नेपाली र जापानी धुनको जुहारी



नेपाली र जापानी कलाकारको टोलीले सांगीतिक धुन प्रस्तुत गरेर दर्शक तताएका छन्। हालै राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजित विशेष समारोहबीच खचाखच दर्शकमाझ चौतारी व्यान्ड नेपालका साथमा जापानका कलाकारले विभिन्न धुन सुनाएर दर्शक तताएका हुन्।

पौने २ घण्टासम्म लगातार धुन सुनाइको कार्यक्रममा चौतारी व्यान्डका कलाकार पञ्च लामाले आफ्ना विविध बाँसुरी धुनबाट दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। उनीसँगै श्रवण लामाले तबला र मादल तथा जापानी कलाकार तेराकादो मित्सुगुले गीतारको धुन सुनाएर संगीतप्रेमीलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमको शुभारम्भमा पञ्चले मनकामना धुन पस्किएका थिए भने लगत्तै हिमालय सूर्योदयको धुन प्रस्तुत गरेर चिसो मौसमलाई तताएका थिए। उनले दर्शकको चाहनाअनुसार जापानी धुन टोकियो रात्रीकालीन धुन र समुद्रको छाल धुन सुनाएर माहौल तताएका थिए। यसका साथै उनले दुई धुनसँगै फ्युजन गरेर नोट ईन काठमाडौं शर्षीकमा काठमाडौंका केही स्थानीय धुनहरु पनि सुनाएर दर्शक आकर्षित गरेका थिए। यसपछि उनीहरुले नेपाली लोकगीत ए कान्छा र सिन्धुपाल्चोकमाथि बाँसुरी धुन प्रस्तुत गरेर दर्शकलाई छमछमी नचाएका थिए।

लगत्तै पञ्चले तीनवटा मौलिक धुन प्रस्तुत गरे। उनले मौलिक धुनअन्तर्गत मुरलीको माध्यमले विभिन्न चराको आवाज र गीत सुनाएर वनचरी भाकाबाट दर्शकको मन जितेका थिए। उनले चरी नृत्य र चरा र सप्तरंगी इन्द्रेणी धुन पनि सुनाएका थिए। यो पनि उनीहरुको मौलिक धुन थियो।

चौतारी साँझको ड्रम सेसनअन्तर्गत ड्रमबाट श्रवण र बाँसुरीबाट पञ्चबीच युगल बादन चल्यो। उनीहरु एकले अर्कालाई धुनमा पछ्याउँदै प्रतिस्पर्धीको भावमा प्रस्तुत भएका थिए। उनीहरुबीच धुनको जुवारीले दर्शकलाई उत्साहित तुल्याएको थियो। फेरि स्वतन्त्र प्रस्तुतिअन्तर्गत यी तीन कलाकारबीच बाँसुरी, मादल, तबला र गीतमा तेहेरो जुहारी चलेको थियो । कार्यक्रममा पञ्च, श्रवण र तेराकादोले १८ धुनहरु प्रस्तुत गरेका थिए। उनीहरुले चर्चित नेपाली धुन रेसम फिरिरि प्रस्तुत गर्दा दर्शकले तालीले साथ दिएका थिए। यस्तै लोक झ्याउरे भाकाको धुन पस्कँदा पनि उनीहरुले दर्शकबाट निरन्तर ताली पाएका थिए। उनीहरुले कार्यक्रमको अन्त्यमा आकाश राजमार्ग शीर्षकको धुन सुनाएका थिए।

उनीहरुले जापानी धनु प्रस्तुत गर्दा पछाडि पर्दामा प्रजेक्टरबाट देखाइएको जापानका सुन्दर दृष्य तथा नेपालका विभिन्न धुन प्रस्तुत गर्दा नेपालका विभिन्न स्थानका सुन्दर दृष्यले कार्यक्रमको आकर्षण बढाएको थियो। दुई दशकदेखि जापानमा बसेर त्यहाँका विभिन्न कार्यक्रममा नेपाली धुन पस्कँदै आएका कलाकारद्वय पञ्च लामा र श्रमण लामाका साथमा जापानी कलाकार तेराकोदा मित्सुगुलाई नेपालमा निम्त्याएर प्रस्ुत गर्ने काम सांस्कृतिक संस्थानले गरेको हो।

संस्थानका महाप्रबन्धक राजेश थापाले नेपालीको विभिन्न धुनलाई बिगत दुई दशकदेखि जापानका विभिन्न स्थानमा पञ्च र उनको व्यान्डले नेपाली धुन प्रस्तुत गरी नेपाल चिनाउँदै आएकाले जापानी कलाकारका साथ नेपाल बोलाएर चौतारी साँझ आयोजना गरेको बताए।

प्रतिक्रिया दिनुहोस्