रोनाल्डो फिफा वर्ष खेलाडी



जुरिच, (एजेन्सी)
पोर्चुगीज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फिफा वर्ष खेलाडी घोषित भएका छन्।
विश्व फुटबल महासंघ फिफाले सोमबार एक भब्य कार्यक्रमकाबीच रोनाल्डोलाई यस वर्षको उत्कृष्ट फुटबल खेलाडीको अवार्ड प्रदान गरेको हो। उक्त अवार्ड प्राप्त गर्नेक्रममा स्पेनिस क्लब रियल मेड्रिडबाट खेल्ने रोनाल्डोले अर्जेन्टिना र बार्सिलोनाका लियोनल मेसी र फ्रान्स तथा एथ्लेटिको मेड्रिडका एन्टोनियो ग्रीजम्यानलाई पछि पारेका हुन्।

फिफामा गत बर्ष जियानी इन्फान्टिन्हो अध्यक्षमा निर्वाचित भएपछि सन् २०१० देखि फुटबलको बर्ष खेलाडी अवार्डमा फ्रान्सको खेल म्यागजिन बालोन डे ओरसँगको सहकार्य रद्ध गर्ने घोषणा गरेका थिए। संयुक्त उपाधि खारेज भएयता फिफा बेष्ट प्लेयर अवार्डको पहिलो सस्करण रोनाल्डोले पाएका छन्। उनले यसअघि सन् २००८ मा पहिलो पटक फिफा वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका थिए। सोही वर्ष नै उनले पहिलो पटक बालोन डे ओर अवार्ड पनि जित्न सफल भएका थिए। योसँगै उनले चार पटक उक्त अवार्ड पाइसकेका छन्।

रोनाल्डोले गत वर्ष रियल मेड्रिडलाई युरोपियन च्याम्पियन्स लिग जिताए भने पोर्चुगललाई पहिलो पटक युरो कप फुटबलको उपाधि दिलाए। यही सफलताको लागि उनलाई केहि साता अघि बेलोन डे ओर अवार्डबाट पनि सम्मान गरिएको थियो।

अवार्ड जितेपछि निक्कै हर्षित मुद्रामा उनले भने–“यो मेरो अहिलेसम्मकै उत्कृष्ट बर्ष बनेको छ। यो वर्ष पोर्चुगललाई पहिलो पटक युरोपियन च्याम्पियन बनाउनु ऐतिहासिक योगदान थियो। यो सँगै च्याम्पियन्स लिग र फिफा क्लब विश्वकपमा रियल मेड्रिडलाई उपाधि दिलाउनु मेरो लागि अविस्मरणीय बनेको छ।’

फिफामा आवद्ध मुलुकका राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फिफाले छनोट गरेका पत्रकार र पहिलो पटक अनलाइन फ्यान पोलमार्फत बिजेता छनोट गरिएको हो। चार प्रकारका मतलाई समान रूपमा २५ प्रतिशतले स्थान दिइएको थियो। जसअनुसार रोनाल्डोले कुल मतको ३४.५४ प्रतिशत प्राप्त गरेका थिए। यस्तै उनका प्रमुख प्रतिद्वन्दी लियोनेल मेसीले २६.४२ र ग्रीजम्यानले ७.५३ प्रतिशत मत पाएका थिए।

अन्य विजेता
यस्तै फिफाको उत्कृष्ट महिला खेलाडीको उपाधि अमेरिकी स्टार कार्ली ल्योडले प्राप्त गरिन्। ३४ बर्षीय ल्योडले ओलम्पिक बिजेता जर्मनीकी मिलानी बेरिंगर र पाँच पटककी उत्कृष्ट खेलाडी मार्तालाई उछिन्न सफल भईन्। ल्योडले कुल मत मध्ये २०.६८, मार्ताले १६.६० र बेरिंगरले १२.३४ प्रतिशत पाएका थिए।
उपाधि प्राप्त गरे पश्चात उनले सो उपाधि पाउलिन् भनेर नसोचेकी बताइन्। उनले भनिन,–‘इमान्दारीपूर्वक भन्ने हो भने मैले यो अवार्ड पाउने सोचेकी थिइनँ। तर नसोचेको कुरा हुँदा अझ बढी खुसी अनुभव हुने रहेछ।‘

उक्त फिफा अवार्ड कार्यक्रममा उत्कृष्ट प्रशिक्षकको उपाधि भने ईटालियन प्रशिक्षक क्लाउडियो रानेरीले जिते। रानेरीले अघिल्लो सिजन अप्रत्याशित रूपमा लेस्टर सिटीलाई इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि दिलाएका थिए। सो उपाधि हात पार्ने क्रममा उनले रियलका जिनेदिन जिदान र पोर्चुगलका फर्नान्डो सान्तोषलाई उछिने। उक्त विधामा प्राप्त कुल मत मध्ये उनले २२.६ प्रतिशत मत पाएका थिए।

उत्कृष्ट महिला प्रशिक्षकको उपाधि भने जर्मनीकी सिल्भिया नेइडले जितिन्। विगत ११ बर्षदेखि जर्मनीको प्रशिक्षक रहेकी उनले गत बर्ष सम्पन्न रियो ओलम्पिकमा जर्मन टोलीलाई स्वर्ण दिलाउन सफल भईन्।

यसैगरी मलेसियाको पेनाङ्ग फुटबल क्लबका खेलाडी मोहमद फैज सुब्रीले उत्कृष्ट गोलकर्ताको अवार्ड जिते। बर्षको उत्कृष्ट गोल गर्ने खेलाडीलाई प्रदान गरिने पुस्कास अवार्ड जितेका उनले मलेसियन सुपर लिग अन्तर्गतको खेलमा ३५ यार्डबाट फ्रिकिकमा गोल गरेका थिए। उक्त विधामा ५९.४६ प्रतिशत मत गरेका उनले मार्लोन र दानिउस्का रोड्रिगुइजलाई पछि पारे।

यस्तै यस बर्षको फेयर प्ले अवार्ड कोलम्बियाको एथ्लेटिको नाकिनोललाई प्रदान गरिएको छ। कोपा सुदामेरिकानाको फाइनल खेल्न कोलम्बिया प्रस्थान गरेको ब्राजिलियन क्लब चापेकोएन्सी टिम दुखद विमान दुर्घटनामा परेपछि नाकिनोलले सो उपाधि चापेकोएन्सीलाई प्रदान गरेका थिए। यसैकारण एथ्लेटिको नाकिनोल उक्त सम्मानका हकदार बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्