पशु बिमाः जनतालाई थाहै छैन



प्रशान्त वली, काठमाडौं
पशु बिमा गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गए पनि ग्रामीण तहका विकट ठाउँहरूमा पशु बिमाका सन्दर्भमा अधिकांश किसानलाई जानकारी नभएको पाइएको छ। घरमा पशु तथा पक्षीपालन गर्दै आए पनि पशु बिमाका बारेमा जानकारी नहुँदा सरकारले दिने सुविधाबाट अधिकांश कृषकहरू वञ्चित हुने गरेका छन्।

पछिल्लो तथ्यांकअनुसार देशभर करिब ८६ हजार ५ सय पशुको पशु बिमा गरिएको पशुपक्षी विकास मन्त्रालयले वताएको छ। जसअन्तर्गत २८ हजार ४ सय २९ पशु र ५७ हजार ९ सय ३८ पक्षीको बिमा गरिएको पशुपक्षी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मंसिर मसान्तसम्म ८६ हजार ३ सय ६७ वटा पशुको पशु बिमा गरिएको पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो। पशु बिमाका लागि यस आर्थिक वर्षमा २० करोड रुपियाँ लाग्ने बताइएको छ। यसैबीच, बिमा समितिमार्फत् बिमा कम्पनीलाई अनुदानस्वरूप ४ करोड रुपियाँ उपलब्ध गराइएको छ। बिमा कार्यक्रमका लागि थप १६ करोड लाग्ने भन्दै अर्थ मन्त्रालयसँग थप रकम माग गरिएको मन्त्रालयका प्रवक्ता पौडेलले बताउनुभयो।

यस वर्ष एक अर्ब २२ करोड ८१ लाख ३३ हजार रुपियाँ बराबरको पशु बीमा र ५ करोड ९२ लाख ११ हजार मूल्य बराबरको बीमा गरिएको मन्त्रालयले जानकारी दिएको छ।

किसानहरूलाई सुरक्षित तुल्याउन र लागतमा ह्रास आउन नदिन पशु बीमा कार्यक्रम सरकारले ल्याएको हो। किसानहरूले पशु बीमा कसरी गर्न सक्छन् भनी मन्त्रालयका प्रवक्ता पौडेललाई सोध्दा पौडेलले भन्नुहुन्छ– ‘पशु बीमाका लागि पशु र पक्षीको स्वास्थ्य जाँच प्रमाणपत्र आवश्यक पर्छ। प्राविधिकले पशु स्वस्थ हो भनी पशुपालकलाई प्रमाणपत्र दिएमा नजिकैको पशु कार्यालयको समन्वयमार्फत पशु बीमा गर्न सकिने व्यवस्था मिलाइएको छ। पशु जोखिम हुने स्थिति आएमा कुल मूल्यको ८० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने पशु मन्त्रालयले बताएको छ।

पशु बीमाका लागि कुल मूल्यको ४ प्रतिशत र पक्षी बीमाका लागि कुल मूल्यको ५ प्रतिशत रकम खर्च लाग्ने पशु मन्त्रालयले बताएको छ। सरकारले पशु बीमा कार्यक्रम प्रभावकारी बनाउन भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताए पनि किसानहरू अझै पशु बीमाका बारेमा जानकारी पाउन नसकेको बताइएको छ। बीमा कम्पनीहरूले सजिलै पशुहरूको समयमा पशु बीमा गर्न नमानेको गुनासो जिल्ला तहका पशु कार्यालयमा आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्