समाचार प्रभावः विशाललाई एउटै व्यक्तिको एकलाख सहयोग



(ज्ञानमणि नेपाल कालोटोपी)/काभ्रे, २८ पुस ।

दुवै मृगौला पीडित काभ्रे चण्डेनीमण्डनका भाई विशाल नेपाललाई स्थानिय डेडीथुम्का उच्च माविका शिक्षक मधुसुदन नेपालले व्यक्तिगत रुपमा एकलाख सहयोग गर्नु भएको छ ।

यो व्यक्तिगत रुपमा अहिले सम्मकै ठूलो सहयोग हो । देश विदेशबाट उनलाई सहयोेग आउने क्रम जारि नै रहेका बेला बुधबार शिक्षक नेपालले विशालकै निवास पेप्सिकोला पुगेर उनलाई नगद १ लाख हस्तान्तरण गर्नु भएको हो ।

विशाल नेपालको लागि सहयोग गर्नेहरु वढ्दै गएका छन् । अहिले सम्म विभिन्न संस्था, सहकारी, स्कुल र देशविदेशका सहयोगी दाताहरुबाट करिव ७ लाख संकलन भइसकेको बताइएको छ । अस्पतालले १५ लाख लाग्ने भनेपछि अहिले यसरी उनलाई विशाल नेपाल बचाउ अभियान नै संचालन गरि सहयोग गर्नेहरु वढिरहेको अमेरिकामा रहेका अभियन्ता देवेन्द्र नेपालले बताए ।

यसैविच विगत १५ वर्ष देखि गाउँकै भिरबाट लडेर प्यारालाइसिसको विरामी हुनु भएका विशालका बुबा राजु नेपालले आफ्नै छोराका लािग मृगौला दान दिनु हुने भएको छ । अस्पतालले आफ्नै परिवारका सदस्यको मृगौला राख्न सके राम्रो हुने बताएपछि उहाँले छोराका लागि मृगौला दान दिन लाग्नु भएको हो ।

यद्यपी बुबाको मृगौला दिन मिल्ने वा नमिल्ने र रगत समुहको पहिचान भने अझै भएको छैन । यदि बुबाको मृगौला राख्न मिलेन भने प्रत्यारोपणका लागि भारत जानु पर्ने र खर्च त्यो भन्दा धेरै लाग्ने विशालले बताएका छन् ।

अहिले सम्म सहयोग गर्नुहुने संचारमाध्यमहरु, व्यक्ति, संघसंस्था लगायतलाई विशाल र उनको परिवारले धन्यवाद ज्ञापन गरेको छ । यो समाचार संचारमाध्यममा आएपछि सबैतिरबाट सहयोग संकलन हुन थालेको पारिवारिक स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्