पैसाका लागि खुकुरी प्रहार



कुमार श्रेष्ठ, बाँके
एमालेको भ्रातृ संगठन युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीलाई ‘सुपारी’ दिएर हत्या प्रयास भएको खुलासा भएको छ। बुढाथोकीलाई खुकुरी प्रहार गर्ने लक्ष्मण मल्लले ‘पैसाको लोभ’मा खुकुरी हानेको स्वीकार गरेपछि घटना अझ रहस्यमय बनेको हो। ‘पैसा दिन्छु भनेकाले खुकुरी हानें, पैसा पनि दिएका छैनन्’, मल्लको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो– ‘घटनालाई हेर्दा खुकुरी हाने पनि मल्ल तल्लोस्तरका अभियुक्त हुन्।’ ‘योजना बनाउने र पैसा लगानी गर्ने अरू नै छन्’, स्रोतले भन्यो– ‘मल्ल तेस्रो नम्बरको अभियुक्त हुन्।’ मल्ललाई कसले, कति पैसा दिन्छु भनेर खुकुरी हान्न लगाए भन्ने कुरा छिट्टै बाहिर आउने बताइएको छ। मल्ल कुनै राजनीतिक आस्था नभएका र पैसाका लागि जे पनि गर्ने आपराधिक मानसिकता बोकेका युवा भएको प्रहरीको बुझाइ छ।

पुस १४ गते कोहलपुरको विद्युत्रोडमा बुढाथोकीको गर्धनमा खुकुरी प्रहार गरेपछि मोटरसाइकलमा ढकेरी पुगेर एक रात त्यही बसी भोलिपल्ट बा१४च ४७९ नम्बरको कारमा काठमाडौं भागेका मल्ल २३ गते बालाजुमा पक्राउ गरेपछि खुकुरी काण्डको भित्री कुरा बाहिर आउन थालेको हो। इलाका प्रहरी कार्यालय, कोहलपुरले मंगलबार मल्ललाई सार्वजनिक गर्दै विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीले घटनासँग जोडेर कांग्रेसको भ्रातृ संगठन तरुण दलका क्षेत्रीय सभापति दिग्विजयजंग राणासहित १० जनालाई नियन्त्रणमा लिएको छ। तरुण दलले आइतबार र सोमबार बाँके बन्द गरेर रिहाइका लागि चर्को दबाब दिए पनि पछि नहटेको प्रहरीले बलियो प्रमाणका आधारमा राणालाई समातेको दाबी गरेको छ। बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले पत्रकार सम्मेलनमा भन्नुभयो– ‘बिनाप्रमाण, बिनाआधार प्रहरीले कसैलाई समात्दैन।’ यद्यपि, प्रहरीले राणालाई सार्वजनिक मुद्दा लगाएको छ।

मल्ललगायतलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ।
घटना भएको २५ मिनेटपछि थाहा पाएको प्रहरीले तत्काल नै टोली गठन गरेर चारैतिर खोजतलास गरेको थियो। ‘जिल्लाका सबै नाका मात्रै होइन, छिमेकी जिल्लामासमेत हुलिया पठाएर अभियुक्तको खोजी गरेका थियौं’, कोहलपुरका डीएसपी सुरेश काफ्लेले भन्नुभयो– ‘३ सय ७ जना प्रहरी परिचालन गरेर केही दिनमै मुख्य अभियुक्तबाहेक सहयोगीहरू समात्यौं।’ उहाँका अनुसार, प्रहरीले १७ गते घटनालगत्तै ढकेरीसम्म पुर्याउन प्रयोग गरिएको मोटरसाइकल, २१ गते ढकेरीमा खुकुरी, २३ गते बालाजुबाट मल्ललाई पक्राउ गरेको थियो। मल्ललाई भगाउन प्रयोग गरिएको कार पनि प्रहरीले कोहलपुरको शिक्षण अस्पताल परिसरबाट बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्