प्रहरीद्वारा अवैध सिक्किमे मदिरा बरामद



भद्रपुर, (नेस)
झापाको उत्तरी क्षेत्रवाट कपडा तस्करी भइरहेको अवस्थामा पछिल्लो समयमा सो क्षेत्रबाट प्रतिबन्धित सिकिमे रक्सीसमेत तस्करी हुने गरेको पाइएको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले झापा दुवागढी–५ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत चारआलीमा गरेको चेकजाँचका क्रममा उक्त ब्रान्डको रक्सी बरामद गरेपछि तस्करी हुने गरेको पाइएको हो।

रक्सी इलामको पशुपतिनगर हुँदै बिर्तामोडतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरले जनाएको छ। बरामद गरिएको रक्सीमा साढे सात सय एमएलका सिकिम र हनिबी उल्लेख गरिएका तीस बोतल बरामद गरिएको इन्सपेक्टर चुनराज थापाले बताए। बरामद गरिएको रक्सीको अन्दाजी मूल्य २४ हजार रहेको थापाको भनाइ छ। रक्सीलाई शनिबार दिउँसो नेपाल प्रहरी, स्थानीय बासिन्दा, पत्रकारलगायतको उपस्थितिमा सशस्त्र प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरिएको छ। प्रहरीले रक्सी बरामद गरेपछि केही पत्रकारले रक्सी छाड्न प्रहरीलाई दबाबसमेत दिएको बुझिएको छ। भारतको विहार राज्यमा रक्सी प्रतिबन्ध लगाएपछि सिक्किमबाट नेपाल हँुदै विहार तस्करी हुने आशंका गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्