(धनपति सापकोटा) नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्छ भन्ने जानकारी नपाउँदै नेपालले धेरै ठूल्ठूला महाभूकम्पहरूको सामना गरिसकेको छ। सन् १९८९ देखि मात्र नेपाल भूकम्पीय प्रकोपको सम्भावना भएको देश हो, जुनसुकै समयमा प्रलयकारी भूकम्प गई अकल्पनीय जनधनको क्षति हुन्छ भन्ने आँकलन गरी भूकम्प मापन गरी आधिकारिक तथ्यांक राख्न थालिएको हो। यसअघि गएका भूकम्प भारत, जापान, अमेरिकाको भूकम्प मापन यन्त्रले मापन गरी सार्वजनिक गरेको तथ्यांकलाई नै आधार मानिँदै आएको थियो।

हाल नेपालमा २१ वटा विभिन्न स्थानमा भूकम्प मापन केन्द्र स्थापना गरिएको छ। नेपाल विश्वमान चित्रमा भूकम्पीय जोखिमको दृष्टिले १०औं नम्बरमा पर्दछ। विश्वका अति जोखिमयुक्त देशहरूमा सर्वप्रथम जापान, इन्डोनेसिया, टर्की, मेक्सिको, एलसाल्माडोर, पाकिस्तान, फिलिपिन्स, इक्वेडर, भारत र नेपालसमेत पर्दछन्। नेपालमा वि.सं. १३१० मा गएको शक्तिशाली भूकम्प नै नेपालको पहिलो ऐतिहासिक तथ्यांकले पुष्टि भएको ठूलो भूकम्प हो। असार महिनामा गएको उक्त भूकम्पमा परी तत्कालीन राजा अभय मल्लको मृत्यु भएको थियो। काठमाडौं उपत्याकामा मात्र एक तिहाइ जनसंख्याले ज्यान गुमाउनुपरेको थियो। त्यसको ६ वर्षपछि पुनः नेपालमा वि.सं. १३१६ मा शक्तिशाली भूकम्प गएको र नेपालमा ठूलो महामारी तथा अनिकाल लागेको थियो। वि.सं. १४६३ र १४६५ मा नेपालमा गएको शक्तिशाली भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत थुप्रै मठ–मन्दिर देवालय भत्किएका थिए। त्यसै गरी वि.सं. १७३७ र १८२४ मा पनि नेपालमा शक्तिशाली भूकम्प गएको थियो। ती भूकम्पहरूले नेपालमा ठूलो मात्रामा जनधनको क्षति गरेको थियो। जमिनमा ठूल्ठूला धाजा फाट्ने पानीका मुहान सुक्ने र नयाँ मूल फुट्ने भएको थियो। वि.सं. १८२४ मा २१ पटकसम्म ठूल्ठूला भूकम्प गएका थिए। नेपालमा वि.सं. १८६३, १८६५, १८६६, १८८०, १८९० र १८९१ गरी एकै शताब्दिमा ६ वटा अति शक्तिशाली भूकम्प गई नेपालीले निर्माण गरेको सारा संरचना ध्वस्त हुनुको साथै हजारौं नेपालीले ज्यान गुमाउनुपरेको इतिहास छ। माथि उल्लेख गरिएका मध्ये १८९० मा गएको विनाशकारी भूकम्पले काठमाडौंमा रहेका दुई वटा धरहरामध्ये एउटा पूरै र अर्को आधा भत्किएको थियो। राजधानी काठमाडौंमा मात्रै ४ हजारभन्दा बढी घर भत्किएका थिए। त्यतिमात्र नभई पहिलो भूकम्प गएको महिना दिनभित्रै अर्को शक्तिशाली भूकम्प गएको थियो।

वि.सं. १९९० सालमा नेपालमा गएको महाभूकम्प, विश्वभरिमा गएको महाभूकम्पहरूमध्ये एक हो। माघ महिनाको २ गते दिउँसो २ बजेर २४ मिनेट २२ सेकेन्डमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु पूर्वीपहाडी जिल्ला संखुवासभाको चैनपुरमा परेको थियो। उक्त भूकम्प ८.४ रेक्टर स्केलको थियो भने त्यो विनाशकारी भूकम्पको प्रभावमा परी त्यति बेलाको जनसंख्यामध्ये ८ हजार ५ सय १९ जनाले ज्यान गुमाउनुपरेको थियो। त्यति बेला काठमाडौंमा मात्र ४ हजार २ सय ९६ जानाले ज्यान गुमाउनुपरेको थियो। मृत्यु हुनेहरूमा पुरुषभन्दा महिला ८ सय १९ जना बढी थिए। त्यति बेलाको नेपालको जनसंख्या करोड पुगेकै थिएन। तर, २ लाख ७ हजार ७ सय ४० घर भत्किएका थिए, भने पछि हामी अनुमान लगाउन सक्छौं कि भूकम्पपछि नेपालका पहाडी क्षेत्रमा कुनै घर संरचना सद्धे थिएनन्।

