‘नारायणहिटीबाट बाहिरिएको हुँ, जिम्मेवारीबाट होइन’



काठमाडौं, (नेस) पूर्वराजा ज्ञानेन्द्र शाहले दशक नबित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा छौं भन्नुभएको छ। २ सय ९५औं पृथ्वी जयन्तीको अवसरमा थाइल्यान्डबाट जारी गर्नुभएको शुभकामना सन्देशमा देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्ने उल्लेख गर्नुभएको छ।

उहाँले चार वर्ण छत्तीस जातको साझा पूmलबारीका रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवम् क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध गरेको उल्लेख गर्दै यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयाससमेत भइरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दूरदर्शिता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरूप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको उल्लेख गर्दै विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दै छौं।

यस्तो दुःखद र बिडम्बनापर्ण अवस्थाको अन्त्य हुनै पर्दछ।’ –पूर्वराजाले भन्नुभएको छ। ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रहिआएको यस मुलुकमा तात्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं’, शुभकामना सन्देशमा भनिएको छ– ‘नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन्। देशमाथि संकट आइपर्दा कसरी एकताबद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नुपरेको छ। विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हँुदै छौं। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डामुनि गोलबद्ध हुन आह्वान गर्दछु।’

प्रतिक्रिया दिनुहोस्