स्वस्थानी व्रत आजबाट सुरु



काठमाडौं, २८ पुस ।
आज बिहिबारबाट श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ ।

पौष शुक्ल पूर्णिमामा भन्न सुरु गरिने यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । आजैदेखि माघस्नान र अधिकांश घर घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।

पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत सुरु गरिन्छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गर्ने चलन रहेको छ । स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनि बालुवाको शिवलिङ्ग बनाई एक महिनासम्म निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ ।

यो विश्वास हाल पनि कायम राख्दै श्री स्वास्थानीको व्रत बस्ने गरेको पाईन्छ । शिव पार्वतीको विवाहपछि मनोकांक्षा सिद्ध हुने विश्वासका साथ स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने गरिएको हो ।

इहलोकमा सुख, सन्तोष, उन्नती तथा परलोकमा शिवलोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवं भक्तिभावपूर्वक व्रत बस्ने गरिन्छ । नुहाई धुवाई गरी एकचित्त बनी एक छाक चोखो खाएर ब्रत बस्ने चलन छ । आजैदेखि काठमाडौंको शाली नदीमा एक महिने मेला लाग्दछ ।

प्रतिक्रिया दिनुहोस्