नेपालमा गएको उक्त भूकम्पको असरले मित्रराष्ट्र भारतमा समेत ७ हजार १ सय ८८ जनाले ज्यान गुमाउनुपरेको थियो। काठमाडौं उपत्यकाबाहिर पूर्वी पहाडमा ३ हजार ९ सय ७४ जना, पूर्वीमधेसमा १ सय ८४ जना र पश्चिम पहाडमा ६५ जनाले ज्यान गुमाउनुपरेको थियो। तत्कालीन राजाका दुई छोरी, ६ सुसारे र राणा प्रधानमन्त्रीकी नातिनीले समेत दरबारमै च्यापिएर मृत्युवरण गर्नुपरेको थियो। नेपाल कृषि प्रधान देश भएको र दिउँसो २ बजेको समयमा भूकम्प गएको हुनाले सबै किसान खेतीबालीका लागि घरबाहिर नै भएका कारणले ३ मिनेटसम्म लगातार धर्ती हल्लाउँदा ठाउँ–ठाउँमा जमिन धाजा फाटी भासिएको, नदीनालामा बाढी आएको र पानीको मूल फुटेको अवस्थामा पनि भएको मानवीय क्षति कम नै भएको अनुमान लगाइन्छ। साथै हाम्रो तराई इलाकामा त्यस बेला ढु·ा तथा इँटाका संरचना अति नै न्यून भएकाले मानवीय क्षति कम हुन गयो।

काठमाडौं उपत्यकामा तीन शहरमध्ये सबैभन्दा बढी मानवीय क्षति भक्तपुरमा भएको र शहरबाहिरका गाउँका हकमा पाटनमा बढी क्षति भएको तथ्यांक पाइन्छ। त्यति बेला भक्तपुर, लुभु, हरिसिद्धि, बुङमती र खोकनामा बढी मानिसको मृत्यु भएको थियो। दिउँसोको समयमा सैनिकहरू प्रायः सबै परेड खेल्न ब्यारेकबाहिर निस्किएकाले सैनिकतर्फ न्यून क्षति भएको थियो। परिवारका सबै मानिस पुरिएर मरेकाको लास बेवारिसे हुन गई विधिपूर्वक सदगतसमेत हुन सकेन, बुङमतिमा मात्रै १ सय जनाको शव सैनिकले सामूहिक सदगत गरेका थिए। पहाडी इलाकामा ढु·ाले किचिएर मृत्यु हुनेको शव निकाली सदगत गर्न नसक्दा शव किचिएको ढु·ामाथि नै किरिया गरेको, धनकुटाको लेगुवा घाटमा भएको ओडारमा भारी बिसाई आराम गरी बसेका पचासौं मानिस ढु·ाले किचेर मरेका, बाटो हिँडिरहेका बटुवामध्ये केही भूकम्पले हल्लाएका बेला बाटोमा परेको धाजाभित्र परी मृत्युवरण गरेका जस्ता हृदयविदारक तथ्यांक पाइन्छन्। त्यस्तै काठमाडौंको मखनटोलबाट पसलभित्र पुरिएका २ जनालाई ७ दिनपछि जिवितै उद्धार गरिएको थियो।

