथ ग्रहण कार्यक्रम अमेरिकी कांग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन्।अमेरिकामा दुई सदनात्मक व्यवस्थापिका अर्थात् राष्ट्रिय कांग्रेसको तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट)मा कुल सदस्य संख्या ५ सय ३५ रहेको छ। केही दिनअगाडी मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्रइटिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको कडा आलोचना गर्दै सिंगो डेमोक्रइटिक पार्टीलाई समेत तथानाम गाली गरेका थिए।

ट्रम्पको उक्त विवादास्पद टिप्पणीको कडा प्रतिवाद स्वरूप २६ जना डेमोक्रइट कांग्रेस सदस्यले उक्त औपचारिक शपथ ग्रहण समारोह बहिष्कार गर्ने बताएका छन्। यसैबीच, नवनिर्वाचित डोनाल्ड ट्रम्पले बेलायती र जर्मनी पत्रिकाका लागि दिएको एक अन्तर्वार्तामा युरोपेली संघ त्याग गर्ने बेलायतको निर्णयको प्रशंसा गरेका छन्। उनले अन्य देशले पनि त्यसै गरी बिस्तारै युरोपेली संघ त्याग गर्दै जाने विश्वास व्यक्त गरे। ट्रम्पले जर्मन चान्सलर एन्जेला मर्केलको ठूलो संख्याका शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने नीतिको तीव्र आलोचना गरेका थिए। उनले ठूलो परिमाणमा आप्रवासीलाई स्विकार्ने निर्णय मर्केलको सबैभन्दा ठूलो गल्ती भएको बताएका थिए। मर्केलले मध्यपूर्व तथा अफ्रिकाबाट आएका करिब १० लाख आप्रवासीलाई शरणार्थीको दर्जा दिएर बस्न अनुमति दिएकी थिइन्।

ट्रम्पका ती अभिव्यक्तिलाई बर्लिन र पेरिसले अस्वीकार गरेका छन्। चान्सलर मर्केलले तत्कालै प्रतिक्रिया व्यक्त गर्दैै युरोपेलीहरूको भाग्य उनीहरूको आफ्नै हातमा रहेको बताइन्। उनले युरोपेली बलियो एकता नै ट्रम्पलाई गतिलो जबाफ हुने पनि बताइन्। यस अतिरिक्त, ट्रम्पले व्यक्त गरेका ब्रेक्सिटको प्रतिक्रिया स्वरूप चान्सलर मर्केल र र फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ होलान्डले युरोप आफ्नो मूल्य तथा मान्यताबाट निर्देशित हुने भन्दै आफ्नो मार्ग तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्