वरिष्ठ पत्रकार उपाध्यायको अन्त्येष्टी



काठमाडौँ, २८ पुस । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले वरिष्ठ पत्रकार मणिराज उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै उहाँ चेतना र सूचनाका तपस्वी भएको बताउनुभएको छ ।

पशुपति आर्यघाटमा आज विहान गरिएको श्रद्धाञ्जलि कार्यक्रममा मन्त्री कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति उपाध्यायको गएराति हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गर्नुभयो ।

महासङ्घका पूर्वसभापति हरिहर विरहीले आफ्नो स्वाभिमान र मुलुकको हितमा कसैसँग उपाध्यायले सम्झौता नगरेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिनुभयो । उपाध्यायको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । रासस

प्रतिक्रिया दिनुहोस्