एउटै विद्यालयका २२ जना विद्यार्थीले एसएलसीमा परीक्षा दिन नपाउने



विद्यार्थीलाई परीक्षा दिने वातावरण बनाऊः एनसिई नेपाल

काठमाडौं, ४ माघ ।
शिक्षक तथा विद्यालयको लापरबाहीका कारण एउटै विद्यालयका २२ जना विद्यार्थीहरुले आगामी चैत्र ३ गतेदेखि सञ्चालन हुने एसएलसीको ग्रेडिङ परीक्षा दिनबाट बञ्चित हुनुपरेको छ ।

तोकिएको समयमा विद्यालयले राजश्वको रकम बैंक खातामा जम्मा नगरेकाले बागलुङको ज्ञानेन्द« माध्यमिक विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन नपाउने भएको हो ।

यस्तो स्थितिले संविधानले नै सुनिश्चित गरेको वालवालिकाको शिक्षा पाउने हकलाई चुनौति दिएको शिक्षा क्षेत्रमा निरन्तर क्रियाशील विभिन्न नागरिक समाज, शिक्षक समूह, पत्रकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी समूहको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई–नेपाल)को गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

कुमार भट्टराई अध्यक्ष शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिई) नेपालका अध्यक्षद्वारा हस्ताक्षार गरिएको प्रेस वत्तव्यमा उल्लेख गरिएको छ, ‘यस्ता किसिमका विद्यालय वा शिक्षकको लापरबाहीले अवोध वालवालिकाको सुनौलो भविष्यप्रति नै प्रश्नचिन्ह खडा गर्नुका साथै उनीहरुलाई मानसिक तनावसमेत पुग्न गएकाले सम्बन्धित निकायहरुलाई यस्ता बालबालिकाहरुलाई परीक्षा दिने वातावरण प्रदान गरी निर्विघ्नतापूर्वक शिक्षा पाउने अधिकारको सुनिश्चितता गर्न एनसिई नेपाल सबै सरोकारवाला निकायहरुप्रति आब्हान गर्दछ ।’

त्यस्तै गरी, एनसिई नेपालले समय समयमा आउने यस्ता किसिमका खवरहरुले विद्यार्थीको सुनौलो भविष्य माथि नै खेलवाड भएको, विद्यालय शान्ति क्षेत्रको मर्म र भावनामा आघात परेको,  र सोको भागिदार विद्यार्थीलाई बनाउँदा राज्यले उनीहरुमाथि अन्याय गरेको ठहर गरिने भएकाले समयमै सरकारद्धारा ठोस कदम चाली आगामी दिनहरुमा यस्ता किसिमका गतिविधिहरु दोहोरिन नदिन र यसका लागि जिम्मेवार पक्षहरुलाई कडा कारवाहीको माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्