सीमावर्ती बजारमा गैरकानुनी रुपमा भारतीय रुपैयाँ सटही गर्नेको बिगबिगी



भद्रपुर, २ माघ ।
झापाका सीमावर्ती बजारमा गैरकानुनी रुपमा भारतीय रुपैया सटही गर्ने व्यापारीको बिगबिगी बढ्न थालेको पाइएको छ ।
भारत सरकारले पुरानो पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि झापाका सीमावर्ती बजारका पसल व्यापारीहरुले महंगो बट्टामा भारतीय रुपैया सटही गर्दै आइरहेका छन् ।

नेपाल राष्ट्र बैकको अनुमति बाहेक कसैलेपनि सटही कारोवार गर्न नपाइने भएतापनि व्यापारीले भारतीय एक सय रुपैया सहटी गर्दा सर्वसाधरण जनताबाट १० देखि १५ रुपैया सम्म बढी रकम लिने गरेको पाइएको छ । यसैक्रममा वडा प्रहरी कार्यालय भद्रपुरले महगो बट्टामा भारतीय रुपैया बिक्री गरेको आरोपमा एक आलु व्यापारीलाई नियन्त्रणमा लिएको छ ।
भद्रपुर ६ स्थित आलुवाला पसल भनिएर चिनिने अन्दाजी ३० बर्षिय सन्तोष यादवलाई प्रहरीले नियन्त्रण लिएको हो । प्रहरीले उनको साथबाट भारतीय एक सयको दरको ६ वटा नोट समेत बरामद गरेको छ ।

शनिवार साँझ यादवले भारतीय सब्जी व्यापारीलाई १० रुपैया अतिरिक्त बट्टा लिएर रकम सटही गरेको आरोपमा नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर कुलप्रसाद चौधरीले जानकारी दिए । नियन्त्रणमा लिएका यादवलाई झापा उद्योग बाणिज्य संघ, राजनितिक दलको रोहवरमा आइन्दा भारतीय रुपैयाको सटही कारोबार नगर्ने र त्यसपछि पनि कारोबार गरेको फेला परेमा कानुन बमोजिम कार्वाही गरिने सर्तमा लिखित कागज गराएर छाडिदिएको इन्सपेक्टर चौधरीको भनाई छ ।

यसअघि मसिर २२ गते वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुरबजारमा सञ्चालित हरि किशन ट्रेर्डस (जुत्ताचप्पल पसल) मा गैरकानुनी रुपमा भारतीय रुपैयाको कारोबार गर्ने ३० वर्षिय वैजु साहलाई नियन्त्रण लिएको थियो । साहलाई पनि प्रहरीले लिखित कागज गरेर छाडेको थियो ।

भारतमा नोटबन्दी भएपछि झापाको सीमा क्षेत्रका बजारमा झोले तथा पसलभित्र लुकाएर सर्वसाधारणवाट महंगो बट्टा लिएर भारतीय रकम सटही गर्ने गरेको जनगुनासो बढेलगतै जिल्ला प्रहरी कार्यालय झापाले सिमा क्षेत्रका इलाका, सीमा, वडा प्रहरी कार्यालयलाई यसतर्फ अभियान सुरु गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्