पुलिस र आर्मी क्वाटरफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले दोस्रो रुस्लान कप टी २० क्रिकेट प्रतियोगितामा जितसँगै क्वाटरफाइनलमा पुगेका छन्। कीर्तिपुरस्थिच त्रिवि मैदानमा मंगलबार समूह ए को खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले हराएको हो। पुलिसले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतिमा १ सय ८३ रन बनाएको थियो। जसमा म्यान अफ द म्याच सुनील धमलाले ५६ बलमा ५४ रन जोडेका थिए। उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर दिलीप नाथले २६ रन योगदान दिँदा मध्यक्रमका कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे। उनी ११ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ३३ रनमा नटआउट रहेका थिए।

जवाफमा उत्रेको हिमालयन क्रिकेट एकेडेमी १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय २ रनमा रोकिएको थियो। ओपनर भुपेन्द्र थापाको ७३ रनको उत्कृष्ट इनिङले पनि टोलीलाई जित दिलाउन सकिएन। अन्य ब्याटसम्यान दोहोरो अंकमा पुग्न नसक्नु नै भुपेन्द्रको उत्कृष्ट ब्याटिङ खेर गएको थियो। उनले ५९ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। पुलिसका बलर आरिफ शेख र प्रेम तामाङले ३⁄३ विकेट लिएका थिए।

हिजै सम्पन्न दोस्रो खेलमा आर्मीले न्यु राइजिङ स्टारलाई ९ विकेटले सहजै हराएको थियो। समूह बी को सो खेलमा आर्मीले ८८ रनको लक्ष्य एक विकेटको क्षेतिमा ११.१ ओभरमा भेटाएको थियो। आर्मीका सागर पुन ३९ रनमा नटआउट रहे भने अर्का ओपनर महेश क्षेत्री २४ रन बनाएर आउट भएका थिए। नरेश बुढाऐर २८ रनमा नटआउट रहेका थिए।

यसअघि आर्मीका जितेन्द्र मुखिया र सागर पुनको घातक बलिङले न्यु राइजिङ स्टारको ब्याटिङ ध्वस्त बनाएको थियो। पराजित टोलीले ८७ रन जोडेको थियो। जसमा कोही पनि ब्याटसम्यान चल्न सकेनन्। मुखियाले चार विकेट लिए भने म्यान अफ द म्याच सागरले तीन विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्