‘म पनि मधेसी हुँ, मेरो पनि समस्या छ’



मधुसूदन रायमाझी
काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूबीच शनिबार रोचक सवाल–जवाफ भएको छ। सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित गर्न नदिने अडान लिँदै आएका एमाले अध्यक्ष ओली र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच मधेस समस्या समाधानको बारेमा कुराकानी भएको बुझिएको छ।

शनिबार माघेसंक्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको चियापान कार्यक्रममा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बोलाइएको थियो। चियापान कार्यक्रममा मधेसी मोर्चामा आबद्ध तीन पार्टीका नेताहरू मात्र सहभागी थिए। सो अवसरमा मधेसी मोर्चाका नेताहरूले एमाले अध्यक्ष ओलीलाई संविधान संशोधन विधेयक पारित गराउन भूमिका खेल्न आग्रह गरेका थिए।

‘हामीले अध्यक्ष ओलीसँग मधेसको समस्या समाधान गर्नुपर्यो नि भनेर आग्रह गर्यौं’,नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले नेपाल समाचारपत्रसँग भन्नुभयो,’ मधेसको समस्या समाधान नगरी देशले निकास पाउन सकेन, तपाईं गम्भीर हुनुपर्यो। जवाफमा अध्यक्ष ओलीले आफू पनि मधेसी नै भएकाले आफ्नो पनि समस्या रहेको प्रतिक्रिया दिनुभएको थियो। ओलीको भनाइ उद्धृत गर्दै झाले भन्नुभयो,‘समस्या समाधान गर्नुपर्छ थाहा छ तर मेरो पनि समस्या छ, म पनि मधेसी नै हुँ।’

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले राष्ट्रपतिले बोलाउनुभएको पाँच दलको बैठकमा एमाले उपाध्यक्ष भीम रावलले पेश गरेको गोप्य सूचनाप्रति राष्ट्रपतिसँग आपत्ति जनाएको बताउनुभयो। तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एमालेले मधेसी मोर्चाका दोस्रो तहका नेताले भारतको पटनाको गान्धी मैदानको नजिकको होटलमा बसेर तराईमा भारतसँग मिलाउने सूचना आफूले पाएको भनि आएको कुरा गलत भएको बताउनुभएको थियो।

महेन्द्र रायको भनाइ उद्धृत गर्दै महासचिव झाले भन्नुभयो,‘एमालेले पाँच दलको बैठकमा राष्ट्रपतिसहितको बैठकमा कुरा उठाएपछि यसको टुंगो लगाउन एमाले र मोर्चाको बैठक बोलाउनुपर्यो।’ जवाफमा राष्ट्रपति भण्डारीले आफूले सूचनाका बारेमा छलफल गर्न नभई मुलुकको राजनीतिक अवस्थालाई सहज रूपमा निकास दिन र सहमतिबाट अगाडि बढ्न आग्रह गर्ने उद्देश्यले बोलाएको बैठकमा राजनीतिक कुरा भए पनि अहिले त्यस कुरामा सत्यता नभएको पुष्टि भइसकेको बताउनुभएको थियो। राष्ट्रपतिको भनाइ उद्धृत गर्दै झाले भन्नुभयो,‘यो कुरामा सत्यता पनि रहेनछ, यसलाई त्यति गम्भीर रूपमा लिनुपर्दैन, यस विषयमा छलफल गर्न होइन अन्य विषयमा छलफल गर्न तपार्इंहरूलाई बोलाउने सोचमै छु केही दिनभित्र नै बोलाएर छलफल गर्छु।’

संविधान संशोधनका बारेमा आयोजना गरिएको गोष्ठीका कारण राष्ट्रपतिले बोलाउनुभएको चियापान कार्यक्रममा मधेसी मोर्चाको तर्फबाट तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाको मात्र सहभागीता रहेको थियो। मधेसी मोर्चाका अन्य शीर्षनेताहरू भने राजधानीमा आयोजित एक विचार गोष्ठिका कारण सहभागी नभएको झाले बताउनुभयो।

चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सभामुख ओनसरी घर्ती, पूवसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वसभामुखहरू सुवासचन्द्र नेम्वाङ, दमननाथ ढुंगानालगायतको सहभागिता रहेको थियो। चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल युएई भ्रमणमा जानुपर्ने भएकाले उपस्थिति हुन नसकेको राष्ट्रपतिका प्रेस विज्ञ माधव शर्माले बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जानुभएन। शर्माका अनुसार चियापान कार्यक्रममा एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्