शुरू भयो वेभ रक टुर



चिसिएको मौसमलाई तताउँदै शनिबारबाट वेभ रक टुर २०१७ शुरू भएको छ। शनिबार ललितपुरको जाउलाखेल मैदानबाट वेभ म्यागेजिनको आयोजनामा वेभ रक टुर २०१७ शुरू भएको हो।

१९७४ एडी, सविन राई र उनको समूहका साथमा एक्सिस व्यान्डको रकिङबाट शुरू भएको यो टुर पोखरामा गएर सम्पन्न हुने आयोजक रितेश क्रिसले जानकारी गराएका छन्। माइनसभन्दा तल पुगेको चिसो मौसमलाई तताउँदै जाउलाखेल मैदानमा भएको पहिलो रक कन्र्सटमै व्यान्डहरूले दर्शक उचालेका छन्। तीनै व्यान्डले आफ्ना हिट रक गीतहरू प्रस्तुत गरी रक संगीतप्रेमी दर्शकलाई तताएका थिए। यी ब्यान्डहरूले पहिलेदेखि अहिलेसम्म चर्चामा रहेका आफ्ना हिट रक गीत संगीत प्रस्तुत गरी दर्शकलाई झुमाएका थिए। उनीहरूको प्रस्तुतिमा दर्शकले पनि गीत संगीतकै तालमा उफ्रिएर साथ दिएका थिए। सोही अवसरमा एक्सिस ब्यान्डको तेस्रो रक गीति अडियो एल्बम घरगाउँ पनि सार्वजनिक गरिएको थियो।

वेभ म्यागेजिनले आफ्नो स्थापनाकालको १९औं वर्षदेखि यस्तै खाले सांगीतिक कार्यक्रम आयोजना गर्दै आएकोमा यो तेस्रो कार्यक्रम हो। कार्यक्रम स्थलमा २ सय फिटको आकर्षक स्टेज निर्माण गरीएको थियो। जसबाट कार्यक्रममा आउने दर्शकहरूले कार्यक्रम हेर्न सहज र रमाइलो महसुस गरिरहेका थिए। स्थापना कालदेखि नै फेसन र संगीतमा विषेष प्राथमिकता दिँदै आएकाले सांगीतिक क्षेत्रका लागि केही गरौं भनेर यो कार्यक्रम गरेको आयोजक रितेश क्रिसले बताए। काठमाडौबाट शुरू भएको यो रक कन्सर्ट धरान, हेटौडा, बुटवल र चितवन हँुदै पोखरामा गएर समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्