स्वारेजको सयौं गोलमा बार्सिलोना विजयी



लन्डन, (एजेन्सी)
उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले बार्सिलोना क्लबका तर्फबाट सयौं गोल पूरा गर्दा टोलीले कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको हो। दोस्रो लेगको उक्त खेलमा ३–१ को जित निकालेपछि बार्सिलोनाले समग्रमा ४–३ को अग्रतासँगै बिल्बाओलाई पछि पारेको थियो। यसअघि पहिलो लेगमा बार्सिलोनासँग बिल्बाओ २–१ ले जितेको थियो।

बार्सिलोनाका तर्फबाट खेलको ३५औं मिनेटमा स्वारेजले गोलको खाता खोलेका थिए। स्वारेजले बार्सिलोनामा प्रवेश गरेयता १ सय २० खेलमा आफ्नो गोल संख्या १ सय पुर्याएका थिए। सो क्लबका तर्फबाट १ सयौं गोल गर्ने खेलाडीहरूको सूचीमा उनी तेस्रो स्थानमा छन्।

यस्तै खेलको ४८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। त्यसको चार मिनेट नबित्दै एथ्लेटिकोले एक गोल फर्कायो। तर खेलको ७८औं मिनेटमा लियोनल मेसीले गोल गरेका थिए। डी बक्स बाहिरबाट गरेको सो गोल उनको करिअरमा ३१औं फ्रिकिक गोल थियो।

प्रतिक्रिया दिनुहोस्