माइती नेपालद्वारा एक वर्षमा १३६ को उद्धार



चितवन, २७ पुस ।
जोखिममा परेका र बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा चितवनबाट एकसय ३६ जनाको उद्धार भएको छ।
माइती नेपालमार्फत गएको एक वर्षमा यसरी चितवनबाट एकसय ३६ जना चेलीको उद्धार गरिएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिए। तीमध्ये बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा एकसय दुई जनालाई विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो भने ३४ जना जोखिममा परेकालाई उद्धार गरिएको हो।

केहीलाई भारतबाट समेत फर्काउन सफल भएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिइन्। जिल्लामा अहिले माइती नेपालले सक्रिय कार्यक्रम नै सञ्चालन गरेर अभियान चलाएको छ । विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा चेक गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा यसरी चेली फेला पर्ने गरेका छन् ।

दवाडीका अनुसार जिल्लामा गएको एकवर्षमा मुद्दा दर्ता भने न्यून छ । जम्मा ६ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भएको जनाइएको छ । उद्धार गरिएका खुलेर नबोल्ने, कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुने, अभिभावक संवेदनशील नहुने लगायत समस्या रहेको दवाडीको भनाइ छ ।

जिल्लामा गएको एक वर्षमा जबर्जस्ती करणी, घरेलु हिंसा लगायतका ४१ घटना भएको र एकसय तीनजना हराएकामा ७८ जना फेला परेको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत दवाडीको भनाइ छ ।

यस्तै, मकवानपुरमा ११ चेलीको उद्धार गरेकोमा पाँचवटा घटनामा मुद्दा दर्ता भएको जनाइएको छ । ७४ जना हराएकामा २९ जना फेला परेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । उता पर्सामा १६ जनाको उद्धार भएकामा पाँच घटनाविरुद्ध मुद्दा दर्ता भएको र ८३ जना हराएकामा ३२ जना फेला परेको माइती नेपाल क्षेत्रीय कार्यालय चितवनले जनाएको छ ।

चितवनबाट उद्धार गरिएकामा गोरखा, धादिङ, लमजुङ, नुवाकोटलगायत जिल्लाका चेली बढी छन् । उनीहरुलाई चितवन हुँदै भारत लैजान चितवनलाई ट्रान्जिट बनाउने गरेको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्