अनुमति बिना स्काभेटर प्रयोग गरी नदी जन्य उत्खनन् तीब्र



(उत्तम नेपाल)/ भद्रपुर, २८ पुस ।
जिल्ला विकास समिति झापाको लापारबाहीका कारण नदीजन्य उत्खनन कार्यमा ठेकेदारले विना अनुमति खोलामा स्काभेटर मेशिन प्रयोग गरेको पाईएको छ ।

झापाको धार्मिक एवं पर्यटकिय स्थल कनकाई नदीको पुलबाट पाँच सय मिटर भन्दा दक्षीणमा नदीजन्य पदार्थ उत्खनन गर्नको लागी जिविसले दिएको अनुमती सकिएको २ महिना पुग्न लाग्दा समेत ठेकेदारले स्काभेटर मेशिनको प्रयोग जारी राखेको हो ।

जिविस झापाले  कातिक ९ देखि ३० गतेसम्म सो क्षेत्रमा  मेशनको  प्रयोग गर्न श्री राज स. मिल इटहरी ८ सुनसरीलाई लिखित अनुमती दिएको जिवस झापाको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा स्थानीय विकास अधिकारी खेमराज ओझा र वातावरणविद् ज्ञानेन्द्र चौधरीले सहिछाप गरेका छन् । वातवरणमा असर नपर्ने गरि तथा आइ.ई.ई मा उल्लेखित स्थान तथा मापदण्ड बमोजिम को १ क १८०० नम्बरको मेशिनवाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमती दिएको पत्रमा उल्लेख भएपनी ठेकेदारले विना नम्बरको स्काभेटर मेशिन प्रयोग गरी मापदण्ड बिपरित उत्खनन गरेको पाइएको जिल्ला अनुगमन तथा समन्वय समितिका प्रविधिक एवं जिविसका वातावरणविद् चौधरीले बताए ।

पत्रको अवधी हुदा आफुले सवै क्षेत्रमा कडाई गरेको बताउदै पछिल्लो समय अनुगमन समितिको आदेशमा जाने गरेको उनको भनाई छ । आकस्मीक सेवा बाहेक विना अनुमती खोलामा मेशिन लगाउन नपाइने नियम रहेको उनले बताए । अनुमती लिएको स्थानमा ० दशमलब ५ को गहिराई हुनुपर्नेमा ढेड दशमलबसम्म गहिराई गरेको अनुगमनका क्रममा भेटिएकोले प्रतिवेदनको आधारमा कारवाही अघि बढाइने उनले बताए ।

जिविसले दिएको म्याद सकिएपनि काम नरोकेको  ठेकदार राजकुमार थापाले बताए । अर्को अनुमतीको लागी निवेदन हालीसकेको थापाको भनाई छ । खोलामा मेशिन हाल्न दिएपछि अनुमतीको कुनै औचित्य नभएको उनले बताए । जिविसले एक वर्ष भन्दै नौ महिना ठेक्का लगाउने अनि अर्को निकायले नियम विपरित भयो भनी अवरोध पुर्याएउन थालेपछि अलमलमा परेको उनको भनाई छ ।

कमिसन खान नपाएका हरुले उजुरी गरेको उनले बताए । निकायवाट यस्ता प्रकारको दुःख दिने हो भने ठेक्का तोड्नु भन्दा विकल्प अरु नभएको उनको भनाई छ । कनकाई नदीमा भएको अनाधिकृत उत्खनन रोक्का गरी पाउँ भनी शिवताक्षी ९ का समध्वज कार्की लगायत ४० जनाको हस्ताक्षरसहितको लिखित निवेदन जिल्ला प्रशासनमा परेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौलाले बताए ।

पुस १६ मा परेको उजुरीका आधारमा पुस २६ गते मेरो संयोजकत्वमा सम्बन्धित निकायको आकस्मिक निरीक्षणका क्रममा ठेकेदारको लापारवाही देखिएको सप्रजिअ निरौलाले बताए । कनकाई पुल र कनकाई सिंचाईलाई क्षतीहुने गरी काम गरेको फेला परेको उनले बताए ।

अनुगमनमा गएको प्रतिवेदनका आधारमा कारवाही अघि बढाइने उनको भनाई छ । झापामा देउनिया खोला बाहेक दश ओटाले मेशिन सञ्चालन गर्न पाउने भनिएता पनि प्रक्रिया पुर्याएर काम नगरेको पाइएको छ । ठेकेदारको दादागिरी सैलिले गर्दा काम गर्न गाह्रो भएको जिविसका कर्मचारीको गुनासो रहेको छ । राष्ट्रपति चुरे संरक्षणको कार्यक्रम देखावटी मात्र भएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्