करिब २ लाख पर्यटक बढे



दीपेन्द्र थापा, काठमाडौं
वर्ष सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा पर्यटकका आगमनमा करिब २ लाख जनाले बढे पनि पर्यटन व्यवसायीका लागि खासै उत्साहजनक नरहेको व्यवसयीहरूको भनाइ छ। भूकम्प, नाकाबन्दीको र राजनीतिक दलहरूको बन्द हड्तालको असर सन् २०१६ मा पनि पर्यटन क्षेत्रमा देखिएको हुँदा व्यवसायीहरू अझै उत्सहित हुन सक्ने आधार निर्माण उनीहरूले बताएका छन्।

वर्ष सन् २०१६ मा ७ लाख २९ हजार ५५० पर्यटक नेपाल भित्रिएका तथ्यांक अध्यागमन विभागसँग रहेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ३६ दशमलव ११ प्रतिशतले बढी हो। २०१५ मा भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमनको सूचांक आरोलो लागेको थियो। सन् २०१५ मा ५ लाख ३६ हजार पर्यटकमात्रै नेपाल भित्रिएका थिए।

सन् २०१४ मा पर्यटक आगमनको संख्या भने झन्डै ८ लाख थियो। सरकारले सन् २०१६ मा ८ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो। सरकारी लक्ष्यमा पुग्न नसके पनि आगमन बढ्दै गइरहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ। गत वर्षको तुलनामा यस वर्ष झन्डै २ लाख बढी पर्यटक भित्रिएका छन्।

सन् २०१७ मा पर्यटक आगमनमा वृद्धि हुने अनुमान गरिएको छ। पर्यटक आगमन बढ्दै गइरहेको अध्यागमन विभागका अधिकृत कृष्ण सापकोटाले बताउनुभयो।‘हाम्रो आँकडा हेर्दा विस्तारै पर्यटक आगमनमा वृद्धि भइरहेको छ। आउँदा वर्षमा आगमनको संख्या बढ्ने आशा गर्नस किन्छ,।’ सापकोटाले भन्नुभयो।

उहाँका अनुसार भारतमा पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लागेपछि पछिल्ला दुई महिनायता नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको छ। ‘भारतले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाउँदा नेपाली पर्यटन प्रभावित छ,’ होटल एसोसिएसन अफनेपाल (हान) का महासचिव बिनायक शाहले बताउनुभयो। उहाँले भन्नुभयो–‘भारु नोट प्रतिबन्धको समयमा नै नेपालमा भारतीय पर्यटकको आगमन बढी हुने समय पनि हो।’ उहाँका अनुसार भारु प्रतिबन्धको प्रत्यक्ष असर होटल व्यवसाय र क्यासिनोमा समेत देखिएको छ।

अध्यागमन विभागको आंँकडा अनुसार नेपाल घुम्न आउने पर्यटकमा भारतीयको संख्या उल्लेख्य छ। सन् २०१६ मा भारतबाट मात्रै १ लाख १८ हजार २४९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। चीनबाट ८० हजार ५५८ जना पर्यटक आएका छन्। यो तथ्यांक हेर्दा नेपालमा सबैभन्दा बढी छिमेकी मुलुक भारत र चीनबाट पर्यटक आएको देखिन्छ। केरङ नाकाबाट १६२१ जना पर्यटक नेपाल आएका थिए।

भारतले नोभेम्बर ९ तारिखबाट भारु पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली पर्यटनमा क्षेत्रमा भारतीय पर्यटक घट्दै गएको देखिन्छ। पछिल्लो समयमा चिनियाँ र भारतीयहरू उलेख्य संख्यामा भ्रमणमा निस्किने गरेको देखिन्छ।विश्वमा सबैभन्दा बढी पर्यटक घुम्न निस्किने मुलुकमा चीन पर्छ।

यसैगरी सन् २०१६ मा श्रीलंकाबाट ५७ हजार ५२१ जना र अमेरिकाबाट ५३ हजार ६४५ पर्यटक नेपाल भ्रमणमा आएका छन्। बेलायतबाट ४६ हजार २९५ जना नेपाल आउँदा थाइल्यान्डबाट २६ हजार २९५ जना सन् २०१६ मा नेपाल घुम्न आएका छन्। तथ्यांक अनुसार सबैभन्दा कम चिलीबाट ९८४ जना नेपाल घुम्न आएका छन्। वर्षको अन्तिम महिना नोभेम्बर र डिसेम्बरमा भने पर्यटनका आगमनमा वृद्धि भएको देखिन्छ। सन् २०१६ को पर्यटक आगमनलाई मध्यम भन्न सकिने पर्यटन व्यवसायीहरू बताउँछन्। सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गरेको छ। यो संख्यामा पर्यटन भित्र्याउन नेपाल पर्यटन बोर्डले धेरै प्रचार प्रसारमा जोड दिनुपर्ने पर्यटक व्यवसायीको सुझाव छ। आगमन बढाउनकै लागि २०१७ लाई युरोपका देशमा नेपाल घुम्ने वर्षको अभियान शुरू भइसकेको बोर्डले जनाएको छ। यसले पनि पर्यटक आगमनमा केही वृद्धि आउने आशा गर्न सकिने ठाउँ रहेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्