माछा मार्ने जात्रा शुरू



पुष्कर बुढाथोकी, भक्तपुर
मल्लकालीन माछा मार्ने जात्रा भक्तपुरमा शुरू भएको छ।भक्तपुर नगरपालिका क्षेत्रका २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा भक्तपुरको सूर्यमढीबाट शुरू भएको हो।आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने नाच भक्तपुरका विभिन्न ठाउँमा सञ्चालन भएको जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाले बताउनुभयो।

दिउँसो र राति मनाइने यो जात्रा भक्तपुरको टोलटोलमा देखाउने परम्परा रहेको छ। मुकुण्डो लगाएर १९ जना देवगण रहने यो नाचमा १३ वटा मकुण्डो रहने र मुकुण्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ। नवदुर्गा अर्थात माछा मार्ने जात्रामा भैरब, महाकाली, बाराही, भ्रदकाली, ईन्द्रायणी, दुम्भसिंह, गणेश, ब्रम्हायणी, कुमारी, महेश्वरी, महादेव, श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्दछन्।।

कतिपय स्थानीय बासिन्दाले देवगणलाई आफ्नै घरमा लगेर पूजा गर्ने, सत्कार गर्ने भोजन गराउने र दक्षिणा दिने प्रचलन छ। जात्रा टोलमा र घरमा लगेर प्रर्दशन गर्दा आगामी एक वर्षसम्ममा सबै राम्रो हुने, दशा नाश हुने र समृद्धि हुने जनविश्वास रहेको छ।

जात्रा सञ्चालनका लागि आर्थिक अभाव रहेकाले समस्या आएको सचिव वनमालाले बताउनुभयो। मल्लकालीन नवर्दुगाको ङालाक्यो अर्थात माछा मार्ने जात्रा भक्तपुरमा शुक्रबार सूर्यमढीबाट शुरू भएको हो। सूर्यमढीपछि दत्तात्रय, क्वाठडौं, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा प्रर्दशन गरिएको छ। तौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेमा प्रदर्शन गर्ने परम्परा रहेको उहाँले बताउनुभयो।

दिउँसो मनाउँदा यो जात्रालाई यहाँको नेवारी भाषामा ङालाक्यो र राति मनाउँदा यो जात्रालाई चाप्याखं भन्ने गरिन्छ। स्थानीय बासिन्दाले नवदुर्गा भवानीको प्रतीक मानेर सुंगुरलाई राति खेतखेतमा लगेर अन्नबाली छुवाएर ल्याउने परम्परा रहेको छ। यो परम्परालाई लियोलियो पायोपायो भन्ने प्रचलन रहेको सचिव वनमालाले बताउनुभयो। यसो गर्दा सुंगुर लगेको खेतमा कृषि उत्पादन निकै राम्रो हुने जनविश्वास रहेको स्थानीय बताउँछन्। यसका लागि १४ वटा सुंगुरको गुठी संस्थानले व्यवस्था गरेको र खेतमा लगेर परिक्रमा गराइएको सुंगुरलाई चाप्याखंमा ल्याएर बलि दिने परम्परा रहेको छ।

नवदुर्गा नाच एवं माछा मार्ने जात्रालाई साँघु र भक्तपुर कै चाँगुनारायणमा प्रर्दशन गरेपछि फेरि भक्तपुर नगरमै सञ्चालन गर्ने परम्परा छ। त्यसपछि भने साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा प्रर्दशन गरिएपछि पुनः भक्तपुरको त्रिपुरा सुन्दरी, याछेँमा प्रर्दशन गरेपछि काभ्रेको बनेपा र पनौतीमा समेत प्रर्दशन गर्ने परम्परा छ।

जेठ मसान्तमा भक्तपुरको ईछु गल्लिबाट पुनः शुरू हुने यो जात्रा साउनमा भलभल अष्टमीदेखि सम्पन्न हुने परम्परा रहेको वनमालाले बताउनुभयो। परम्परागत भेषभुषामा देवगणले नाङ्गो खुट्टाले नै नाच प्रर्दशन गर्नुपर्नेछ। नाच सञ्चालनका लागि नेपाल सरकार, भक्तपुर नगरपालिका र अन्य स्थानीय निकायलगायत कतैबाट पनि खासै सहयोग नभएपछि भक्तजनले चढाएको दक्षिणामा भर पर्नुपरेको उहाँको भनाइ छ।

जाचा सञ्चालनकै लागि देवगणले सडकमा गुडेका सवारी साधनदेखि पैदल हिँड्ने मानिस, व्यापारिक पसललगायतका निकायसँग भेटीका रूपमा आर्थिक संकलन गर्ने गरेका छन्। बालकदेखि किशोर, युवा र पाको उमेरका व्यक्तिसमेत देवता बन्नुपर्दा कतिपयको पढाइ छुटने र स्वास्थ्यमा समस्या आउने र रोजगारीसमेत नपाउने भएपछि देवगणका परिवारलाई रोजगारीको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था र जात्रा सञ्चालन गर्न सरकारले बजेट छुट्याइदिन देवगणले माग गरेका छन्।

देवता बन्न आफ्नै पैसा खर्चेर सबैलाई भोज खुवाउनुपर्ने, भोकै बसेर बिहानदेखि बेलुकासम्म गह्रौं मुकुण्डो लगाएर नाच्नुपर्ने हुँदा छाती दुख्ने, पेट पोल्ने र खुट्टा दुख्ने समस्या आउने गरेको छ। यो नाच भक्तजनले चढाएको दक्षिणामा भर पर्ने गरेको छ। यस जात्राअन्तर्गत देवगणले नाङ्गो खुट्टाले नै नाच प्रर्दशन गर्ने र यसै क्रममा आर्थिक संकलन गर्नुपर्ने बाध्यता रहेको छ। आर्थिक अभावका कारण नाच बन्द हुने अवस्थामा पुगे पनि परम्परा धान्न चन्दा सहयोगबाट नाच सञ्चालन गर्दै आएको वनमालाले बताउनुभयो।

नवदुर्गा नाचलाई नाला, धुलिखेल, श्रीकष्ठपुर, खर्पुमा प्रर्दशन गरिएपछि पुनः भक्तपुरको त्रिपुरा सुन्दरी, याछेँमा प्रर्दशन गरेपछि काभ्रेको बनेपा र पनौतीमा समेत प्रर्दशन गर्ने परम्परा छ। यो जात्रामा खे बजा, त बाजा र काया बाजा बजाउने ३ जना, महालक्ष्मी अर्थात सिफोद्यो बोक्न ३ जना रहने गर्दछन। यो जात्रामा दर्शकहरूले सिठ्ठी बजाएर आ आ आ गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्दछन्। लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ।

प्रतिक्रिया दिनुहोस्