किन बोझ ठानिए राष्ट्रनिर्माता ?



मधुसूदन रायमाझी, काठमाडौं
रकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा सार्वजनिक बिदा नदिँदा जनमानसमा असन्तुष्टि देखिएको छ। राष्ट्रिय एकताको प्रतीकका रूपमा दिवस मनाउँदै आएकाले बिदा दिनुपर्ने माग सत्तारूढ दलभित्रबाटै आएको भए पनि सरकारको बिदा नदिने अडानले सत्ता पक्ष र प्रतिपक्षी दलले सरकारको आलोचना गरेका छन्। सरकारले २०६२⁄०६३ सालको जनआन्दोलनपछि पृथ्वी जयन्तीमा दिँदै आएको बिदा कटौती गर्दै सार्वजनिक बिदा नदिने निर्णय गरेको थियो।

पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने व्यापक माग भए पनि सरकारले कटौती भएको बिदा दिन नसक्ने भन्दै मागको सुनुवाइ नै नगरेको गुनासो सत्तारूढ दल कांग्रेस र राप्रपाभित्रैबाट शुरू भएको छ। राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरीले राष्ट्रलाई एकताबद्ध गर्ने पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएर ठूलो भूल गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सरकारले ठूलो गल्ती गर्यो, यही कारणले हामी सरकारबाट बाहिरिन पनि सक्छौं।’

गत वर्ष सरकारमा नै रहँदा पनि तत्कालीन राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गराउन सकेको थिएन। सार्वजनिक बिदा दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिइए पनि यस वर्ष पनि बिदाको घोषणा हुन सकेन।

‘संसारभर पृथ्वीनारायण शाहको चर्चा हुन्छ, इतिहास छ, तर हाम्रो देश निर्माण गर्ने पृथ्वीनारायण शाहलाई सरकारले चिन्न सकेन’, प्रमुख सचेतक गिरीले भन्नुभयो– ‘यो सरकार नेपाल र नेपाली जनताको हितमा छैन, सरकार रिमोट कन्ट्रोलबाट चलेको छ।’ गिरीले अब सरकारसँग यही अवस्थामा सुमधुर सम्बन्ध हुन नसक्ने चेतावनी दिँदै क्रिसमसको बिदा दिने सरकारले पृथ्वी जयन्तीमा बिदा नदिएर ठूलो गल्ती गरेको बताउनुभयो।

जनआन्दोलन सफल भएपछि शान्ति प्रक्रियामा आएको माओवादीले राजधानीलगायत देशका विभिन्न स्थानमा रहेको पृथ्वीनारायण शाहको सालिक ढालेको थियो। इतिहासको संरक्षण गर्नुपर्ने सरकारले नै राष्ट्रिय एकता दिवसको महत्त्व नबुझेको बताउँदै सार्वजनिक बिदा कायम गराउनुपर्ने अभियानमा लागेका अभियन्ता भरत बस्नेतले पृथ्वीनारायण शाहको इतिहास मेटाउने काम भइरहेको आरोप लगाउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘माओवादी नेतृत्वको सरकारले क्रिसमसको बिदा दिन हुन,े राष्ट्रिय एकताको प्रतीकको रूपमा पृथ्वी जयन्तीको अवसरमा बिदा दिन किन नहुने?’ गत वर्ष सरकारले राजपत्रमा प्रकाशित गरेरै क्रिसमसको अवसरमा इसाई समुदायलाई मात्र बिदा दिने निर्णय गरेको थियो। तर यस वर्ष उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले क्रिमसमको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गर्नुभएको थियो।

कटौती भएको क्रिमसममा बिदा दिएपछि पृथ्वी जयन्तीमा पनि बिदा दिनुपर्ने दबाब सरकारमाथि परेको थियो। प्रधानमन्त्री प्रचण्डले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने बारेमा सकारात्मक रहेको बताउनुभए पनि सल्लाह गर्नुपर्छ भनेर उम्कने प्रयास गर्नुभएको छ। कोसँग सल्लाह हो खुलेको छैन।

गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारको क्रममा बाइसे र चौबीसे राज्य जितेर एकीकरण अभियान शुरू गर्नुभएको थियो। राज्य विस्तारका क्रममा दमन भएको आरोप लागे पनि अन्ततः सिंगो राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले नै भूमिका खेल्नुभएको इतिहास छ। राजनीतिक दलहरूले पृथ्वीनारायण शाहलाई एकताको प्रतीकको रूपमा सम्झने र चर्चा गर्ने गरे पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कायम गराउन भने बेवास्ता गर्दै आएका छन्।

पूर्वमन्त्री डा. मोदनाथ प्रश्रितले राष्ट्रलाई एकताबद्ध बनाउने पृथ्वीनारायण शाहले देखाउनुभएको बाटो हिँड्नुपर्ने बताउनुभयो। ‘राष्ट्रनिर्माण गर्ने व्यक्तिलाई अवमूल्यन गर्न मिल्दैन, पृथ्वीनारायण शाहकै कारण आज मेचीदेखि महाकाली भनेर गर्व गर्न पाएका छौं’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पृथ्वी दिवसलाई अपमान गरे देश विभाजित हुन्छ।’

पृथ्वी जयन्ती समारोह समितिका संयोजकसमेत रहेका प्रश्रितले राजसंस्था अब फर्कन नसक्ने बताउनुहुँदै पृथ्वीनारायण शाहलाई अपमानित गर्न नहुने बताउनुभयो। ‘अहिले पनि मगर गुरुङ थारु मधेसी राज्य चाहियो भनिरहेका छन्’, उहाँले भन्नुभयो– ‘हामी नेपाली पृथ्वीनारायण शाहलाई एकताको प्रतीकको रूपमा सम्झन्छौं।’

प्रधानमन्त्री प्रचण्ड विदेशीको इसारामा नाचेको आरोप लगाउनुहँुदै जातजातिको पर्वमा बिदा दिने सरकारले एकताको प्रतीकका रूपमा रहेका पृथ्वीनारायण शाहलाई अपमानित गरेको बताउनुभयो। जनआन्दोलनपछि माओवादीको नेतृत्वमा नुवाकोट, गोरखालगायतका स्थानमा पृथ्वीनारायण शाहको सालिक तोडफोड भएको थियो। उहाँले दुराग्रहपूर्ण सोच राखेर पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्न नहुने बताउनुहुँदै बस्नेतले जनआन्दोलनपछि सत्तामा रहेकाहरूले नियोजितरूपमा पृथ्वीनारायण शाहको अवमूल्यन गरिरहेको बताउनुभयो।

नेपाल एकीकरण दिवसका रूपमा पुस २७ लाई सरकारले सार्वजनिक बिदा दिए पनि नदिए पनि नेपाल एकीकरणमा भूमिका खेल्ने व्यक्तिको रूपमा सम्झँदै आएका छन्। पृथ्वीनारायण शाहको अवमूल्यन गर्नुनहुने पक्षमा आवाज उठ्न थालेको छ।

सरकारले बिदा दिने तयारी गरे पनि अन्तिम समयमा बिदा दिन सकेन। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकाले बिदा दिने निर्णय हुन नसकेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्