वि.सं. २०३१, २०३७, २०४५ भदौ ५ गते २०५०, २०५१, २०५४, २०५६, २०५८, २०६० र २०६८ असोज २ गते नेपालमा गएका मझौलास्तरका भूकम्प हुन्। यीमध्ये २०४५ सालमा उदयपुर केन्द्रबिन्दु बनाई गएको ६.७ रेक्टर स्केलको भूकम्पले पूर्वीपहाडी इलाका तथा धरान धनकुटा बजारमा बढी नै क्षति पुर्याएको थियो। यति धेरै भूकम्पले नेपाललाई चेतावनी दिँदादिँदै पनि हामीले आफ्नो तर्फबाट भूकम्पको जोखिम न्यूनीकरण गर्न खासै प्रयत्न गरेको देखिँदैन। भूकम्पको प्रभाव र त्रास रहेसम्म केही सजग भएजस्तो तर केही समयपश्चात् कुनै जोखिम नरहेजस्तो गरेर पीडा भुल्ने हामी नेपालीको बानी नै हो कि क्या हो ? भन्ने खालको मनोवृत्ति हामीमा विकास भइरहेको अवस्थामा वि.सं. २०७२ साल वैशाख १२ गते ११.५६ बजे अचानक गोरखाको बारपाक केन्द्रबिन्दु बनाई विनाशकारी भूकम्प आयो। विगतका विध्वंशकारी घटनाहरूबाट हामीले सिक्नुपर्ने जति नसिकेका कारण अकल्पनीय क्षति भोग्नुपर्यो। पूर्व विपत्बाट हामीले अवश्यम्भावी घटनाहरूलाई सही ढंगबाट आँकलन गरेर भावी कार्ययोजना बनाएको भए यस्तो विकराल क्षतिको सामना गर्नुपर्ने थिएन होला। भवन निर्माण संहिता, भू–उपयोग नीति, शहरीकरणको स्पष्ट मापदण्ड त्यसमा पनि पहाडी इलाकाको भवन निर्माणमा प्रयोग हुने निर्माण सामग्री, भौगोलिक आवस्था र सम्भावित खतराको मूल्यांकन आदि गर्ने कुरामा हामी चुक्यौं त्यस कारणबाट हामीले धेरै क्षतिको जिम्मेवार बन्नुपर्यो।

२१औं शताब्दिमा पनि हामीले १९९० को भन्दा पनि बढी जनको र त्योभन्दा बढी धनको क्षति व्यहोर्नुपर्यो। वि.सं. १९९० मा ८५१९ जना मानिसले भूकम्पको कारणले ज्यान गुमाएका थिए भने २०७२ सालमा हामीले ८३ वर्षअघिको तथ्यांकलाई उछिनेर ८ हजार ८ सय ४४ जानाले प्रत्यक्ष मृत्युवरण गर्नुपर्ने अवस्थाको सामाना गर्नुपर्यो। घाइते मात्र २२ हजार ३ सय ७ रहे भने ६ हजार ८३ जना गम्भीर घाइते रहे। भूकम्प अति प्रभावित १४ जिल्ला हुनपुगे भने समान्य प्रभावितमा ३४ जिल्ला रहे। करिब ५ लाख ९५ हजार घर बासस्थान पूर्णरूपमा क्षति भए। २ लाख ७९ हजार २८ घर आंशिक क्षतिको शिकार भए। करिब ७ लाख जनसंख्या पूर्णरूपमा विस्थापित भई घरबारविहीन भए। ३ सय नेपाली १२ विदेशी बेपत्ता भए भने सरकारी भवन नै करिब ३ हजार क्षतिग्रस्त भए। कुल आर्थिक क्षति हेर्दा ७ अर्बभन्दा माथि पुग्न गयो।

नेपालीको हालको जीवन पद्धतिमा केही परिवर्तन भएकै कारण सामूहिकरूपमा भेला हुने, बिदाको दिनमा सभा–सम्मेलन गर्ने, अन्तरक्रिया, ध्यान आदि गर्ने संस्कृति बढ्दै छ। सोही कारणले पनि धेरै संख्यामा सामूहिक मृत्युवरण गर्नुपर्यो। जस्तै मनोरञ्जन र दृश्यावलोकन गर्न गएका ६० जनाभन्दा बढीले धरहरामा एकै चिहान हुन पर्यो। वसन्तपुर क्षेत्रमा सामान्य जीवनशैलीजन्य क्रियाकलाप र दृश्यावलोकनको सिलसिलामा गएका ४५ जनाले करिब सय मिटरको व्यासभित्र मृत्युवरण गर्नुपर्यो। घरको बनावट ठीक⁄बेठीक जे भए पनि भू–गर्भशास्त्रीहरूको भनाइअनुसार कमजोर भू–वनौट भएको कारण र गृह निर्माणमा गरिएको प्राविधिक त्रुटीका कारण स्वयम्भु आसपासका क्षेत्रमा ५० जनाभन्दा बढी मानिसले ज्यान गुमाउनुपर्यो। काठमाडौंको सुदूरपूर्वोत्तरमा रहेको प्राचीन र पौराणिक शहरमा अकल्पनीय क्षति भयो। भवन निर्माणमा अपनाइएको परम्परागत शैलीमा सरकारले पुरानो इतिहासको तीतो अनुभवलाई स्मरण गरेर सुधार गर्ने प्रयत्न गरेको भए यति धेरै क्षतिको सामना गर्नुपर्ने थिएन होला। कमजोर संरचना तथा कमजोर भौगर्भिक अवस्थाका कारण शोभाभगवती आसपासमा ठूलो मानवीय तथा संरचनागत भौतिक क्षति व्यर्होनुपर्यो।

