व्यावसायीक मौरीपालनबाट बार्षिक २५ लाख कमाई



दुर्गाप्रसाद शर्मा पर्वत, २८ पुस ।

एक विकट गाउँका कृषकले मौरीपालन व्यावसायबाट बार्षिक कति कमाई होला ?  पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायीक मौरिपालनबाट बार्षिक रुपमा २५ लाख रुपैया भन्दा बढि आम्दानी गर्न सफल भएका हुन् ।

विगत डेढ दशकदेखि मौरीपालन व्यावसायमा हात हालेका खत्रीको परिवारमा अहिले झण्डै एक सय घार मौरी रहेका छन् ।

अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यावसाय शुरु गरेको खत्री परिवारले मौरीका घार, खाली घार र मह विक्रि गरेर यतिका धेरै आम्दानी गर्न सफल भएको हो । आफ्नै घर वरिपरीको पाँच रोपनी क्षेत्रफलमा व्यावसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन् । उनि धौलागिरि अञ्चलकै नमुना मौरीपालक कृषकहरुको रुपमा चिनिएका छन् ।

उनले उक्त उद्योगबाट बार्षिक रुपमा झण्डै ६ क्वीन्टल मह उत्पादन गरेर विक्रि गर्ने गर्दछन् । अहिले प्रतिकिलोग्राम महको मुल्य ७ सय ५० रुपैया रहेको छ ।त्यस्तै मौरी सहितको घारलाई ७ हजार रुपैया र खाली घार विक्रि गरेका प्रतिघार तीन हजारको दरले विक्रि गर्ने गरेका छन् ।  बार्षिक रुपमा १ सय देखि २ सय वटा सम्म विक्रि गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिए । वैदेशिक रोजगारीका लागि कतार पुगेका खत्री पनि गाउँमा जति कमाई गर्न नसकेपछि पुन घरमै फर्केर बाबुकै पेशा अँगालेर बसेका छन् ।

दश जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले पुरै मौरीपालन व्यावसायमा सक्रिय बनेका छन् । मौरीको हेरचाह गर्ने, घार निर्माण गर्ने, दाना खुवाउने र मह काड्ने कामले उनिहरुलाई भ्याईनभ्याई हुने गरेको छ । घरमै बसेर बार्षिक २५ लाख रुपैया सम्म आम्दानी हुन्छ किन बिदेश जानुप¥यो जीनबाबु भन्छन् अब यहि व्यावसायलाई आधुनिकिरण गरेर अझै बिस्तार गर्ने योजना रहेको छ ।

उनको व्यावसायका लागि जिल्ला कृषि विकास कार्यालयले समेत विभिन्न समयमा तालिम तथा प्राविधिक सहयोग र घार समेत दिने गरेको जीवनबाबुले बताए । आफ्नो उद्योगमा उत्पादित मह र घार गाउँमै र कुश्माबजार, बागलुङबजार तथा पोखरा सम्म पनि जाने गरेको उनले जानकारी दिए । उत्पादन भएदेखि बजारको कुनै समस्या छैन उनले भने ग्रामीण क्षेत्रका फुल र जडिबुटी खाएर बनेको मह भएकाले स्वस्थकर स्वादिलो पनि हुने गरेको उनको अनुभव छ ।

उनिहरुले प्रत्येक तीन तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको खत्रीले जानकारी दिए । एक पटकमा एक देखि डेढ क्वीन्टलसम्म मह उत्पादन हुने गरेको उनले जानकारी दिएका छन् ।

परिश्रम गर्ने हो भने जुनसुकै व्यावसायवाट पनि सफलता प्राप्त गर्न सकिदो रहेछ २७ वर्षिय जीवनबाबु खत्री भन्छन् यो व्यावसायबाट हाम्रो परिवार निकै सन्तुष्ट बनेको छ ।’ उक्त व्यावसायबाट भएको कमाईले उनिहरुले विभिन्न सहरबजारमा घरघडेरी समेत जोडिसकेको जानकारी दिएका छन् ।

मौरी मात्र हैन उक्त परिवारले गाउँमै माछा पालन समेत गरेको छ । दुई वटा पोखरीमा एक हजार पाँच वटा कमन, नैनी र ग्रास जातका माछा पालन गरेका छन् । त्यस्तै व्यावसायिक तरकारी र गोलभेडा खेती पनि गर्दै आएको बताएका छन् ।

विकट गाउँका बासिन्दालाई सेवा दिन उद्धेश्यले खाद्यान्न कुटनी पिसनी मिल समेत राखेको खत्रीले जानकारी दिए । आफ्नो परिवार मात्र नभई उनिहरुले अन्य चार जनालाई रोजगारी समेत दिएको बताएका छन् । कृषक खत्रीको परिवार अहिले जिल्लाकै नमुना बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्