अन्तर्राष्ट्रिय सम्मेलन शुरू जलवायुको समस्या नेपालको प्राथमिकतामाः राष्ट्रपति



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले जैविक विविधतामा आएको ह्रासले सम्पूर्ण विश्व नै आक्रान्त बनिरहेका बेला नेपालले जलवायु परिवर्तनको विश्वव्यापी समस्यासँग जुध्न उच्च प्राथमिकता दिएको बताउनुभएको छ।

जलवायु परिवर्तनको असर तथा आम मानिसको जीविकोपार्जनमा परिरहेको असरको सामना गर्दै नेपालले जलवायु अनुकूलका अभ्यास अनुसरण गरिरहेको उहाँको भनाइ रहेको छ। ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो विचार व्यक्त गर्नुभएको हो। नेपाल जैविक विविधतासम्बन्धी महासन्धि र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि दुवैको पक्ष राष्ट्र भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जलवायु परिवर्तनका नकारात्मक प्रभाव घटाउन नेपाल सक्रिय भूमिका खेल्न चाहन्छ।’

हिमाल, पहाड र तराईको फरक भूगोल र फरक वातावरण एउटै मुलुकभित्र पाइने भएकाले नेपाललाई विश्व विविधताको सूक्ष्मरूप मान्न सकिने राष्ट्रपति भण्डारीको भनाइ थियो। लोपोन्मुख जैविक प्रजातिहरूको शोध तथा संवद्र्धनमा पर्याप्त ध्यान दिई प्रकृतिले दिएको बहुमूल्य साझा सम्पत्तिलाई जोगाउनु सबैको कर्तव्य भएकोमा उहाँले जोड दिनुभयो। सम्मेलनमा करिब १ सय विदेशीसहित विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने २ सय ५० नेपाली सहभागी छन्। ३ सयभन्दा बढी कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, चीन, घाना, इथियोपियासहित सार्क राष्ट्रका सबै मुलुकको प्रतिनिधि सहभागी छन्।

जैविक विविधता, जलवायु परिवर्तन, कृषि, वनस्पति, पानीका स्रोत व्यवस्थापन, बालीनाली तथा वनस्पतिका मिचाहा प्रजातिको न्यूनीकरण, जीविकोपार्जनसँग जोडिएका विविध विषयबारे कार्यपत्र प्रस्तुत हुँदै छन्।

सम्मेलनमा राष्ट्रिय⁄अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित विज्ञ र अनुसन्धाताहरूले आफ्नो ज्ञान र अनुभव एक आपसमा बाँड्ने बताइएको छ। सम्मेलनको उद्घाटनको अवसरमा बोल्दै जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जलवायु परिवर्तनका असरले नेपालजस्ता विकासोन्मुख मुलुक बढी समस्यामा रहेको धारणा राख्नुभयो। जैविक विविधता संरक्षणका लागि वातावरणमैत्री विकास नीति लागू र स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का महानिर्देशक डा. डेभिड मोल्डन, अमेरिकी सहयोग नियोग (यूएसआईडी) नेपालका निर्देशक पिटर ए मल्नकलगायतले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विभिन्न मुलुकमा भएका अनुभव आदान–प्रदान गर्नुपर्ने धारणा राख्नुभएको थियो।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभाग, कृषि तथा वन विज्ञान विश्वविद्यालय, वातावरण मन्त्रालय, वन, विज्ञान, कृषि, पशुपक्षी विकास मन्त्रालयसहित अन्य स्वदेशी⁄विदेशी सरोकारवाला निकायको संयुक्त पहलमा सम्मेलन शुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्