अर्ना लिन कोसीटप्पु जाने तयारी



चितवन, २९ पुस / कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार माघ ४ गते प्राविधिक र दक्ष कामदार त्यसतर्फ जाने भएका हुन् ।

निकुञ्ज विभागका उपमहानिर्देशकको उपस्थितिमा अर्ना स्थानान्तरण सम्बन्धी अन्तिम बैठक सम्पन्न भएको बताउँदै उहाँले कोसीबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका पाँचवटा हात्तीमध्ये दुईवटा पठाइसकिएकाले अर्ना नियन्त्रणमा लिन त्यहीँका हात्ती परिचालन गरिनेछ । डार्ट गरेर बेहोस बनाई ल्याउनुपर्ने भएकाले चितवन राष्ट्रिय निकुञ्जबाट वरिष्ठ पशु चिकित्सकसहित १५ जनाको टोली त्यसतर्फ जाने तयारीमा छ ।

बेहोस बनाएपछि अर्नालाई खोरमा राखेर ल्याइनेछ । यसअघि गैँडा स्थानान्तरणका लागि बनाइएको एउटा खोर र अर्नाका लागि हालै बनाइएको दुईवटा खोर गरी तीनवटा खोर अर्ना पहिलो चरणमा ल्याउने तयारी गरिएको कँडेलले बताउनुभयो । चार देखि ६ वर्ष उमेर समूहका अर्ध वयस्क अर्ना ल्याइँदैछ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर इन्क्लोजर निर्माण कार्य सम्पन्न भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर छ फिट अग्लो खोर बनाइएको उहाँले बताउनुभयो ।

खोरमा वरिपरि सोलार ९ विद्युतीय० फेन्सिङ गरिएको छ जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । अर्नाको सबैभन्दा ठूलो शत्रु बाघ हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले बथानमा परिणत नभएसम्म अर्नालाई खोरमै राख्ने तयारी गरिएको छ ।

बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको कँडेलले बताउनुभयो । बाघबाट बचाउनका लागि पनि विद्युतीय तारबार प्रभावकारी हुने ठानिएको छ ।

खोरसम्म जानका लागि सौराहाबाट ६ किलोमिटर र कसराबाट २० किलोमिटर दूरी पार गर्नुपर्छ । सो स्थानसम्म जाने बाटोसमेत मर्मत गरिएको कँडेलले बताउनुभयो । खोर नजिक मचान रहेको छ । सोही मचानमा रहेर अर्नाको अनुगमन गरिने पनि कँडेलले बताउनुभयो ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट पाँचभाले र १५ वटा पोथी अर्ना ल्याउन लागिएको हो । सदर चिडियाखानामा रहेका दुई अर्ना पनि यहाँ ल्याइँदैछ । अर्नापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पाँच भाले र २० वटा पोथी बाह्रसिङ्गे पनि ल्याइने भएको छ ।

इन्क्लोजरभित्र चारसय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसेमैदान हो । एकै ठाउँमा रहेका वन्यजन्तु अर्को ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने हुँदा निकुञ्ज विभागले देशका विभिन्न राष्ट्रिय निकुञ्ज र आरक्षबाट वन्यजन्तु स्थानान्तरण गर्दै आइएको छ ।

गत वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, हात्ती लगायतका जनावर हेर्न बर्सेनि दुई लाख हाराहारीमा पर्यटक आउने गर्दछन् । रासस
––––––

प्रतिक्रिया दिनुहोस्