“मिस नेपाल” म्यान



(अशोक सिलवाल) कक्षा ४ का एक जना शिक्षकले विद्यार्थीहरूलाई सोधे– ‘भविष्यमा तिमीहरू के बन्ने ?’
‘मिस नेपाल’ –एउटी फुच्चीले भनी ।

यसरी मिस नेपालको प्रभाव देशका बच्चा–बच्चामा परेकोमा यसका सारथी गोपाल कक्षपती खुसी नहुने कुरै भएन । उनी आफ्ना चम्किला आँखाबाट त्यो खुसी व्यक्त गरिरहेका थिए ।

कसरी शुरु भयो मिस नेपाल ?

गोपाल व्यवसायसँगै सोसियल वर्कमा पनि सक्रिय थिए । उनी काठमान्डु जेसिजको सदस्य थिए । सन् १९९४ मा काठमान्डु जेसिजको सिल्भर जुब्ली थियो । त्यसका लागि सेलेब्रेसन कमिटीको उनी चेयरमेन बनाइए ।
‘सिल्भर जुब्लीलाई कसरी मनाउने ?’ –सोच्दै गर्दा मिस नेपालको नयाँ सोच आयो ।

त्यसका लागि त्यसबारे केही त जान्नै पर्यो । उनी मिस इन्डिया हेर्न बम्बै गए । मिस इन्डियाका आयोजकले यता गर्ने भनिएको मिस नेपालको व्यवस्थापनको पूरै काम उनीहरूले नै गरिदिने भए ।

काठमान्डु फर्केपछि एउटा सुन्दर बिहान गोपाल झस· भए । एउटा अप्रत्यासित उज्यालोले उनलाई गाइड गर्यो । आफैंले आफैंलाई प्रश्न गरे– ‘आफैं किन नगर्ने ?’

अहिले जस्तो युट्युवको जमाना थिएन । काठमान्डुमा पाइए जति मिस वल्र्ड र मिस युनिभर्सका भिडियो हेरे । त्यसपछि एफिलिएसनका लागि मिस एसिया प्यासिफकलाई चिठी लेखे । एफिलिएसन पाए पनि ।

कोरियोग्राफ, फेसन डिजाइन, लाइट एन्ड साउन्ड, स्टेज, एप्लिकेसन फर्म, स्पोन्सर आदि सब एक प्रकारले नयाँ कुरा थियो । तर, सबै व्यवस्थापन मिलाए । रोचक के भने मिस नेपालका लागि सबै कुरा जुटिसक्दा स्पोन्सरको कुनै अत्तोपत्तो थिएन । २ हप्ताअगाडि मात्र स्पोन्सरसिपका लागि सानमिगेल तयार भयो ।

मिस नेपालको अन्तिम रिहर्सल भयो । तर, कुनै कोणबाट पनि त्यो मिलेको थिएन । साउन्ड, लाइट र प्रस्तुति सबैमा कमजोरी थियो । साडे ४ बजे कार्यक्रम थियो । नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्यो । सन् १९९४ को त्यो दिन भगवान्को आर्शिवादले सबै राम्रो भयो ।

त्यसपछि उनको लेभल अफ कन्फिडेन्स ह्वात्तै बढ्यो । दोस्रो वर्ष पनि काठमान्डु जेसिजकै आयोजनामा मिस नेपाल भयो । तर, अगुवाइ उनको नभए पनि त्यसका लागि उनी पनि सक्रिय थिए । तेस्रो वर्ष उनी त्यसमा सक्रिय रहेनन् । सन् १९९५ को अन्त्यतिर सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिन गोपालले साथीहरूसँग मिलेर दि हिडेन ट्रेजर खोले । र, सन् १९९७ मा मिस वल्र्डसँग एफिलिएसन लिएर मिस नेपाल वल्र्ड गरे । काठमान्डु जेसिजले पनि चौथो पटक मिस नेपाल सम्पन्न गर्यो । तर, सहभागीहरूले त्यस पटक त्यसको स्तर निकै खस्केको अनुभव गरे ।