सामूहिक बसोबास तथा सभा–सम्मेलन गर्ने स्थानका रूपमा रहेका धेरै स्थानहरूमा सर्वसाधरण तथा भूकम्पको बारेमा अनविज्ञले अनाहकमा ठूलो क्षति व्यर्होनुपर्यो। जस्तै केन्द्रीय कारागारमा करिब २० जना, पर्वतारोहीको टोलीमध्ये लाङटाङमा ७१ जना, डाँडागाउँ रसुवामा करिब ९० जना, रिगाउँ धादिङमा ६५ जना, सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा २१ जना, बिरुवा सिन्धुपाल्चोकमा २ सय २० जना, भीमटार सिन्धुपाल्चोकमा ८८ जना, सिमपोखरी सिन्धुपाल्चोकमा ६१ जना, घ्याङ्फेदी नुवाकोटमा ८१ जना, मैलुङ नुवाकोटमा ५० जना, शोभाभगवतीस्थित चन्द्रवदन प्रधानको घरमा सामाजिक कार्य भइरहेका बेलामा १७ जना, अझ कति छुटेका पनि होलान् यसरी हालको जीवनशैलीका कारण सामूहिक बसाई तथा भेला हुने, पार्टी महोत्सव हुनु स्वभाविक हो तर कमजोर संरचनाको छानामुनि कुनै पनि सामाजिक कार्य गर्नु कति जोखिमपूर्ण भन्ने कुरा यस वि.सं. २०७२ को भूकम्पको परिणामबाट स्पष्टरूपमा थाहा भयो।

यी त भए आजभन्दा अघिका घटनाको संक्षिप्त विवरण मात्र। हाम्रो मुलुक नेपाल विश्वमा भूकम्पीय जोखिमबाट अति प्रभावित मुलुकमध्ये १० नम्बरभित्र पर्ने कुरा यसअघि नै उल्लेख गरिसकेको छु। भूकम्प कहिले कुन समयमा आउने भन्ने कुरा कुनै पनि साहित्यमा पढ्न पाइँदैन तर अनुमान गरिएका विद्वान्हरूका विचार पढ्न पाइन्छ। हामीले हाम्रै विगत मात्र हेरे पनि महिनैपिच्छे, वर्षैपिच्छे ठूल्ठूला विनाशकारी भूकम्प आएका दृष्टान्त हामीसँग मौजुदा छन्। तर, हामीले विनाशकारी भूकम्पबाट के सिक्यौं ? भूकम्प जोखिमबाट बच्न के उपाय गर्यौं? भन्ने कुरा खोतल्नु जरुरी छ। यदि हामी सुन्दर, सम्वृद्ध र आत्मर्निभर नेपाल चाहन्छौं भने हामीले चाहे पनि नचाहे पनि कुनै समय सीमाभित्र हामीलाई पीडा दिने गरी आउने भूकम्पको जोखिमबाट बच्ने उपाय सोच्न धेरै ढिला भइसकेको छ। अझै पनि तुरुन्तै यो आलेख पढ्दै गर्दा वा लेख्दै गर्दासमेत भूकम्पको जोखिम व्यहोर्नुपर्ने अवस्थामा नेपाल छ। तर, हामीले यति गम्भीर विषयलाई किन महत्त्व दिएका छैनौं ? हामी मुख्य गरी राजनैतिक लडाइँलाई नै प्राथामिकरूपमा राखेका छौं जस्तो लाग्छ। हामी आम नेपालीले बुझ्न जरुरी छ, हामी सधैं जोखिमको भूमरीमा छौं। एउटा सकारात्मक कुरा मान्नुपर्छ नेपाली राजनैतिक पार्टीहरूले २०७२ सालको भूकम्पपछि राजनैतिक सहमतिको वातावरण तयार गरी नेपालको संविधान जारी गर्न सहमति गरे। यो स्वागतयोग्य कुरा हो। सन् १९२२ मा जापानमा गएको विनाशकारी भूकम्पबाट जापानले आफ्नो राष्ट्रिय नीतिमा परिर्वतन ल्यायो र पूर्णरूपमा प्रतिबद्ध भई भविष्यको बारेमा स्थायी योजना तयार गर्यो। हाम्रो छिमेकी मित्रराष्ट्र चीनले विश्वमा सबैभन्दा बढी भूकम्पमा मानवीय क्षति व्यहोरेको छ। शताब्दियौं अघि गएको भूकम्पमा लाखौंको संख्यामा जनमानसको मृत्यु नियालेको चीनले पुनः भूकम्प आएमा क्षति कम गर्ने निश्चित योजना अघि सार्यो। आजका दिनमा ठूलै भूकम्प आउँदा पनि हाम्रोभन्दा कम क्षति हुने व्यवस्था गरिएको तथ्य उनीहरूको देशमा आउने भूकम्पको क्षतिबाट थाहा हुन्छ।

