जलनको ‘अचानोमा दिल’



अरुण नदी खत्री
कवि एवम् गजलकार दीपक आचार्य ‘जलन’को ‘अचानोमा दिल’ नामक गजलसङ्ग्रह हालै निस्केको छ । यसभित्र उनीद्वारा लेखिएका बहत्तरवटा गजलहरू समावेश गरिएका छन् । जलनको यो गजलसङ्ग्रह बुलबुल पब्लिकेसन प्रा.लि.बाट प्रकाशित भएको हो । नेपाली भाषा–साहित्यमा गजल लेखेर उनले अक्षरका बीउहरूलाई रोपाइँ गर्न सफल भएका छन् । उनका गजलहरू साहित्यप्रेमी पाठकहरूले मन नपराऊलान् भन्न सकिन्न ।

मुटुमा राखेर तिमीलाई म सधैँ ताला लगाउँछु
यी कुटिल नजरहरूबाट तिम्रो सुरक्षाको लागि ।

जलनका अधिकांश गजल कोमल भावका र सशक्त छन् । दीपक आचार्य ‘जलन’ नेपाली साहित्यमा त्यति नयाँ नाम होइन । लामो समयदेखि साहित्य साधनामा तल्लीन युवा पुस्ताका सशक्त गजलकार जलनका गजलमा जीवनको यथार्थ, समयको आवाज, प्रेमका उतारचढाव, चिन्तन र विचारका अनेक लोभलाग्दा तरंगहरू सन्देश बोकेर उभिएका देखिन्छन् । आँसु, हाँसो, प्रेम, दिल, परदेश, समाज र जिन्दगीभित्र अचानोमा दिल घुमेको छ । हरेक कुराको सीधा र सबैभन्दा पहिलो असर दिलमा पर्छ । लामो समयपछि प्रकाशनका दृष्टिले उनको यो दोस्रो गजलसङ्ग्रह हो । यिनका गजलमा जिन्दगीका विवशता, उमंग–उत्साह, उपदेश पनि रहेका छन् । केही गजलले सूक्ष्म व्यङ्ग्य धारण पनि गरेका छन् ।

मुटुमा काँढा राखेर कान्छो गएको छ म पनि कमाउँछु भनेर कान्छो गएको छ ।

गजलमा अलग–अलग विषयवस्तुको उठान गरेर आफ्नो काव्यिक योग्यता र क्षमता जलनले प्रस्तुत गरेका छन् । गजलका एक अनुशीलन, मर्यादित स्रष्टाका रूपमा जलन आफैँमा परिचित बन्दै छन् । गजल रचनाको परम्परागत संरचनालाई सफलतापूर्वक पालना गरी तयार गरिएको यस सङ्ग्रहभित्रका गजलहरू ग्रामीण क्षेत्रमा रोग, भोक, अशिक्षा, बेरोजगारी, शोषण, उत्पीडन, विभेद आदिबाट पिल्सिएका निमुखा नेपालीको आवाज हो भन्न सकिन्छ । नेपाली समाज, संस्कृति, राजनीति र जनजीवनलाई यस सङ्ग्रहका गजलले प्रतिविम्बित गरेका छन् । उनका गजलमा विषयवस्तुमा व्यापकता छन् र आफूले प्रस्तुत गरेका विषयमा उनी स्पष्ट छन् । आफ्नो विचारमा स्पष्ट र दृढ देखिने यी गजलकारले आफ्नो भनाइलाई सोझो र बाङ्गो किसिमले व्यक्त गरेका छन् ।
पूरा हुँदैनन् रहरहरू असीमित देखिन्छन् तैपनि मनमा आशाहरू जीवित देखिन्छन् ।

नेपाली साहित्यमा गजल पचासको दशकदेखि निकै प्रचार–प्रसारमा आएको देखिन्छ । गजलका मञ्चहरू निकै सशक्त छन् । आज नयाँ पुस्ताका लेखकहरूको जन्म गजल विधाबाट हुन थालेको छ । गजलको शुरूवात शृङ्गारिकताबाट भए पनि गजलमा समय लेखिनुपर्छ, माटोको दुखाइ उतारिनुपर्दछ, समाजका वास्तविक भोगाइ र जीवन प्रतिविम्बित हुनुपर्छ । जीवनका अनुभूतिहरू प्रेम–विछोडका समसामयिक घटनाक्रमहरूलाई गजल लेखेर जलनले चित्रण गरेका छन् । गजलको प्रयोग फारसी, अरबी र उर्दू हुँदै हिन्दीमा आएर समृद्धितर्फ उन्मुख भएको छ । फारसी वा उर्दूमा गजलले उच्च स्थान बनाएको देखिन्छ ।

देश अँध्यारोमा हुन्छ प्रायः बत्ती हुँदैन, ठीक चाहिने बेलामा झन् बत्ती हुँदैन, उनको गजलले भनेको छ । २०६० को दशकदेखि शुरू भएको मध्यपश्चिमी गजलको काव्यिक अभियानका अग्रणी प्रतिभा हुन् दीपक आचार्य । २०६० का दशकमा उनले बर्दियाका गाउँ–गाउँमा र स्कूल–स्कूलमा पुगी गजलका गतिविधि गरेर गजलको अभियान शुरू गरे । मध्यपश्चिम र देशभरका गजल स्रष्टाका बीचमा सम्पर्क र सम्बन्ध जोडेर उनले गजलको सिर्जनशील परिवेश निर्माण गर्नमा जोड दिएको सदा स्मरणीय रहेको छ । २०७३ साल कार्तिकमा बुलबुल पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित यो गजलसङ्ग्रहको मूल्य रू.१५०।– राखिएको छ भने पृष्ठसंख्या ९४ छ । गजलकारबाट पुनः यस्तै स्तरीय कृतिहरू निरन्तर आइरहुन् ।

प्रतिक्रिया दिनुहोस्