गाली गर्ने सन्तान



राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई हेर्ने दृष्टिकोणबारे अहिले शहरमा अनेकथरीका बहस भइरहेको धरहराले देखेको छ। कोही भन्छन् –राष्ट निर्माता भएकोले सम्मान गदै पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिनुपर्दछ। अर्काथरी भन्छन्–उनी राजतन्त्रको प्रादुर्भाव गर्ने र आफ्नो राज्यपनि विस्तार गर्दै अरूको नाम निशाना मेटाउने भएकोले उनको जयन्ती बहिस्कार गर्नुपर्दछ।

सयौं वर्ष अघि जसले देश बनाएर अहिले सबैलाई मेरो देश भन्ने हैसियत दिलाए तिनलाई अहिले गालीगलौज गर्नेहरूको पारा देखेर भने धरहरा स्वयंपनि आश्चर्यमा परेको छ। त्यतिबेला ससाना राज्यमा बाँडिएका नेपालका राज्यहरू सायद पृथ्वी नारायण शाहले एकीकृत नगरेको भएपनि अहिले सम्म पक्कैपनि छुटटै देशको रूपमा रहने कुरामा शंका रहेको छ। किनकि त्यतिबेलाका अन्य शासकहरूले सायद अन्य देशमा नै पनि मिलाइसकेका हुन सक्थे। अहिले सिंगो देश भनेर हामी जसरी गौरवान्वित हुने अवसर प्राप्त छ त्यो अवसर प्राप्त नहुन पनि सक्थ्यो। दुनियामा देश निर्मातालाई कसैले पनि गाली गर्दैन। बरु गौरव गर्छन्। तर हामी कहाँ भने देश निर्मातालाई गाली गर्ने सन्तान पनि देखेर सायद पृथ्वीले स्वर्गबाट नै धिक्कारेको हुन सक्छन्।

देशका पहिचानहरू सकाउँदै जाने, गौरव गर्नुपर्ने व्यक्ति र संस्कृतिलाई गाली गर्दैै जाने अवस्थाले कतै यो प्रबृत्ती मुलुकलाई नै सकाउने दिशातर्फ उन्मुख त होइन ? धेरैले यस्तो प्रश्न उठाइरहेका छन्। धरहरा भने टिप्पणी गर्ने भन्दा पनि मुण्ड मुण्डमा छरिएका बुद्धिवालाहरूको मुल्यांकनमा नै केन्द्रित छ है पाठकबृन्द।

प्रतिक्रिया दिनुहोस्