भारु सटहीको छलफल गर्न नेपाली टोली आज जाने



नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा रहेका पाँच सय र एक हजार दरका भारु नोट सटहीका लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा प्रतिनिधि बुधबार भारत जाने भएको छ। भारु सटहीका लागि छलफल गर्न भारतले शुक्रबार परराष्ट्र मन्त्रालयलमार्फत् पत्र पठाएको थियो।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार भारतले परराष्ट्रमार्फत् नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पठाएको पत्रमा सटहीको मोडालिटी र प्रक्रियाको बारेमा छलफल गर्न को–को कहिले आउने भनी जानकारी मागेको थियो।
उहाँका अनुसार राष्ट्र बैंक, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधिमण्डल भारत जानेछ र त्यसले भारु कसरी साट्ने भनेर समय सीमा तोकेर मापदण्ड तयार गर्नेछ। पत्रको जवाफ अर्थ मन्त्रालयले शुक्रबार नेै पठाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। नोट सटही सहजीकरणका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधिमण्डलसँगै राष्ट्र बैंकको विदेशी विनिमय वित्त व्यवस्थापक, भारतस्थित नेपाली राजदूताबासका इकोनोमिक मिनिस्टर सहभागी हुने बताइएको छ।

स्रोतका अनुसार नेपाली पक्षले एक जनाबराबर २५ हजार भारु बैंकिङ प्रणालीमार्फत् सहटी गर्ने मोडालिटी प्रस्तुत गर्ने छ। जसअनुसार आफूसँग भएको भारु नोट बढी २५ हजार आफ्नो बैंक खातामा जम्मा गर्ने र सो नोट राष्ट्र बैंकले रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) मा पठाउने छ। त्यसका आधारमा आरबीआईले राष्ट्र बैंकलाई भुक्तानी पठाउने छ। तर, त्यसमा नक्कली नोट रह्यो भने खातावाला स्वयम्नै जिम्मेवार हुने जनाइएको छ। यसअघि नेपाल राष्ट्र बैंकले २५ हजार भारुसम्म नेपाली नागरिकले राख्न पाउने व्यवस्था गरेका कारण त्यसैलाई आधार मानेर एक जनाबराबर २५ हजार भारु साट्नुपर्ने तर्क गर्दै आएको छ।

राष्ट्र बैंकका अनुसार यतिबेला नेपाली बैंक तथा वित्तीय संस्थाहरूसँग ३ अर्ब ३६ लाख ९० हजार भारु छ। तर, त्योभन्दा बाहिर १० अर्बभन्दा बढी भारु पाँच सय र एक हजारका नोट रहेको अनुमान गरिएको छ। नेपालीहरू भारतमा रोजगारी, व्यापार, औषधि उपचार र विद्यार्थीका रूप धेरै जाने गरेका कारण बैंकिङ च्यानलभन्दा बाहिर ठूलो परिमाणमा भारु नोट रहेको आँकलन गरिएको छ।
त्यस्तै पाँच सय र हजार दरका नोटको प्रतिबन्धपछि नेपालमा भारु संकट गहिरिँदै गएकाले त्यसको समाधानका निम्ति भारतले साना दरका एक अर्ब भारु दिन अघिल्लो साता तयार भएको छ। भारतबाट नेपालले वार्षिक ६ अर्ब भारु खरिद गर्ने सहमति रहे पनि चालू वर्षमा नेपालले जम्मा १ अर्ब २० करोड भारुमात्रै खरिद गर्न पाएको छ।

प्रतिक्रिया दिनुहोस्