अवैध सम्पत्तिको धन्दा बढेको छः अर्थमन्त्री



धन बस्नेत, पोखरा
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राज्यसत्ता भन्दा पनि अपराध ठूलो हुँदैं गएको बताउनु भएको छ। उहाँले अपराध अझै बढ्दै गए सत्ता नै किनिदिने उल्लेख गर्दै अपराध नियन्त्रण गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

‘राज्य सत्ता कमजोर हुँदा अपराध बढ्दै जान्छ।’ अर्थमन्त्री महराले पोखरामा शुक्रबार अर्थ मन्त्रालयद्वारा आयोजित बजेट राजस्व नीति तथा कार्यक्रम र सम्पति शुद्धीकरण विषयक छलफलमा सम्बोधन गर्दै भन्नुभयो–‘राज्य अग्रगामी बन्न नसक्दा अपराध मौलाउन थाल्छ। त्यसको नियन्त्रणमा ध्यान दिनुपर्छ।’

अपराध राज्यभन्दा ठूलो भएकाले पनि अपराधिक गतिविधि बढेको उहाँको भनाइ थियो। तस्करीको सुन समातिएको प्रशंग उठाउँदै मन्त्री महराले अपराध भइसकेपछि नियन्त्रण गर्न हरप्रयास गरिरहने भन्दै अपराध हुनबाट जोगिन र जोगाउनतर्फ सचेत बन्नुपर्ने खाँचो औंल्याउनुभयो। सुन तस्करीमा आफनो नाम जोडिएको विषयमा अर्थमन्त्री महराले भन्नुभयो–‘अवैध सम्पत्तिको धन्दा बढिरहेको छ। अनुसन्धान भइरहेको छ। त्यसमा धेरै ठूला माछा छन्। हामी त भुरा हौं।’
उहाँले राज्य शक्तिशाली बनाउन जनस्तरबाट सहयोगी भावनाको विकास हुनुपर्नेमा जोड दिनुभयो। राज्यलाई शक्तिशाली बनाउन कर तिर्नुपर्ने उल्लेख गर्नुभयो। ‘हामीले कर तिर्नुपर्छ, राज्य बलियो हुनुपर्छ भन्ने भावना जगाउनुपर्छ।’ उहाँले भन्नुभयो–‘करको दायरामा सबै जनता आए राज्य स्वतः शक्तिशाली हुन्छ।’ राज्यलाई बलियो बनाउने अभियानमा निजी क्षेत्रलाई प्रोत्साहनसमेत सरकारले गर्नुपर्ने उल्लेख गर्नुभयो।

राज्यले नियन्त्रण नभई नियमन गर्ने निकाय भएको उल्लेख गर्दै निजी क्षेत्रलाई नियन्त्रणको नाममा दबाब दिए अपराध मौलाउने अर्थमन्त्री महराले भनाइ थियो। ‘निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै विकास निर्माण अघि बढ्छ।’ उहाँले भन्नुभयो–‘निजी क्षेत्र, व्यवसायी तथा राज्य एकैठाउँमा आउनुपर्छ।’
अर्थमन्त्री महराले विकासलाई अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी मोडलमा जानुपर्ने बताउनुभयो। ‘एउटा क्षेत्रमा ठूलो लगानी गरौं।’ उहाँले भन्नुभयो–‘त्यसपछि अर्को क्षेत्रमा लगानी गर्दा प्रतिफल पनि आउँछ।’ उहाँको भनाइ अनुसार एक वर्षको बजेट सडक निर्माण, अर्को वर्षको जलविद्युत् उत्पादन, तेस्रो वर्ष पर्यटन क्षेत्रमा खर्च गर्दै विकास मोडलमा जानुपर्छ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरालाई उज्यालो शहर बनाउने अभियानअन्तर्गत चीनले दिने सौर्य सडक बत्ति सहयोगलाई सरकारले भन्सार छुट दिएको प्रति खुशी व्यक्त गर्नुभयो। उहाँले उद्योग र उद्योगीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न भन्सार छुटको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो। ‘बैक व्याज तथा विद्युत महशुलमा सहुलियत दिनुपर्छ।’
छलफलमा अर्थ मन्त्रालय अन्तर्गत सम्पत्ति शुद्धीकरण आयोगका महानिर्देशक जीवनप्रकाश सिटौलाले बजारमा बढ्दै गएको अवैध पैसाले अपराध सिर्जना गरेको बताउनुभयो। ‘डर्टी मनि ब्ल्याक हुदैं ह्वाईट मनिमा परिणत गर्दै गएका छन्।’

उहाँले भन्नुभयो–‘त्यसले गर्दा अपराध मौलाउने गरेको छ।’ उहाँले अपराधलाई पैसा तिरेर उन्मुक्ति दिन नहुने जिकिर गर्नुभयो। छलफलमा अर्थ मन्त्रालयका सचिव, सहसचिव लगायत पोखरा तथा आसपासका उद्योगी व्यवसायी एवं उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्