आरोपीद्वारा आत्महत्या



विदुर गिरी, काठमाडौं
हालसम्मकै सबै व्यापारिक रेकर्ड तोड्न सफल फिल्म छक्का पन्जा पाइरेसीका आरोपीमध्येका एक जनाले आत्महत्या गरेका छन्। भीमसेनगोलाको विजयचोकमा बस्दै आएका नवलपरासीका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार राति आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार सुवेदीले आफ्नो डेराको फ्यानको सिलिङमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन्।

प्रहरीले जनाएअनुसार सुवेदीले लेखेको सुसाइड नोटमा उनको आत्महत्यामा कसैलाई दोष नदिन भनिएको छ। उनले त्यसमा बैंकमा रहेको एक लाख रुपियाँ बहिनीलाई दिनू पनि भनेका छन्। तर छक्का पञ्जा पाइरेसीका बारेमा लागेको आरोपबारे उल्लेख गरेका छैनन्। प्रहरीका अनुसार अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले सुवेदीसहित चार जनालाई बयान लिएको थियो।

घटना अनुसार कुवेतबाट कसैलाई छक्का पन्जाका निर्माता तथा कलाकारमध्येका एक दीपकराज गिरीलाई फेसबुक मेसेन्जरबाट तपाईंको फिल्म यसरी लिक भइरहेको छ भनेर जानकारी गराएपछि उनी सोही फिल्मको प्रदर्शनका लागि युरोप उड्नु अघिल्लो दिन युट्युब र ओभरसिज राइट्स लिएको हाइलाइट्स नेपालका ओम गुरुङका साथ उजुरी लिएर प्रहरीकहाँ पुगेका थिए। गुगल ड्राइभमा शेयर गरिएको लिंकका आधारमा पछ्याउँदै जाँदा सो कार्य सुवेदीले गरेको तथ्य पत्ता लागेको थियो। प्रहरीका अनुसार छक्का पञ्जाकै एक कलाकारले केहीअघि एक च्यारिटी शोका लागि हार्ड डिस्कमा राखिएको फिल्म खुल्छ या खुल्दैन भनेर छोरालाई चेक गराउने क्रममा सो फिल्म लिक भएको थियो। ‘उनले आफूसँग छक्का पञ्जा भएको साथीलाई भनेका रहेछन्।

साथीसँग विदेशी फिल्मको कलेक्सन रहेछ। एक अर्कासँग फिल्म शेयर गर्ने क्रममा छक्का पन्जा एकबाट अर्कोको हातमा पुगेको रहेछ’, प्रहरी स्रोतले भन्यो– ‘गुगल ड्राइभबाट अमेरिकासम्म शेयर भएको पाइएपछि प्रहरीले त्यो हटाउन लगायौं। छोराको इन्टेन्सन खराब थिएन। उसलाई कारबाही गर्न फिल्मको टिमले रुचि देखाएन। उसलाई कारबाही नगरेपछि अरूलाई मात्र कारबाही गर्ने कुरा पनि भएन।’ महानगरीय अपराध महाशाखा प्रमुख सवेन्द्र खनालका अनुसार दुवै पक्षसँगको छलफलपछि मिलापत्र गरेर पठाइएको थियो। मिलापत्रपछि प्रहरीले सुवेदीसहित ४ जनालाई गत आइतबारसम्म तारेखमा राखेको थियो। आइतबार तारेखबाट छुट्कारा पाएपछि तथा ल्यापटप मोबाइलसहितका सामग्री फिर्ता पाएपछि गाउँ गएर ३ दिन बसी बिहीबार मात्र फर्किएका थिए। फर्किएकै दिन छक्का पन्जाका निर्मातामध्येका एक सुमन गिरीका अनुसार फिल्म दुईपटकसम्म पाइरेसी भएपछि युट्युबमार्पmत सार्वजनिक गरिएको छ। ‘शुरुमा काठमाडौंंस्थित अष्टनारायण हलको कोड हालेको प्रिन्ट लिक भएको थियो। त्यस सन्दर्भमा प्रहरीले सुवेदीसहित ४ जनालाई पक्राउ गरी सोधपुछ गरेको थियो र अष्टनारायणको प्रिन्ट लिक गर्ने सुवेदीलाई त्यो लिंक हटाउन लगाएको थियो।

