पुनःनिर्माण प्राधिकरणका ज्ञवाली बर्खास्त, पोख्रेल नियुक्त



काठमाडौं, (नेस)।
अन्ततः सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई हटाएको छ । बुधबार बसेको मन्त्रिपरिष्दको बैठकले उहाँलाई हटाइएको छ ।

हटाए लगतै नेपाली काँग्रेसको प्रस्तावमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दपोखरेललाई नियुक्ती गरेको सूचना तथा सञ्चार मन्त्री राम(सुरेन्द्र) कार्कीले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

यस अघि स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारले पनि पोखरेललाई प्रमुख कार्यकारीमा नियुक्ती गरेको तत्कालीन सत्तासाझेदार दल नेकपा (एमाले) ले पुनःनिर्माण सम्बन्धी विधेयक पारित गर्न असहयोग गरेपछि त्यसले औपचारिकता पाएको थिएन । सरकारले दुई पटक स्पष्टिकरण लिएपछि कार्यकारी प्रमुख ज्ञवालीलाई हटाएको हो ।

ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ११ मा प्रमुख कार्यकारी अधिकृतको पदावधि पाँच वर्ष हुने उल्लेख छ। सरकारले प्राधिकरण प्रमुखको काम सन्तोषजनक नपाएमा पदबाट हटाउन सक्ने प्रावधान पनि सोही दफाको उपदफा ४ मा छ ।

तर उहाँलाई पदबाट हटाउनुभन्दा पहिले सफाई मौका दिनु पर्ने ऐनको व्यवस्था भएकोले सरकारले उहाँलाई स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्