भाषणभन्दा काम नै गर



देशलाई समृद्ध बनाउने सपना नेपालीले धेरै वर्षदेखि देख्दै आएका छन् । हरेक सरकार गठन भएपछि समृद्धिको सपना बाँड्ने काम हुन्छ । तर परिणाम र व्यवहारमा भने देख्न पाइँदैन । दृढ इच्छाशक्ति भए समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले प्रस्तुत गरेका छन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं हास्य कलाकार धुर्मुस–सुन्तलीले समाजमा उदाहरणीय काम गरेर समाजलाई बाटो देखाउने काम गरेका छन् । समृद्ध नेपाल निर्माण गर्न ठूला–ठूला भाषण र आश्वासन होइन, व्यवहारमा गरेरै देखाउनुपर्छ भनी महत्त्वपूर्ण पाठ सिकाउने काम उनीहरूले गरेका छन् ।

भूकम्प गएपछि राहत वितरणमा पनि धुर्मुस–सुन्तलीले अग्रसरता देखाए । धुर्मुस–सुन्तलीले राहत मात्र वितरण गरेनन्, काभ्रेमा पहिलो एकीकृत पहरी नमुना बस्ती निर्माण गरेर भूकम्पपीडितलाई नयाँ घर उपहार दिए । त्यसै गरी उनीहरूले दोस्रो गिरानचौर नमुना एकीकृत बस्ती निर्माण गरेर भूकम्पपीडितहरूलाई नयाँ घर वितरण गरिसकेका छन् । समाज निर्माणको लागि तन, मन र बचनबाट लाग्ने हो भने समाज रुपान्तरण गर्न सकिन्छ भन्ने दृढ अठोटका साथ लागेका धुर्मुस–सुन्तलीले अहिले पुनः महोत्तरीको बर्दिबासमा तेस्रो मुसहर बस्ती निर्माणमा जुटेका छन् ।

कलाकारितासँगै धुर्मुस–सुन्तलीले नयाँ नेपाल निर्माणको लागि गतिलो उदाहरणको रुपमा आफूहरूलाई स्थापित गर्न सफल भएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको तेस्रो एकीकृत नमुना बस्तीमार्फत तराई र पहाडबीचको सद्भाव पनि बाँडेका छन् । भूकम्प गएको डेढ वर्ष बितिसक्दासमेत सरकारले अहिलेसम्म कुनै पनि स्थानमा नमुना बस्ती निर्माण गर्न नसकेको अवस्थामा धुर्मुस–सुन्तलीले छोटो समयमै बस्ती निर्माण गरेर देखाउन सफल भएका छन् ।

नयाँ नेपाल र समृद्ध नेपाल निर्माण गर्न सम्भव छ । यसको लागि इच्छाशक्तिको खाँचो रहेको छ । तर धुर्मुस–सुन्तलीले देखाएको उदाहरण भने समाजमा आत्मसात् गर्न सकेको देखिँदैन । छ महिनाको अवधिमा निर्माण गर्न सकिने उदाहरण देखाए पनि सरकारले डेढ वर्ष बितिसक्दासमेत भूकम्पपीडित नागरिकको बस्ती ठड्याउन सकेको छैन । धुर्मुस–सुन्तलीले बस्ती निर्माण गर्ने अभियान अगाडि बढाएपछि विभिन्न सहयोगी मनहरूले पनि सहयोग गर्ने क्रम बढेको छ । उनीहरूले थालेको समाज निर्माणको कामलाई सबैले साथ र सहयोग गर्न जरुरी छ । अब धुर्मुस–सुन्तलीले मात्र होइन, सबैले यो उदाहरणलाई आत्मसात् गर्दै समाज परिवर्तनमा जुट्नुपर्ने बेला आएको छ । अब जनताले नारा, भाषण र गफभन्दा व्यवहारमा काम हेर्न चाहेका छन् ।

प्रतिक्रिया दिनुहोस्