वेद र मन्जु विजेता



बेदबहादुर सुनुवार जीतपछि नेपालको झण्डा फर्फराउँदै।

काठमाडौं, (नेस)
वेदबहादुर सुनुवार र मन्जु रावतले दोश्रो बतासे अल्ट्रा ट्रेल रनअन्तर्गत क्रमशः पुरुष र महिलातर्फ उपाधि जितेका छन्। काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे डाँडासम्मको ६५ किलोमिटर दूरी नेपाल आर्मीका वेदले ६ घण्टा १० मिनेट ५८ सेकेन्डमा पूरा गरे। जुम्लाका दीपेन्द्र बम ६ घण्टा ३१ मिनेट ४५ सेकेन्ड समय खर्चेर दोस्रो स्थान हात पारे। ७ घण्टा १३ मिनेट १५ सेकेन्ड समय निकालेका गोर्खाका सुजल गुरुङ तेश्रो भए। गत वर्ष पहिलो भएका गोर्खाका भीम गुरुङ चौथो स्थानमा सीमित भए।

त्यस्तै मन्जुले ८ घण्टा २८ मिनेट २० सेकेन्ड समय लगाइन्। अल्ट्रा दौडमा पहिलोपटक भाग लिएकी १४ वर्षीया जुम्लाकी मन्जु १ हजार ५ सय मिटर दौडकी विद्यालयस्तरीय कीर्तिमानधारी हुन्। युकेकी लिजा हकर ८ घण्टा ५५ मिनेट समयसाथ दोश्रो भइन्। ९ घण्टा ३३ मिनेट ०२ सेकेन्ड समय लगाउदै सिन्धुपाल्चोककी रशिला तामाङ तेश्रो भइन्। १ विदेशीसहित जम्मा ६ जना दौडेका थिए।

६५ किलोमिटरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे।

प्रतिक्रिया दिनुहोस्