झन् रहस्यमय बन्दै सुनकाण्ड



अझै किन समातिएनन् मालिक ?

ईश्वरराज ढकाल, काठमाडौं
मानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला? यो सबैको जिज्ञाशाको विषय बनिरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता पुग्न लाग्यो। तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन। सीआईबीले आफूहरू अनुसन्धानमा रहेको बताइरहेको छ। तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैन।

उच्च स्रोतका अनुसार सुनका मालिक पक्राउ गर्दा ठूला मान्छे तानिने डरले अनुसन्धानको विवरण सावर्जनिक गरिएको छैन। सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उहाँले सधैं एउटै जवाफ दिने गर्नुभएको छ– ‘हामीले अनुसन्धान जारी राखेका छौं।’

सीआईबीले संगठित अपराध ऐनअन्तर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिन हुन्छ। त्यो बेलासम्म कुनै न कुनै रिपोर्ट आउँछ नै होला। ‘अनुसन्धानबाट ठूला मान्छे तानिने डरले तत्काल अनुसन्धान नभएको हुनसक्छ।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। सुनधनीसँग सेटिङ मिलाउन सहयोग गर्ने आरोप लागेका काभे्रका रामहरि कार्कीलाई मंगलबार पक्राउ गरेको थियो। उनकै बयानका आधारमा गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सारका अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो।
दुबईबाट नेपालमा सुन ल्याउने गोपाल शाही र अन्य दुई जनाको बयानका आधारमा विमानस्थल भन्सारका दुई कर्मचारीलाई पक्राउ गरिएको थियो। सोमबार प्रहरी प्रधान कार्यालयले विमानस्थल सुरक्षागार्डमा कार्यरत एसएसपी श्याम खत्रीलाई हेडक्वार्टर तानेको छ।

सोही घटनाको छानविन गर्न भन्सार विभागले ३ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ भने ३७ जना कर्मचारीलाई फिर्ता बोलाएर भन्सार विभागमा हाजिर गराएको छ। यतिका कर्मचारीलाई कारबाही गरिसक्दा पनि छानविन गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव नारायणप्रसाद सापकोटालाई किन फिर्ता बोलाइएन? यो प्रश्नको उत्तर कसैले दिन सकेको छैन।

‘साना कर्माचारीलाई फिर्ता बोलाउने अनि ठूलालाई त्यतिकै छाड्ने यो कहाँको नियम हो?’ –भन्सार विभागका एक कर्मचारीले भने। तर विभागका महानिर्देशक शिशिर ढुंगानाले भने छानविनका क्रममा दोषी देखिएका कर्मचारीलाई मात्र फिर्ता बोलाइएको दाबी गर्नुभयो। उहाँले सबै घटनाको विषयमा अनुसन्धान भइरहेको छ, कसलाई तान्ने वा फिर्ता बोलाउने भन्ने विषयमा अहिले नै निर्णय गर्न नमिल्ने जिकिर गर्नुभयो। उहाँले भन्नुभयो– ‘विभागले पनि कार्यदल बनाएर अनुसन्धान गरिरहेको छ, सीआईबी आफैले अनुसन्धान जारी रहेको जनाएको छ।’ यस्तो बेलामा यसलाई कारबाही गर्ने, उसलाई कारबाही नगर्ने भन्ने विषयमा प्रश्न उठाउनु गलत भएको दाबी गर्नुभयो।

‘अनुसन्धानले सबै बताउला। अहिले नै यो हो भन्नसक्ने अवस्था छैन।’ –उहाँको भनाइ थियो। सीआईबीप्रमुख डीआईजी सिलवाललाई गृहमन्त्री, अख्तियार, प्रहरी महानिरीक्षकलगायत उच्च तहबाट घटनाको दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको अवस्थामा सीआईबीले किन अन्य कर्मचारी पक्राउ गरेन भन्ने विषय गम्भीर बन्न थालेको छ।

उता विभिन्न निकायले सुन तस्करीमा अर्थमन्त्री कृष्णबहादुर महराको संलग्नता रहेको आरोप लगाउन थालेपछि हिजो मंगलबार दिउँसो अर्थमन्त्रालयका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेलद्वारा विज्ञप्ति जारी गरी सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारबाही गर्न मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीहरूलाई स्पष्ट निर्देशन दिइएको जानकारी गराइन्छ भनी उल्लेख गरिएको छ।

केही दिनअघि संसद्को अर्थ समितिको बैठकमा सुनकाण्डको विषय उठान गर्दा उहाँले आफूलाई सुन तस्करीमा जोडेर विषय उठान गरेको जानकारी गराउँदै यसको विषयमा विस्तृतमा पछि आउँछ समेत भन्नुभएको थियो। समितिको बैठकमा बोल्ने क्रममा उहाँले भन्नुभएको थियो– ‘सुन तस्करीमा ठूला माछा, साना माछा, धेरै ठूला माछा छन्। त्यो समयक्रममा आउँछ। सानासाना माछा, हामी त भुरे भारे मात्रै हौं।’ उहाँले यसो भन्नु अनि सीआईबीलगायत अनुसन्धानमा खटिएका निकायले पर्याप्त मात्रामा सुनको विषयमा अनुसन्धान नगर्नुले सुनकाण्ड शंकाको घेरामा देखिन थालेको छ।

यसअघि सीआईबीले स–साना घटना भए पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने गरेको अवस्थामा पछिल्लो समय सुन काण्डको विषयमा प्रश्न उठ्ने हो कि भनेर घटनाको विषयमा जानकारी दिन छाडेको छ।

नेपालीको एटीएमबाट लाखौं रकम निकाल्न सफल दुई भारतीयलाई पक्राउ गरेको घटनामा पत्रकार सम्मेलन गर्ने तयारी गरेको सीआईबीले पत्रकारले सुनको विषय उठान गर्लान् कि भनेर त्यो घटनासमेत बाहिर ल्याएको छैन।

स्रोतका अनुसार सुन काण्डमा मुछिएका मान्छे पक्राउ गरेर अर्थमन्त्री महराले भनेजस्तै ठूलो माछासमेत पर्ने हो कि भन्ने डरले सीआईबीले अन्यको नाम सार्वजनिक गर्न नसकेको हुनसक्ने अनुमान गरिएको छ। तर, सीआईबी प्रमुख सिलवालले भने अनुसन्धानबाट दोषी देखिएकालाई पक्राउ गरी कारबाही गरिछाड्ने बताइसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्