माया गर्ने मान्छेको भिडियो



चर्चित युवा गायक प्रमोद खरेलद्वारा संगीतबद्ध म त माया गर्ने मान्छे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा पछिल्लो समय व्यापारिक रेकर्डमाथि रेकर्ड राख्न सफल फिल्म छक्का पञ्जाको देख्न चम्पा बोलको गीतमार्फत चर्चामा आएका गीतकार तथा पत्रकार शान्तिप्रियको रचना रहेको छ। सन्तोष श्रेष्ठको संगीत रहेको गीतको म्युजिक भिडियोमा सन्दिप शाही र अनामिका चौलागाईंले मोडलिङ गरेका छन् भने निर्मल शर्माले निर्देशन गरेका छन्।

‘हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछि आउने अवस्थाको चित्रण गरेका छौँ’ चकलेट र ब्रासलेट नामका दुई फिल्म निर्देशनसमेत गरेका निर्मल शर्मा ‘गैंडा’ले भने। गीतकार शान्तिप्रियले मायालाई मूल्यमा तौलिन नसकिने भावमा गीत तयार पारेको बताए। ‘माया गर्ने मान्छेसँग कति मूल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नुपर्छ भन्ने भावलाई गीतमा उतारेको छु –गीतकार शान्तिप्रियले भने।

गीतमा सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। यो गीतको म्युजिक भिडियोलाई छायाँछवि क्रियसनको युट्युब एकाउन्टमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्