कारागार भित्र आध्यामिक प्रबचन



(मोतीराम तिमल्सिना)/ काभ्रे, ४ माघ ।

जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदी बन्दीहरुका लागि शंखमुलमा रहेका आश्रमका स्वामी हरिहरानन्द परमंअशं सरस्वतीको टोलीले आध्यामिक प्रवचन दिएको छ ।

जेल जीवन बिताईरहेका कैदी बन्दीहरुको मानसिकतालाई परिवर्तन गर्न आध्यामिक प्रवचन दिईएको जेलर महेशकुमार पोखरेलले जानकारी दिए । आश्रमबाट आएका स्वामी हरिहरानन्द परमंअशं सरस्वती सहितको ९ जना टोलीले कारागारमा रहेका २ सय ४९ कैदी बन्दीहरुका लागि धार्मिक प्रवचन दिएको थियो ।

‘मान्छे आफैमा खराब हुन सक्दैन, आत्माले गल्ति पनि गरेको हुँदैन,आमा चलाउन मन र बुद्धी कहिले काँहि खराव विकृत रुपमा देखा पर्छन र मान्छेबाट गल्ति हुन्छ’–स्वामी हरिहरानन्द परमंअशं सरस्वतीले प्रवचनमा भने–‘मानव जीवनमा भुल हुन सक्छ तर सुधार पनि हुन सक्नु पर्छ ।’

‘जेल भित्रको समय तप गर्ने समय हो’–उनले भने–‘जेलमा बस्दा निराशा होईन,आशा लिएर केहि नयाँ काम गर्नु पर्छ, जेलबाट समाजमा जाँदा नयाँ जीवन, योगको जीवन र आध्यामिक सहितको सकारात्मक सोचको विकास लिएर फर्कनु पर्छ ।’ यस अघि जिल्ला कारागार भित्र सांस्कृति कार्यक्रम सहितका विविध कार्यक्रहरु आयोजना हुँदै आएका थिए ।

परिवन्ध वा विभिन्न प्रकृतिबाट जेल जीवन विताईरहेका ब्यक्तिहरुका लागि निस्किएपछि असल बाटो र समाजमै समावेश हुन सहज बनाउने उदेश्यले यस्ता कार्यक्रमहरु भईरहेको जेलर पोखरेलले बताए ।

जेलमा कैदी खचाखच

जिल्ला कारागार कार्यालय धुलिखेलमा हालसम्मकै धेरै मंगलबार कैदीबन्दी भएका छन् । सोमबार साँझ चार जना बन्दिहरु थपिएपछि जेल भित्र रहनेको संख्या २ सय ४९ पुगेको छ । राणाकालिन घोडा बाँध्ने तबेलाको रुपमा निर्माण गरिएको उक्त भवनलाई पछि कारागारका रुपमा प्रयोग गर्न थालिएको थियो । ६५ जनाको क्षमता भएको उक्त कारागारमा १ सय २० जना थुनुवा, १ सय २९ कैदी गरी २ सय ४९ जना रहेका छन् ।

कर्तब्य ज्यानमा ५२ जना, डाँका मुद्दाका ९, जर्बजस्ति करणी ७३, जर्बजस्ति करणी उद्योगमा १०, लागु औषध ६, ज्यान मार्ने उद्योग १०, सवारी ज्यान १३, मानव अपहरण शरिर बन्धक ३, केहि सार्वजनिक अपराध ४, सरकारी छाप दस्तखत किर्ते ७, मानव बेचविखन ५, बहुविवाह ९, हातहतियार घर खजना ४, बन्यजन्तु ऐन ३, बन्दी भागे भगाएको २७, आगो लगाउने १, गोवध २, अप्राकृतिक बाल यौन दुराचार ३, बैकिङ्ग कसुर ३, सुन भन्सार चोरी पैठारी २, बैदेशिक रोजगार ठगी १ र रत्तचन्दन ओसार पसारमा १ जना जेलमा छन् । मानसिक विरामी २० जना समेत गरी उक्त संख्या पुगेको जेलर महेशकुमार पोखेरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्