दुई किशोरीको सीमाबाट उद्धार



नेपाल समाचारपत्र
कृष्णनगर
वैदेशिक रोजगारीका लागि भारततर्फ हिँडेका दुई नेपाली किशोरीको कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ। मानव बेचबिखनविरुद्ध त्यहाँ कार्यरत शान्ति पुनःस्थापना गृहले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दशगजाबाट उद्धार गरेको हो।

बुटवलबाट दिल्लीतर्फ गइरहेको सुपा देउरालीको यूपी १४ डीटी ०५९८ नम्बरको बस चढेर किशोरीहरू भारततर्फ जाँदै थिए। भारत प्रवेश गर्ने क्रममा बसलाई चेकजाँच गर्दा शंकास्पद देखिएकाले किशोरीहरूलाई भारत जानबाट रोक लगाएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो। उद्धार गरिएका किशोरीहरूमा दाङको लालमटियाकी २२ वर्षीय गीता (नाम परिवर्तन) र खोटाङ घर भएकी २१ वर्षीय मीना (नाम परिवर्तन) रहेका छन्।

किशोरीहरूलाई भारतको दिल्लीसम्म पुर्याउन जाने सिन्धुपाल्चोक चौताराका ३० वर्षीय नवीन श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको संयोजक भट्टराईले बताउनुभयो। गणेश कटुवाल भन्ने व्यक्तिमार्फत् किशोरीहरू भारतको बाटो हुँदै तेस्रो मुलुक जान लागेको बुझिएको छ। दिल्लीमा रवि ठकोर भन्ने व्यक्तिले उनीहरूलाई रिसिभ गर्ने अनुसन्धानबाट पत्ता लागेको भट्टराईले जनाउनुभयो। बिचौलियाले किशोरीहरूलाई काठमाडौंको जोरपाटीबाट चन्द्रौटा हुँदै कृष्णनगरको बाटो भएर दिल्लीका लागि पठाउन थालेको थियो।
सोधपुछ गर्दा किशोरीहरूसँग कुनै प्रमाणसमेत नभेटिएको बताइएको छ। विन्दु राई भन्ने महिलालाई पासपोर्टसहित सम्पूर्ण कागजात बुझाएको किशोरीहरूले बताएका छन्। बिचौलियाहरूले नवीन भन्नेलाई समेत प्रयोग गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका नवीनविरुद्ध पीडित किशोरीहरूले उजुरी दिन नचाहेपछि बिचौलियाको भूमिका खेल्ने नवीनलाई समेत प्रहरीले रिहाइ गरेको छ। यता उद्धार गरिएका किशोरीहरूलाई पीआरसीले परिवारको जिम्मा लगाई घर फिर्ता गरेको संयोजक भट्टराईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्