वर्षैंदेखि भारतीय नकाबधारीको त्रासमा बस्छन् सीमा क्षेत्रका झापाली



(उत्तम नेपाल)/ भद्रपुर, २ माघ ।
सीमा क्षेत्रका झापालीहरु वर्षौदेखि भारातीय नकाबधारीको त्रासमा बस्न बाध्य छन् । सदरमुकाम भद्रपुरवाट १५ किलोमिटर दक्षिणी सिमावर्ती गाविस पृथ्वीनगर, पाठामारी, पथरिया, वनियानी लगायत आसपासको क्षेत्रमा भारतीय नकाबधारी डाका समूहको आतंक र चोरीतस्करीले सीमा क्षेत्रका गाउबासी वर्षोैदेखि त्रासमा जीवन बिताउदै आएका हुन् ।

करिब १५ वर्षयता गएको एक वर्षसम्म चोरीतस्करी, हत्या, लुटपाट र डाका समुहका दशवटा गम्भिर प्रकृतिका घट्नाहरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखमा उल्लेख छ । प्रहरीले दिएको बिवरण अनुसार ०५८ साउन ११मा पथरीया गाविस १ का नारायण राजवंशीको घरमा डकैती गर्न आएका मध्ये भाग्ने क्रममा गाउँलेको प्रतिकारमा नाम ठेगाना नखुलेको एक जनाको ज्यान गयो ।

सोहि महिनाको २९ गते पाठामारी गाविस १ का जमालुदिन मियाँको साथमा रहेको २० हजार नगद लुट्ने क्रममा गाउँलेले प्रतिकार गर्दा एक जना लुटेराको को मृत्यु भयो । करिब ८वर्ष पछि ०६६ फागुन ४ मा फेरी पथरिया ४ स्थित भूमी प्रसाद राजवंशीको घरवाट डाकाले नगद ५ लाख लगायत सुन चाँदी डकैत गरी भाग्नेक्रममा भारतिय नागरिक मजिम आलम पक्राउ परेका थिए ।

त्यसैगरी ०६८ जेठ ७ मा पृथ्वीनगर ८ मा रहेको एरोमा टी. स्टेटवाट सोहि स्थानका २५ वर्षिय वावा भन्ने आइत बहादुर लिम्बुले २ लाख ४७ हजार ५ सय १९ रपैया नगद बरावरको चिया चोरी गरेर हालसम्म फरार रहेको साथै ०६९ असार ३ गते राती वनियानी ८ का प्रकाश राईको घरमा आएका अज्ञात डाका समुहले नगद तथा गरगहना लुटपाट गरेका थिए ।

सोहि वर्षको मंसिर ३० को मध्यराती  पुन पाठामारी २ का  ४२ वर्षिय कुसपतलाल राजवंशीको घरमा  १५। २० जनाको समुहमा आएका डाकाले ७ तोला सुन,२२ तोला चाँदी र २ लाख २० हजार नगद डकैत गर्दै डाकाले हानेको बमवाट २ जना स्थानीय समेत घाइते भएका थिए । त्यस्तै ०७० मंसिर १८को मध्यराती पाठामारी ३ नयाँवस्तीका जियारु मियाको घरमा हतियारसहित आएका १५।२० जनाको डाका समुहले ६ लाख २१ हजार नगद र साढे तिन तोला सुन लगायत सरसामान डकैत गरी भारतिय नागरिकले  लगेको प्रहरीमा उल्लेख छ ।

त्यसैगरी ७१ मंसिर २५को राती १ वजे वनियानी ८ मा रहेको लिला राजवंशीको घरवाट सोहि वडाका १८ वर्षिय देव कुमार राजवंशीले सुनका गरगहना र नगद गरी १ लाख २६ हजार ६ सय ५० बरावरको धनमाल चोरी गरेका थिए ।

सोहि वर्षको फागुन २ मा विहानको राती हतियार सहित आएका १०/१२ जनाको समूहले पथरिया ४ का विष्णु प्रसाद खतिवडाको घरमा  रहेको ५ लाख २९ हजार ३ सय नगद, ५ तोला सुनका गरगहना डकैत गर्दै समूहले पड्काएको बमबाट स्थानीय २ जना घाइते भएका थिए ।

त्यस्तै ७१ चैत्र २९को मध्यराती पृथ्वीनगर ८का देवकुमार श्रेष्ठको २०/२५ जना हतियार सहित नकाबधारी डाका समूहले घर परिवारलाई नियन्त्रणमा लिएर घरधनी श्रेष्ठको प्रतिकारमा हत्या र परिवारका अन्य सदस्यलाई घाइते बनाई १ लाख ८० हजार नगद र १० तोला सुन डाका गरी लगेको झापाका प्रहरी प्रवक्ता तथा डिएसपी हरि प्रसाद शर्माले जनाए । दुई वर्षदेखि सो क्षेत्रमा अपराधिक क्रिपाकलाप नभएको शर्माको भनाई छ ।

पछिल्लो समय भएको घटनाले आतंकित भएका स्थानीयले आफै गाउको सुरक्षाको लागी सशस्त्र प्रहरी ल्याउन सफल भएका छन् । एक प्रहरी निरीक्षक सहित २५ जना शसस्त्र प्रहरीको दरबन्दी कायम गरी २०७३ असार २९ गते पृथ्वीनगर ९ मा सशस्त्र प्रहरी बल अस्थायी बोर्डर आउट पोष्ट स्थापनापछि गाँउमा भारतीय डाका र चोरीतस्करीको क्रासबाट आजित भएका स्थानीय ढुक्कका साथ राती सुत्न पाएका छन् ।

नकाबधारी डाका समूहले हत्या र लुटपाट गरी आतंक मचाउने क्षेत्रमा सशस्त्र प्रहरी पुगेपछि विगत ६ महिना यता स्थानीयवासीले शान्ति सुरक्षा महसुस गर्दै आएका छन् ।

सशस्त्र प्रहरी गाँउमा आएपछि अहिले स्थानीय जनता सुरक्षा महसुस गर्न थालेको स्थानीय रामु गौतमले बताए । गाँउबाट गाईबस्तु चोरी हुनुका साथै डाकाको त्रासका कारण गाँउबासी रातभर आफै गस्तीमा हिँड्नु परेको स्थानीय घनश्याम गुरुङ्ले बताए । तर, अहिले सशस्त्र प्रहरी आएपछि हामी ढुक्कका साथ राती सुत्न पाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्