नेपाल समाचारपत्र
काठमाडौं
पाँच सय र हजार दरका भारु नोट साट्न छलफलका लागि भारत गएको नेपाल राष्ट्र बैंकको टोली बिना निष्कर्श शनिबार स्वदेश फर्किएको छ। नेपालको बैकिङ प्रणालीमा ३ अर्ब ३६ लाख ९० हजार र बैंकिङ प्रणालीभन्दा बाहिर १० अर्ब रुपियाँभन्दा बढी भारु रहेको तथ्यांक निकाल्दै भारु पाँच सय र हजार दरका नोट साट्न गएको राष्ट्र बैंकको टोलीसँग नोट सटही गर्ने विषयमा भारतले कुनै ठोस निर्णय नदिएपछि नेपाली टोली रित्तै फर्किएको हो।

नेपालमा रहेको प्रतिबन्धित भारु नोट साट्ने विषयमा छलफलका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधिमण्डल साथै विदेशी मुद्रा विनिमय वित्त व्यवस्थापकको टोली बुधबार भारत गएको थियो। टोलीमा भारतस्थित नेपाली राजदूताबासबाट इकोनोमिक मिनिस्टर पनि सहभागी भएका थिए। भारतले सटहीका सम्बन्धमा छलफल गर्न अघिल्लो साता बोलाएपछि नेपाली टोली भारत गएको थियो।

नेपालमा रहेको भारु नोट फिर्ता गराउन प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरले छुट्टछुट्टै पहल गरे पनि कुनै ठोस निर्णय दिएको छैन। नोट साट्न भारत गएको टोली रित्तै फर्किए पनि नोट साटही हुनेमा आशावादी रहेको राष्ट्रले जनाएको छ। राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय वित्त व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘भारु पाँच सय हजार दरका नोट साट्ने विषयमा भारत सकारात्मक रहेको छ। हामी पनि भारु साटिनेमा विश्वस्त छौं। तर, कहिले र कसरी साटिने हो भने टुंगो लागेको छैन।’

नेपाललाई मुद्रा सहटीको सुविधा दिएपछि भारतमा रहेको कालोधन नेपाल प्रवेश हुनेबाट कसरी रोकिन्छ भन्ने विषयमा भारतीय पक्षलाई बढी चासो रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो–‘कहिले र कसरी नोट सटही हुने भन्ने विषयमा समय सिमा तोक्दा सटहीबाट अन्य पक्षले लाभ लिने भएर पनि कहिले र कसरी साटिने भनेर भारतीय पक्षले जानकारी नदिएको हुनसक्छ।’ नेपालमा रहेको प्रतिबन्धित भारु साट्न शुरू भएपछि रातारात भारतमा रहेको कालोधन नेपाली नागरिकसम्म आउने र त्यसलाई बैध बनाउन विभिन्न हथकन्डा हुनसक्नेतर्फ भारतले चिन्ता व्यक्त गर्दै आएको छ। भारत कालोधन र नक्कली नोटको रोकथामका बारेमा नेपाली पक्षसँग आश्वस्त हुन नसकेको स्रोतको दाबी छ।

नेपाली टोलीले नेपालमा रहेको प्रतिबन्धित भारु नोट साट्न आग्रह गरेको थियो। भारु नोट सटहीको विषयमा आवश्यक परे थप अध्ययनको लागि भारतीय टोली नेपाल आउन सक्ने सम्भावना रहेको स्रोतले बतायो। भारतीय पक्षले नोट सटहीको मोडालिटी बनाउन र सटहीमा पारर्शिता कसरी गर्न सकिन्छ भन्ने बारेमा मोडालिटी बनाउन आग्रह गरेको ढुंगानाले बताउनुभयो।

बिहीबार र शुक्रबार विभिन्न चरणमा नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो। छलफलका क्रममा नेपालले बुझाएको मोडालिटीमा प्रतिव्यक्ति २५ हजार भारुसम्मका तीे दरका नोट बैंकमा रहेको आफ्नो जम्मा गर्ने, त्यसरी जम्मा भएको रकम नेपाल राष्ट्र बैंकलाई बुझाउने र राष्ट्र बैंकले रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) लाई बुझाउने रहेको थियो। यसरी रकम प्राप्त भएपछि आरबीआईले सो रकम राष्ट्र बैंकलाई दिने, राष्ट्र बैंकले नेपाली विनिमयदर अनुसार सो रकम बैंक तथा वित्तीय संस्थालाई दिने र बैंक तथा वित्तीय संस्थाहरूले सो रकम सम्बन्धित व्यक्तिको खातामा फिर्ता गरिने मोडालिटी थियो।

मोडालिटीमा त्यसरी जम्मा हुने नोट नक्कली भएमा व्यक्ति स्वयम् जिम्मेवार हुनपर्ने रहेको बताइएको छ। भारु पाँच सय हजार दरका नोट प्रतिबन्धित हुनु अगाडिसम्म नेपालमा भारु २५ हजारसम्मलाई बैध मानिएकाले त्यसअनुपातमा सटही हुनुपर्ने नेपालको जोड छ। भारत नेपालको बैकिङ पं्रणालीमा रहेको नोटका विषयमा सकारात्मक रहे पनि व्यक्तिसँग रहेको नोटका विषयमा बढी सहजक देखिएको बताइएको छ। भारतले व्यक्तिसँग रहेको नोटको स्रोत खोज्नुपर्ने सशर्त राखेको बताइएको छ।

LEAVE A REPLY