कर्मचारीलाई कम काम गराउने उपाय सोचिँदै



टोकियो, (एजेन्सी)
जापानमा अधिक श्रमको कारण मानिसहरूको मृत्यु हुने समस्या यति पुरानो भइसके कि यसका लागि आफ्नै शब्द ‘कारोसी’ पनि तयार भइसकेको छ। अब आएर जापान सरकार स्वयम् र व्यापार कम्पनीहरूले आफ्ना कामदारलाई तिनीहरूको जीवनको ख्याल गर्दै महिनाको एक दिन कामबाट छिटो छुट्टी दिने सानो प्रयासको थालनी गरेका छन्। यस योजनालाई ‘प्रिमियम फ्राइडे’ को संज्ञा दिइएको छ। जस अनुसार कम्पनीहरूले आगामी फेब्रुअरीदेखि लागू हुने गरी महिनाको अन्तिम शुक्रबार आफ्ना कर्मचारीहरूलाई अपरान्ह ३ बजे नै घर जान दिने भएका छन्। जापानको एउटा ठूलो विज्ञापन एजेन्सी देन्त्सुमा महिनाको १ सयभन्दा बढी घन्टा ओभरटाइम गर्दै आएकी एक महिलाले हालै अचानक आत्महत्या गरेपछि यो नीति लागू गर्नेबारे सोच्न सरकार निजी निकाय बाध्य भएका हुन्। ती महिलाको मृत्युलाई ‘कोरोसी’ सँग जोडेर हेरिएको छ।

यस सम्बनधमा अनुसन्धान पनि हुँदै छ। यो जापानको अति धेरै काम गर्ने संस्कृतिको दुष्परिणाम हो। उनी काम गर्ने कम्पनीको प्रमुख कार्यकारिणी अधिकारीले राजीनामा दिने भएका छन्। वर्षेनी करिब २ हजार जना व्यक्तिको अधिक कामको कारणले नै मृत्यु हुने गरेको छ। तर अब यो स्वैच्छिक छुट्टी योजनाले मानिसको प्रवृत्ति परिवर्तनमा केही न केही परिवर्तन ल्याउने आशा गरिएको छ। तर कतिवटा कम्पनीले यो नियम लागू गर्लान् भन्ने स्पष्ट हुन सकेको छैन।

अधिक कामको कारण कुनै समस्या सिर्जना भएको र त्यसको विरुद्ध केही कदम चाल्न लागेको यो पहिलो घटना भने होइन। यसअघि पनि सरकारले कर्मचारीहरूलाई आफ्नो हकमा रहेको बिदा बढीभन्दा बढी प्रयोग गर्न आग्रह गर्ने गरेको थियो। तर जापानको श्रम मन्त्रालयले तिनीहरूले करिब आधा बिदा मात्र उपभोग गर्ने गरेको जनाएको छ। यस वर्ष जापानमा सार्वजनिक बिदा बढाएर १६ दिन पुर्याइएको छ।

यसको अलावा सरकारले कर्मचारीहरलाई गृष्मकालमा काम चाँडो शुरू गरी चाँडै घर जाने कार्यक्रम ल्याउनुका साथै केही कार्यालयमा राति अबेर बत्तीसमेत निभाउने गरेको थियो। देन्त्सुले पनि अधिक कामविरुद्ध केही कार्यक्रम ल्याउने प्रयास गर्दै छ। अहिले समयमै काम सकाएर घर जाने कामदारहरको संख्या बढ्दै छ। यसका लागि सामाजिक सञ्जालमार्फत पनि आह्वान गरिने गरिएको छ।

सन् २०१४ को तथ्यांकअनुसार कुल जनसंख्याको करिब २२ प्रतिशतले एक सातामा ४९ घन्टा भन्दा बढी काम गर्ने गरेका थिए। दाइ इची लाइफ रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थविद् तोसिहिरो नागाहामाले शुक्रबार यसरी कर्मचारीहरूलाई दिउँसो तीन बजे छुट्टी दिइने हो भने निजी उपभोग १ अर्ब अमेरिकी डलरले वृद्धि हुने बीबीसीलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्