पिसाब परीक्षणबाट के–के खाएको पत्ता लाग्ने



लन्डन, (एजेन्सी) बेलायतका वैज्ञानिकहरूले मानिसको पिसाब परीक्षण गरी उसले खाएको खाना कति स्वस्थकर छ भन्ने पत्ता लगाउन सक्ने प्रविधिको विकास गरेका छन्। तिनीहरूले मानिसहरूको आफ्नै किसमको खानपानको कुलत हुने भएकाले यस प्रविधिले तिनीहरूलाई पोषिलो खाना सेवन गर्न र शारीरिक वजन घटाउन आवश्यक सल्लाह दिन सकिने बताएका छन्।

यससम्बन्धी अध्ययन अनुसन्धानमा लागेको टोलीले दुई वर्षभित्रै स्वास्थ्य क्षेत्रमा यसको प्रयोग व्यापक रूपमा भइसक्ने पनि बताएका छन्। प्रोटोन न्युक्लियर म्याग्नेटिक रिजोनन्स स्पेक्ट्रोस्कोपि प्रविधि प्रयोग गरी पिसाबमा तैरिरहने रसायनिक पदार्थको संरचना निर्धारण गर्न मानिसहरूको पिसाबको नमुनाहरूको विश्लेषण गर्ने गरिन्छ।

यसले कुनै पनि मानिसले हालसालै खाएको खाना र उनको लामो समयदेखिको आहारा बारे थाहा पाउन सकिने बताइएको छ। मानिसको शरीरले फलफूल, सागपात, माछा र अन्य विभिन्न खालका मासु खाएर तिनीहरूलाई प्रशोधन गरेपछि त्यसको असर वा परिणाम पिसाबमा स्पष्ट रूपमा देखिने गरेको बताइएको छ।

न्युक्यासल युनिभर्सिटीको इम्पेरियल कलेज लन्डन र आवरिस्टविथ युनिभर्सिटीले यस बारे संयुक्त अनुसन्धान गरेका हुन्। इम्पेरियलका अनुसन्धानकर्ताहरूमध्ये एक डा. गार्सिया पेरेजले यसबाट अन्ततः मानिसहरूको स्वस्थ जीवनशैलीबारे खाद्यान्न पक्षको व्यक्तिगत रूपमा अनुगमन गर्न सकिने बताएकी छिन्।

उनले भनेकी छिन्, ‘हामी अहिले नै यस परीक्षणबाट फलानाले हिजो १५ वटा चिप्स र दुईवटा ससेज खाए भन्ने सक्ने स्थितिमा छैनौं। तर त्यो स्थितिमा पुग्ने कोसिसमा भने अवश्य छौं।’ त्यसै गरी इम्पेरियलका अर्का वैज्ञानिक प्रोफेसर ग्यारी फ्रस्टले पहिलोपटक मानिसले के–के खाए भन्ने स्वतन्त्र रूपमा परीक्षण गर्ने प्रविधि पत्ता लागेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्