भूकम्प सम्भावित देशभित्र पर्ने न्युजिल्यान्डमा गएको डिसेम्बरमा हाम्रो २०७२ सालमा गए जत्रै भूकम्पबाट मानवीय क्षति शून्य प्रायः भयो। भूकम्प प्रतिरोधी अभियान चलाएका देशहरूले मानवीय तथा भौतिक क्षति कम व्यहोर्न थालिसकेका छन्। त्यसै गरी भरखरै चिलीमा गएको भूकम्प पनि ७.६ रेक्टर स्केलकै थियो। तर, त्यहाँ मानवीय क्षति शून्य रहेको समाचार सुन्न पाइयो।

मानवीय मूल्य अरू कुनै मूल्यसँग तुलना गर्न सकिँदैन तर यस्तो गम्भीर विषयलाई वर्षमा एक पटक भूकम्प दिवस मनाएर मात्र सीमित गर्नु हाम्रो ठूलो भुल हुन जान्छ। हामीलाई संकट पर्दा हामी एकजुट हुन्छौं भन्ने कुरा देखाउन तथा विश्वमा गोर्खालीको बहादुरीको कथा विदेशीहरूले समेत गाउँछन तर हामीले विश्वलाई प्रकोपको क्षति न्यूनीकरणमा देखाएको बहादुरी खोई ? हामीले कति क्षति व्यहोरेपछि सोच्ने हो यो विषयमा ? हामीले बनाउने संरचना, हामीले गर्ने विकास निर्माणमा हामीले लिने राष्ट्रिय नीति, सुरक्षा योजना, आपत्कालीन योजना, विपदपूर्व गर्नुपर्ने तयारी, सजकता, अपनाउनुपर्ने सावधानी, विपद्का बेलामा अपनाउनुपर्ने सक्रियता, विपद्पछि देखाउनुपर्ने तत्परता आदिको बारेमा नेपालका संयन्त्रहरू कुन अवस्थामा छन् ? भूकम्प पृथ्वीको एउटा नियमित प्रक्रिया हो। जसरी हाम्रो नेपालको करिब हजार किमि पूर्वपश्चिम हिमवत खण्ड प्राकृतिकरूपमा सुन्दर तथा विश्वमा पाइने सबैखालका प्राकृतिक छटा यस भूमिभित्र पाइन्छ। त्यसै गरी पृथ्वीको सामान्य प्रक्रियाले पनि यो स्थानलाई जोखिमपूर्ण तरिकाले हल्लाउँछ। यो ध्रुवसत्य हो कि साल महिना शताब्दि केही नभनी मन लागेको वा आवश्यक भएको समयमा हाम्रो धर्ती हल्लिरहेको छ।