जेसिजले चौथो र दि हिडेन ट्रेजरले पहिलो सौन्दर्य प्रतियोगिता गरेपछि दुईटा गर्नुको सट्टा मिलेर एउटै भव्य प्रतियोगिता गर्ने सहमति भयो । १० वर्षसम्म संयुक्तरूपमा त्यसले निरन्तरता पनि पायो । तर, पछि त्यसको समग्र निरन्तरता उनैले दिए ।

भन्छन्– ‘हामी मुनाफामुखी नभई कार्यक्रममुखी हौं । तर, त्यसो भन्दैमा मुनाफा हुँदैहुँदैन भन्ने पनि होइन । मैले यसलाई सोसियल वर्ककै रूपमा लिएको छु ।’

दि हिडेन ट्रेजर खोलेको २२ वर्ष भयो । तर, कसैले एक पैसा घर लगेको छैन रे । गोपालका लागि दि हिडन ट्रेजर उनको जीवनको अभिन्न भाग हो । र, त्यसमा उनको आनन्द उच्च छ । आनन्दित हुँदै भन्छन्– ‘मिस नेपालमार्फत् हरेक वर्ष अन्तिम २० युवतीको जीवनमा जुन गुणात्मक रूपान्तरण हुन्छ, त्यो देख्दा प्राप्त हुने खुसीलाई म शब्दमा व्याख्या गर्न सक्दिनँ ।’

थप्छन्– ‘बाहिरबाट हेर्दा हरेक पटक यो वर्ष मिस नेपालको विजेता को होला वा भयो भन्ने कुरा महत्त्वपूर्ण होला तर यो यतिमै सीमित छैन । मिस नेपाल ग्ल्यामर र ट्रेनिङको योग हो ।’

तर, मिस नेपालका अभियन्ता गोपालको जीवनको योग मिस नेपाल मात्र होइन । उनका जीवनमा अनुभवका अनेक पत्र छन् । धेरैलाई लाग्न सक्छ उनी काठमान्डुका रैथाने हुन् । तर, उनी ११ मंसिर २०११ मा पाल्पाको तानसेनमा जन्मेका थिए । त्यो नेवारहरूको बाहुल्यता रहेको व्यापारिक स्थल थियो ।

उनी जीवनमा देश र विदेशका धेरै ठाउँ घुमे । बिहान चाँडो घाम लाग्ने र हावापानीको हिसाबले न गर्मी न जाडो तानसेन उनलाई धनकुटा, दार्जिलिङ, ग्यान्तोक वा सिक्किम जस्तै लाग्छ ।

उनको मामाघर काठमान्डुको झोंछे । बाबु व्यापारी थिए । उनीहरूको घर तानसेनमा मात्र होइन, बुटवलमा पनि थियो । मीन पचासको बिदामा बुटवल आउँथे । अलिमाथि रिडीतिर पनि उनको बाक्लै आवत–जावत हुन्थ्यो । एक प्रकारले भन्ने हो भने उनले घुमन्ते बाल्यकाल बिताए । पाँच कक्षा पुग्दासम्म ३ वटा स्कुल बदले ।

सबै चिज राम्रो थियो । बुबाको बिजनेस पनि राम्रो थियो तर उनको स्वास्थ्यमा समस्या आउन थाल्यो । उनी भन्छन्– ‘म ११ वर्षको हुँदा काठमान्डुमा उपचार गर्दागर्दै बुबा बिते । बुबा बितेपछि एक वर्षको कामका लागि कालिगण्डकी छेउको रिडीमा बसें।’ र, २०२३ सालदेखि काठमान्डुको झोंछेमा उनीहरूको नयाँ जीवन शुरु भयो ।

बुबा प्रायः घोडामा यात्रा गर्थे । एकचोटी घोडा बदमास भएर नियन्त्रण गर्न टाइम लाग्यो रे । उनी अगाडिपटि थिए । त्यति बेला केही बेर डराएको अहिले पनि उनी सम्झन्छन् ।

अर्को एउटा घटना पनि उनी सम्झन्छन्– ‘बुटवलको तिनाउ नदीमा बहिनी र म मुख धुन गएका थियौं रे । काठको पुल थियो रे । नदीको बलियो हावाले बहिनीलाई उडाएर नदीमा पुर्याएपछि तिनाउले बगायो । तर, पछि स्थानीयले बचाएछन् ।’ यो उनी ९ वर्ष हुँदाको कुरा हो ।