उसले अमेरिकाको साथीलाई पनि शेयर गरेपछि प्रहरीको निर्देशनमा प्रहरीकै अगाडि त्यो हटाउन लगाइएको थियो। सबैतिरबाट लिंक हटाइएकाले त्यति बेला फिल्म भाइरल हुन पाएको थिएन’, सुमनले नेपाल समाचारपत्रसँग भने– ‘तर पछि अस्ट्रेलियाका लागि पठाइएको प्रिन्ट मलेसियाबाट अपलोड भएको देखिएको छ। त्यो लिक भएपछि अष्टनारायण र अस्ट्रेलिया कोडका दुवै फिल्म भाइरल भएका छन्।’ उनका अनुसार फिल्म पाइरेसी भएपछि आर्थिक नोक्सानी ओभरसिज र युट्युब राइट्स लिएको हाइलाइट्स नेपालका साथै छक्का पन्जा टिमलाई पनि पर्ने भएको छ। ‘हाइलाइट्सलाई ५० लाख रुपियाँमा राइट्स दिइएको हो। तर विदेशमा भएका शोको आम्दानीको ५०÷५० प्रतिशत बाँडफाँड गर्ने सम्झौता भएको थियो। फिल्म लिक भएपछि दुवै पक्षले ठूलो नोक्सानी बेहोर्नुपर्ने भएको छ’, सुमनको भनाइ छ– ‘फिल्म होल इन्डिया लगाउने गरी सेन्सर गरिएको थियो। मलेसिया, बहराइन, दुबई, कतार, थाइल्यान्डका लागि राइट्स बेचेका थियौं। दुबई र कतारमा शो भए पनि बाँकी १८ शो रद्द भएको छ। राइट्स किन्नेले हामीसँग क्लेम गरिरहनुभएको छ। पाइरेसीकै कारण गंगा, गुण र गोपीकृष्ण हलमा बिहीबारसम्म चलिरहेको फिल्म शुक्रबारबाट हटेको छ।’

देशभित्र अपार सफलता पाएपछि देशबाहिर प्रदर्शन भइरहेको फिल्म अचानक पाइरेसी भई बाहिर आएपछि यसलाई औपचारिकरूपमै युट्युबबाट सार्वजनिक गरिएको हो। ‘छक्का पन्जा पाइरेसीको चपेटामा परेको छ। फिल्म लिएर युरोप आएका हामी भ्रमण छोट्याउँदै छौं। थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी थियो। केही व्यक्तिहरू प्रहरीको फन्दामा पनि छन्’, छक्का पन्जा प्रदर्शनका लागि युरोपमा रहेका फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्– ‘चलचित्र वा अन्य सृजनात्मक कृतिहरू अरूको सम्पत्ति हो। यो प्राप्त भए पनि फेसबुकमा शेयर गर्नु अपराध हो भन्ने कुरा नबुझ्नेहरू समस्यामा पर्न सक्छन्।’ दीपकको यो स्ट्याटससँगै छक्का पन्जा युट्युबमार्पmत औपचारिकरूपमै सार्वजनिकसमेत भइसकेको छ। बिहीबार छक्का पन्जा अललाइन र स्मार्ट फोनहरूमा छाएपछि यसको युट्युब र ओभरसिज राइट्स लिएको हाइलाइटस् नेपालले शुक्रबार बिहानै आधिकारिक रिलिज युट्युबबाट सार्वजनिक गरेको हो।

हाइलाइट्स नेपालका ओम गुरुङले अस्ट्रेलियाका लागि पठाएको प्रिन्ट मलेसियामा बस्ने एकजनाले फेसबुकमा राखिदिएको र पाइरेसी कताबाट भयो भन्ने अनुसन्धान भइरहेको जानकारी गराएका छन्। फिल्म बेचेर पैसा लिइसकेका विदेशका साथीहरूलाई अर्को फिल्मबाट हिसाब मिलान गर्ने जानकारी गराइसकेको दाबी पनि उनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्