समकारक महसुलसम्बन्धी सवाल



(डा. सुमनकुमार रेग्मी) नेपालमा आयात हुने वस्तु सो वस्तु उत्पादन भएको मुलुकमा बिक्री हुने सामान्य मूल्यभन्दा कम मूल्यमा बिक्री हुन नदिने र अनुदानप्राप्त वस्तुहरूको आयातबाट नेपालका स्वदेशी उद्योगहरूलाई संरक्षण दिने सम्बन्धमा समकारक महसुलसम्बन्धी विधेयक कानुन बनाउन उपयुक्त हुन्छ । डम्प गरिएका वस्तु भन्नाले जुन देशबाट नेपालमा वस्तु आयात गरिएको हो सो मुलुकमा सो वस्तु बिक्री हुने सामान्य मूल्यभन्दा कम मूल्यमा नेपालभित्र आयात गरिएका वस्तु सम्झिने गरिएको छ ।

डम्पिङ मार्जिन भन्नाले वस्तुको निर्यात मूल्य र सामान्य मूल्यबीचको फरक सम्झनुपर्छ । स्वदेशी उद्योग भन्नाले जुन मुलुकबाट वस्तु आयात भएको हो सो वस्तुसँग मिल्दोजुल्दो वा समान खालको वस्तु उत्पादन गर्ने नेपाली उत्पादनकर्ता सम्झनुपर्छ र वस्तुको सामूहिक उत्पादनबाट नेपालको कुल आन्तरिक उत्पादनको अधिकांश उत्पादन ओगट्ने उत्पादनको उत्पादकलाई समेत जनाउँछ तर त्यस्ता उत्पादकमा त्यस्ता वस्तुको आयातकर्तासमेत रहेछन् भने त्यस्ता आयातकर्तालाई जनाउनेछैन ।

एन्टी डम्पिङ महसुल, अनुदान, समकारक महसुल, सामान्य मूल्य, निर्यात मूल्य, निर्यातमूलक, तोकिए बमोजिमका अन्य शब्द समकारक महसुलका प्राविधिक शब्द हुन् । समान प्रकृतिका वस्तु भन्नाले नेपालमा डम्प गरिएको वस्तु वा जुन मुलुकबाट वस्तु आयात गरिएको हो सो मुलुकमा अनुदानबाट उत्पादन भएका वस्तु आयात गरिएको हो । सो मुलुकमा अनुदानबाट उत्पादन भएका वस्तु वा उत्पादनसँग समान वा मिल्दोजुल्दो वस्तु र यसको प्रकृति पूर्णरुपमा अर्कोसँग समान नभए पनि अनुसन्धानमा रहेका वस्तुसँग नजिक रहेका वस्तु सम्झनुपर्छ ।

महसुल लगाउन सक्ने, अन्तरिम महसुल लगाउन सकिने, अतिरितm महसुलको रुपमा महसुल लाग्ने, महसुल यकिन गर्नुपर्ने, महसुल निर्धारण गरी असुल गर्न सक्ने, अनुसन्धान स्थगन वा रद्द गर्न सक्ने, बढी महसुल फिर्ता गर्नुपर्ने, प्रावधान लागू नगर्न सक्ने, महसुल लगाइने समय, आवश्यक भएसम्म महसुल लागू हुने, प्रभाव नियन्त्रण गर्नको लागि महसुल लागू हुने, महसुल पुनरवलोकन गर्नुपर्ने र महसुल नलाग्ने पार्न नेपाल सरकारले निर्णय गर्नेछ ।

नेपालमा आयात गरिएको कुनै पनि वस्तुका विषयमा अनुसन्धान गरी उल्लिखित कसुर ठहर गरेमा नेपाल सरकारले त्यस्तो वस्तुमा एन्टी डम्पिङ वा समकारक महसुल लगाउन सक्नेछ । अनुसन्धानका आधारमा कुनै वस्तुमा महसुल लगाउने भएमा त्यस्तो वस्तुमा महसुल प्रचलित अन्य कानुनबमोजिम लाग्ने प्रचलित महसुलको अतिरितm प्रावधानबमोजिमको महसुल लाग्नेछ ।

महसुलको रकम डम्पिङ वा अनुदान मार्जिन वा हानि–नोक्सानीको मार्जिनमध्ये जुन कम हुन्छ सो मार्जिन महसुल निर्धारणको प्रयोजनको लागि यकिन गर्नुपर्छ । तर हानि–नोक्सानीको मार्जिन भन्नाले तोकिएबमोजिम हिसाब गरिएको मार्जिन सम्झनुपर्छ । डम्प गरिएका वा अनुदान प्राप्त वस्तुमा डम्पिङ वा अनुदान मार्जिनमा नबढ्ने गरी नेपाल सरकारले प्रतिवेदनअनुसार अन्तिम एन्टी डम्पिङ वा समकारक महसुल निर्धारण गर्न सक्नेछ ।

कुनै विदेशी वस्तु नेपालमा डम्प भएको वा सो वस्तुमा अनुदान दिइएको र सोबाट स्वदेशी उद्योगलाई हानि नोक्सानी पुगेको प्रतिवेदन प्राप्त भएपछि त्यस्तो वस्तुको निर्यातकर्ता वा निर्यातक मुलुकको सरकारले नेपालमा त्यस्तो वस्तु डम्प नगर्ने वा अनुदान दिइएको मूल्यमा नपठाउने वा डम्प वा अनुसन्धानबाट पर्ने हानि नोक्सानीको प्रभावलाई हटाउने गरी मूल्य संशोधन गर्न सहमति जनाएमा र सो सहमतिमा सन्तुष्ट भएमा त्यस्तो वस्तुमा महसुल नलगाउने सिफारिस नेपाल सरकारसमक्ष गर्न सकिनेछ ।

राष्ट्रिय हितको लागि महसुल लागू नगर्न उपयुक्त देखिएमा तोकिएबमोजिम तोकिएको अवधिको लागि महसुल लागू नगर्न सकिनेछ । नेपालभित्र प्रवेश गरेका वस्तुमा अन्तरिम प्रावधानहरू र एन्टी डम्पिङ वा समकारक महसुलहरू लगाइनेछ । तर एन्टी डम्पिङ वा समकारक महसुलको प्रभाव कम हुने गरी आयातीत वस्तुको मौज्दातमा तीव्र वृद्धि भएमा निश्चित समयका लागि भूतलक्षित प्रभावको निर्णय लिन कुनै बाधा हुनेछैन । आवश्यकताअनुसार नेपाल सरकारको अन्य निकाय र पदाधिकारी तथा नेपाल सरकारको सेवामा आबद्ध नरहेका विशेषज्ञको समेत सहयोग लिई समकारक महसुलका उद्देश्यहरू कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।

(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्