यस्ता केही घटनाबाहेक उनको बाल्यकाल निकै सहज खालको थियो ।
काठमान्डु आइसकेपछि कल्चरल ग्यापको अनुभव गरे । भन्छन्– ‘नेवारी नै फरक त्यहाँ र यहाँको ।’ साथी सर्कल बनाउन टाइम लागे पनि आफन्त धेरै भएकाले उनलाई काठमान्डु विस्तारै सहज लाग्न थाल्यो ।

यात्राले जीवन र मनोविज्ञानको दायरा फराकिलो हुन्छ । त्यति बेला काठमान्डुमा बस्ने कति त थानकोटभन्दा बाहिर नगएकाहरू थिए । त्यसैले पनि उनी अरूभन्दा एक कदम अगाडि जस्ता देखिन्थे । काठमान्डु आएपछि शुरुमा नवआदर्श विद्यालय वसन्तपुरमा भर्ना भए । त्यहाँ उनी बिहानी कक्षा पढ्थे । गणबहालको नेपाल आदर्श विद्यालयबाट २०२६ सालमा एसएलसी गरे ।

एसएलसीपछि ३ वर्षका जेठा दाइले शुरु गरेको सानो व्यापारमा उनी पनि मिसिए । रत्नपार्कमा श्यामस् ग्रासरी स्टोर थियो । सन् १९७३ मा रत्नपार्कमै उनीहरूले क्याफे दि पार्क शुरु गरे । त्यसको ३ वर्षपछि सन् १९७६ मा दरबारमार्गमा नाङ्लो क्याफे शुरु गरे । चर्चित नाङ्लो क्याफेको नाम एक अमेरिकी नागरिक टम इयरेनले ख्यालख्यालैमा राखिदिएका थिए । शुरुमा कस्तो–कस्तो लागे पनि केही दिन त्यो नाम सबैलाई निकै राम्रो लाग्यो ।

दरबारमार्गमा नाङ्लो शुरु गर्दा उनीहरू निकै व्यस्त रहन्थे । बिहानैदेखिको उनीहरूको व्यस्तता मध्यरातसम्म चल्थ्यो । १६ घन्टाको वर्किङ आवर थियो । त्यसैले यताउतामा ध्यान नै जाँदैन थियो । ३१ वर्षमा उनकै शब्दमा ‘घरको फोर्स र डिमान्ड’ ले प्रतीमासँग एरेन्ज म्यारिज गरे । मैले उनीहरूलाई उनीहरूको दाम्पत्य जीवनको बधाई दिन पाएको थिइनँ । यसै मेसोमा फाइदा किन नउठाउने ?

विस यु अ भेरी ह्याप्पी म्यारिज लाइफ कक्षपती कपल । हा हा हा … ।
कोरियोग्राफ, फेसन डिजाइन, लाइट एन्ड साउन्ड, स्टेज, एप्लिकेसन फर्म, स्पोन्सर आदि सब एक प्रकारले नयाँ कुरा थियो । तर, सबै व्यवस्थापन मिलाए । रोचक के भने मिस नेपालका लागि सबै कुरा जुटिसक्दा स्पोन्सरको कुनै अत्तोपत्तो थिएन । २ हप्ताअगाडि मात्र स्पोन्सरसिपका लागि सानमिगेल तयार भयो ।
‘हामी मुनाफामुखी नभई कार्यक्रममुखी हौं । तर, त्यसो भन्दैमा मुनाफा हुँदैहुँदैन भन्ने पनि होइन । तर, मैले यसलाई सोसियल वर्ककै रूपमा लिएको छु ।’
‘मिस नेपालमार्फत् हरेक वर्ष अन्तिम २० युवतीको जीवनमा जुन गुणात्मक रूपान्तरण हुन्छ, त्यो देख्दा प्राप्त हुने खुसीलाई म शब्दमा व्याख्या गर्न सक्दिनँ ।’
‘बाहिरबाट हेर्दा हरेक पटक यो वर्ष मिस नेपालको विजेता को होला वा भयो भन्ने कुरा महत्त्वपूर्ण होला तर यो यतिमै सीमित छैन । मिस नेपाल ग्ल्यामर र ट्रेनिङको योग हो ।’

प्रतिक्रिया दिनुहोस्