डोटीमा रुघाखोकीले कान पाक्ने समस्या बढ्दै



(विमल विष्ट)/डोटी, २८ पुस ।

डोटी जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुमा कान पाक्ने समस्या बढ्न थालेको छ । रुघाखोकीले असर गरेर विद्यार्थीका कान पाक्ने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिश अवस्थीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘मौसम चिसो छ, रुगाखोकी सुरु भएको छ । त्यसैले विद्यार्थीहरुमा कान पाक्ने देखिएको छ ।’ जिल्ला स्वास्थ्यको समन्वयमा डोटीको दुई गाबिस लडागडा र पोखरीमा संञ्चालन गरिएको स्वास्थ्य शिविरमा कानको समस्या बढी भएका बिद्यार्थीहरु उपचारका लागि आएको समेत डाक्टर अवस्थीले बताउनु भयो ।

डाक्टर अवस्थीले थप भन्नु भयो ‘रुखाखोकीले कान र नाक संग जोडिएको यूस्टेचीन नली बन्द हुदा बानी बग्ने पीप आउने लक्षणहरु देखिन्छ, धेरै विद्यार्थीले यस्ता समस्या भएको दुखेसो गरे, यसका लागि चिसोबाट विद्यार्थीहरुलाई बचाउनु पर्छ ।’

लडागडा र पोखरीका १६ विद्यालयमा संञ्चालन गरिएको स्वास्थ्य शिविरमा ६६ विद्यार्थीहरु थप उपचारका लागि रिफर भएका थिए । रिफर भएका मध्ये २२ विद्यार्थी कान पाक्ने रोगका भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

स्वास्थ्य शिविर संञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको गुड नेभर इन्टरनेशनलका जिल्ला संयोजक देवेन्द्र भण्डारीले दुवै गाबिसका विद्यालयमा विपन्न समुदायका केही विद्यार्थीहरुलाई चिसोबाट जोगाउन न्यानो पोशाकहरु वितरण गर्दै आएपनि उनीहरुको कान पाक्ने समस्या समाधानका लागि बिशेष सतर्कता अपनाउन आगामी दिनमा सोच्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो ‘चिसो बाट जोगाउन त हामीले पहल चालेका छौ तर अर्को कान पाक्ने समस्या देखियो त्यसको लागि नयाँ योजना बनाउने तयारीमा छौ ।’ कठ्यांग्रिदो चिसोमा पनि विद्यालयको पठनपाठन हुँदा विद्यार्थीहरु चिसोबाट ग्रसित भएका छन् ।

किशोरावस्थाका विद्यार्थीहरु घरबाट पातलो सर्ट र पाइन्टमात्र लगाउने प्रबृती छ भने केही विद्यालयमा पर्याप्त पूर्वाधार तथा संरचना नहुँदा विद्यार्थीहरु खुला आकाशमुनि पढ्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्