स्वास्थ्य निन्द्राका लागि कफीबाट टाढिने



लन्डन, (एजेन्सी)
स्वास्थ्य सम्बन्धमा गरिएको एक अध्ययनपछि अनुसन्धानकर्ताहरूले ५० वर्ष उमेर नाघेका व्यक्तिहरूलाई राति मस्त निद्रा निदाउने भए लन्च लिएपछि क्याफेनयुक्त कफीको सेवन नगर्न सल्लाह दिएका छन्।

च्यारिटि एज युकेका लागि तयार पारिएको उक्त प्रतिवेदनमा उमेर ढल्केपछि गहिरो निद्रा आउन गार्हो हुने तर मानसिक रूपमा तिक्ष्ण रहन प्रशस्त आरामको जरुरत हुने जनाइएको छ।

सो प्रतिवेदनमा वृद्ध व्यक्तिहरूलाई राति कम्तिमा सातदेखि आठ घण्टा मस्त निदाउन सल्लाह दिइनुका साथै त्यसका उपायहरू पनि उल्लेख गरिएको छ। चिया कफीबाट टाढा रहनुका साथै वृढ व्यक्तिहरूलाई दिउँसो आधा घन्टाभन्दा कम समय निदाउन र हरेक बिहान एउटै समयमा ब्युँझिन पनि सल्लाह दिइएको छ।

यसका साथै तिनीहरूलाई दिउँसो प्राकृतिक घामको संसर्गमा रहन, निदाउनका लागि रक्सी बियरको सहारा नलिन, सुत्नुभन्दा करिब तीन घन्टाअघि नै रातको खाना खान, शयनकक्षमा टेलिभिजन नहेर्न र पलंगमा बसेर ट्याब्लेट, फोन वा ल्यापटपजस्ता विद्युतीय उपकरण प्रयोग नर्गन, जवर्जस्ती निदाउने उपायमा बढी ध्यान केन्द्रित नगर्न, शयनकक्षमा पाल्तु जनावर नराख्न, खुट्टा न्यानो राख्न मोजा लगाउन र निदाउन अघि आफ्नी पतिपत्नी वा पार्टनरसग किचकिच नगर्न पनि सल्लाह दिइएको छ।

एज युके र अवकाश प्राप्त अमेरिकीहरूको सहयोगमा एकत्रित विशेषज्ञहरूको आयोग ‘ग्लोबल काउन्सिल अन ब्रेन हेल्थ’ ले यो प्रतिवेदन तयार पारेको हो।
उमेर ढल्किंदै जाँदा हाम्रो निद्राको स्वरूपमा परिवर्तन आउँछन्। त्यसैले हामीमा राति अचानक बिउँझने र बिहान पनि चाँडै निद्रा खुल्ने समस्या आउन सक्छ। लामो समयसम्म निद्रामा गडबडि भयो भने मुटुको रोग, मोटोपना र मधुमेहजस्ता समस्याहरू आउन सक्छन्।

प्रतिक्रिया दिनुहोस्