सिमरा गोल्डकप माघ तेस्रो साता



बारा, (नेस)।
मोफसलको प्रमुख ठूला प्रतियोगिता मध्ये एक रुस्लान सिमरा गोल्डकपको आठौं संस्करण आगामी माघ महिनाको तेस्रो साताबाट बाराको सिमरामा सुरु हुने भएको छ । आयोजक नव जनजागृती युवा क्लबले माघ २० देखि २९ गतेसम्म प्रतियोगिता संचालन गर्ने भएको हो ।

प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब, बिभागिय टिम नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, सरस्वती युथ क्लबसहित ए डिभिजनका ५ र मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, उपबिजेता रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगन्ज युनाईटेड क्लब र आयोजक नव जागृति युवा क्लव समेत गरी १० टिमको सहभागिता रहने छ ।

गत वर्षको राष्टिय लिग विजेता थ्रि स्टार अर्को विभागिय टोली नेपाल पुलिस भने प्रतियोगितामा सहभागी नहुने भएका छन । सातौं स्मरणमा सहभागी हुने जानकारी गराएर पनि अन्तिम समयमा अनुपस्थित बनेको पुलिस र एएफसी पेसिडेन्ट कप खेल्न बन्चित बनेपछि क्षेतिपुर्तिको माग गर्दैै हाल एन्फासंग असन्तुष्ट बनेको थ्रि स्टारलाई आयोजकले आमन्त्रण नगरेपछि दुबै टिम यसपटक प्रतियोगिताबाट बन्चित भएका हुन ।

सातौं संस्करणसम्म मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रहेको सिमरा गोल्डकपमा यस बर्ष पुरस्कार राशीमा कुनै बृद्धि गरिएको छैन् । आयोजकले यसबर्ष पनि प्रतियोगिताको बिजेतालाई पाच लाख ५१ हजार दिने भएको छ ।
उपबिजेताले दुई लाख ५० हजार प्राप्त गर्नेछ । पुरस्कार राशी यथावत राखेको आयोजकले यो बर्षबाट प्रतेक खेलमा म्यान अफ दि म्याच बापत प्रति खेलाडी ५ हजार रुपैया र ट्फी पाउने भएका छन । क्लबका अध्यक्ष कासिम मियाले पुरस्कार राशी बृद्धि गर्नुभन्दा पनि उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार उलपब्ध गराउने निर्णय भएको बताए । ‘यो निर्णयले टिमसंगै खेलाडी पनि लाभान्वित हुने छन ।’ अध्यक्ष मियाले भने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई गत बर्षझै एक थान सुजुकी मोटरसाईकल प्रदान गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने छन् ।

आयोजकले यस बर्ष प्रत्येक खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । अफिसियल ब्रोडकास्टर रहेको डिस होम स्पोर्टस्ले खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको हो । आयोजकले गतबर्ष जस्तै यस वर्ष पनि बिक्री भएको टिकटको पाच प्रतिशत रकम वातावरण संरक्षणमा गर्न गरिने अध्यक्ष मियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्