यति धेरै कहालीलाग्दो क्षति भोग्न बाध्य पारिरहेको छ। महिनौं, वर्षौंसम्म हामी त्रासादिबाट मुक्त हुन सकेका छैनौं। वि.सं. १९९० को भूकम्पको केही वर्षपछि बिग्रिएका संरचनाहरूको पुनर्निर्माण सम्पन्न गरी ऋण लिएकाहरूको ऋणसमेत मोचन गरी कपाली तमसुकसमेत नष्ट गर्न भूगोल पार्कको स्तम्भको गर्वमा राणा सरकारले तमसुक दफन गरेको थियो। सोही स्थानलाई भूकम्प दिवसको दिनमा सालमा एक पटक स्मरण गर्दछौं भने अबउप्रान्त जस्तोसुकै भूकम्पीय जोखिम सामना गर्नुपरे पनि मानवीय तथा भौतिक क्षति शून्य गर्नेछौं भनी आजै प्रतिबद्धता किन जाहेर नगर्ने ?

भूकम्प आउँछ–जान्छ पृथ्वीको आफ्नो चल्ने सामान्य प्रक्रिया हो। हामीचाहिँ धर्तीमा बस्छौं भने हामीले धर्तीको यो सामान्य प्रक्रियालाई स्वीकार्नै पर्छ। यदि हामी स्वीकार्छौं भने धर्तीलाई गाली गरेर होइन धर्तीको सामान्य व्यवहारसँग जानकार भई सोहीअनुसार सुरक्षित हुने उपाय अपनाउनु जरुरी भइसकेको छ। हिजोका दिनमा हाम्रो क्षमता नभएका बेला गएको भूकम्पबाट क्षति मात्र व्यहोर्नुको कुनै विकल्प थिएन तर आज हामीले चा≈यौं भने जत्रोसुकै भूकम्प नेपालमा आए पनि थेग्न अथवा भूकम्प आउँछ–जान्छ यो पृथ्वीको सामान्य व्यवहार हो भन्ने अवस्थामा पुग्न सक्ने अवस्थालाई किन उपयोग नगर्ने ? हाम्रो आजका दिनसम्म भू–उपयोग नीति बनेको छैन। भू–वर्गीकरणमा अवल, द्वयम, सिम, चहार गरी चार वर्गमा बाँडिएको छ। त्यो पनि सरकारी कुत उठाउने प्रयोजनका लागि मात्र। कुन स्थानमा कत्रो कति तले, कती भारको भवन बनाउन पाउने भन्ने हाम्रो स्पष्ट अध्ययन र सोबमोजिमको नीतिको अभाव छ। हालसालै शहरी विकास मन्त्रालयले तयार गरेको देशभरिका शहरीकरण गर्ने क्षेत्र स्थान भनि योजना अगाडि बढाएको स्थानका भौगर्भिक अध्ययन भएको होला ? त्यो स्थानमा बनेका घरहरूको भौगर्भिक मजवुतीको ग्यारेन्टी होला ? हाम्रो स्थानीय आवश्यकता रणनैतिक आवश्यकतालाई पनि भौगर्भिक अवस्थाले कति मद्दत गर्न सक्छ ? भन्ने कुराको अध्ययन गराई योजना अघि बढाइएमा प्रकोपबाट शून्य क्षतितर्फ हामी उन्मुख हुन सक्छौं।

नेपाल सरकार, यस मातहत क्रियाशील मन्त्रालय, विभाग निकाय, सामाजिक संघ–संस्था, एनजीओ, आईएनजीओ तथा आम नागरिकहरूको ध्यान विपद् विशेष गरी भूकम्पमा केन्द्रित गरी गरिने सबै क्रियाकलापबाट मानवीय क्षति तथा भौतिक क्षतिको समाचार सुन्न नपर्ने दिनको प्रतीक्षामा बस्न यो भूकम्प सुरक्षा दिवस २०७३ माघ दुई गते आइतबारले हामी सबैलाई प्रेरणा दियोस्।
(सापकोटा काठमाडौं महानगरपालिकाका डीएसपी हुन्।)

भूकम्प आउँछ–जान्छ पृथ्वीको आफ्नो चल्ने सामान्य प्रक्रिया हो। हामीचाहिँ धर्तीमा बस्छौं भने हामीले धर्तीको यो सामान्य प्रक्रियालाई स्वीकार्नै पर्छ। यदि हामी स्वीकार्छौं भने धर्तीलाई गाली गरेर होइन धरतीको सामान्य व्यवहारसँग जानकार भई सोहीअनुसार सुरक्षित हुने उपाय अपनाउनु जरुरी भइसकेको छ।

LEAVE A REPLY