३३ किलो सुन काण्डमा भन्सारका २ अधिकृत पक्राउ



काठमाडौं, २८ पुस ।
३३ किलो सुन काण्डमा  त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरु पक्राउ परेको छ। सुन तस्करीमा सघाएको आंशकामा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले विमानस्थल भन्सारका अधिकृतद्धय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो।

सुन तस्करहरुले उनीहरुसँग मिलेमतोमा सुन भित्र्याएको सिआइबीले आंशका गरेको छ। पक्राउ परेका भरियाहरुको वयानमा आधारमा सिआइबीले २ जना अधिकृत पक्राउ गरेको पुष्टि गरेको छ।

दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो । सो सुनसहित तीन जना भरियालाई सीआईबीको टोलीले गत बिहीबार पक्राउ गरेको थियो ।

त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि भन्सार विभागले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गरेको छ। सुन काण्डपछि विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

गत पुस २१ गते दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो। सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्